काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणालीलाई थप प्रभावकारी, स्वच्छ र विश्वसनीय बनाउन सरकार तथा राजनीतिक दलहरूको सक्रिय सहयोग अपरिहार्य रहेको बताउनुभएको छ।
सिंहदरबारमा बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नको जवाफ दिँदै उहाँले निर्वाचन सुधारका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारसँगै सबै राजनीतिक दलको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँले निर्वाचन आयोग सफल हुनका लागि सबै तहका सरकार र राजनीतिक दलको समान सहयोग आवश्यक पर्ने बताउँदै आफूमाथि परेका उजुरीका सम्बन्धमा प्रक्रिया नपुगेका कारण केही रिट निवेदन दर्ता हुन नसकेको स्पष्ट पार्नुभयो।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचनमा पैसा र शक्तिको दुरुपयोग कानुनले नै निषेध गरेको उल्लेख गर्दै राजनीतिक दल, सरकार तथा सञ्चारमाध्यम सबैले कानुनी व्यवस्था कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिनुभयो। निर्वाचन आयोग त्यसप्रति पूर्ण प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिको बढ्दो प्रयोगका सन्दर्भमा उहाँले आफू सूचना प्रविधिका विज्ञ नभए पनि आयोगलाई प्रविधिमैत्री बनाउने दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। निर्वाचन आयोगले राजनीतिक दलहरूबीच निष्पक्ष ‘रेफ्री’को भूमिका निर्वाह गर्नुपर्ने उहाँको धारणा थियो।
उहाँले मतदान केन्द्रमै मतगणना गर्ने व्यवस्था विस्तार गर्न सके लागत घट्ने, नतिजा छिटो आउने र निर्वाचन प्रणाली थप प्रभावकारी बन्ने बताउनुभयो। निर्वाचनका दिन सवारीसाधन सञ्चालनमा लगाइने प्रतिबन्धबारे पनि आवश्यक छलफल गरेर उपयुक्त निर्णय गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।
विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न उनीहरूको वास्तविक संख्या, मतदानको विधि र आवश्यक कानुनी व्यवस्थाबारे विस्तृत गृहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो। साथै, ‘नोट चल्ने तर भोट नचल्ने’ भन्ने विषयमा पनि गहन राष्ट्रिय बहस आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगले सम्पन्न गराउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै बदर मत घटाउन निर्वाचन आयोग, राजनीतिक दल र सरोकारवाला निकायले संयुक्त रूपमा निर्वाचन शिक्षा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।







मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष
कठिन चुनौतीबीच जनादेशको जिम्मेवारी
नेपाल गुणस्तर परिषद्को बैठक :