पछिल्ला केही घटनाहरूले नेपाली समाज उत्तेजक र असहिष्णु बन्दैगएको थप पुष्टि हुन आउँछ । इमानदारिता, सहिष्णुता, नैतिकता र धीरता नेपाली समाजका विशेषताका रूपमा रहिआएका थिए । परम्परागत रूपमा नेपालीहरू बहादुर जाति भनेर पनि विश्वमा चिनिएका हुन् तर पछिल्लो समयमा नेपालीहरूको पहिचान धुमिल बन्दै गएको छ । त्यसको मुख्य कारक हामी नै हौं । पछिल्ला दिनहरूमा चौतर्फी रूपमा नेपाली समाज अराजक बन्दै गएको विभिन्न घटनाहरूबाट पुष्टि हुन्छ । संयमताको अभाव देखिँदै आएको छ र अराजक व्यवहार बढ्दै गएका छन् । नेपालीहरूको यसरी अराजक बन्दै गएको प्रवृत्ति अन्तर्राष्ट्रिय क्षेत्रमा समेत देखिन थालेको छ । सबैभन्दा मियो भनेर रहेको क्षेत्र हो राजनीति ।
राजनीति नै अराजक बनेपछि त्यसले अरू क्षेत्रलाई पनि आफूजस्तै बन्न प्रेरित गर्छ । प्रजातन्त्रको अभ्यासको पछिल्लो चरणमा पैसा र डनहरूलाई प्रयोग गरेर निर्वाचन जित्ने प्रवृत्ति बढ्यो । यही प्रवृत्तिको आडमा विकसित, प्रविष्ट अनेक स्वार्थहरूका कारण ११ महिना अगाडि गत २०८२ सालको भदौ २३ र २४ गते इतिहासमै अहिलेसम्म नभएको अराजकता मच्चियो । धन र जन दुवैको क्षति भयो । अकल्पनीय क्षतिपछि नेपालको राजनीतिमा पनि कल्पना गरिएको भन्दा फरक ढंगको परिवर्तन आयो । अरूले गर्न सकेनन् हामी गर्छौं भनेर आएको जनताको उक्त निराशाको फाइदा एउटा पक्षले लियो र आफू अत्यधिक बहुमतका साथ विजयी बन्यो ।
यसपछि बनेको यस सरकारले पनि जनताले ओहो भन्ने गरी काम गर्न सकेको छैन । हालै नारायणी अस्पतालका चिकित्सकहरूमाथि भएको दुर्व्यवहार र त्यसबाट सिर्जना भएको परिस्थितिले यही कुरालाई पुष्टि गर्छ । स्वास्थ्य क्षेत्र अरू विभिन्न २४ वटा क्षेत्रजस्तै हड्ताल गर्न निषेध गरिएको क्षेत्र हो तर त्यहाँ भएको दुर्व्यवहारले गर्दा चिकित्सकहरू हड्तालमा उत्रिन बाध्य बनेका छन् र त्यहाँका बहुसंख्यक चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् । अराजक व्यवहार गर्नेहरूलाई सरकारले कारबाही गर्न सकेको भए यस्तो परिस्थिति निम्तिने थिएन । आकस्मिक सेवाबाहेकका सम्पूर्ण बहिरङ्ग विभागहरूमा बिरामी नहेर्ने गरी चिकित्सकहरू हड्तालमा उत्रिएपछि त्यसको भयावह परिणाम निस्किने कुरा पक्का छ ।
यसतर्फ सरकारले सचेततापूर्वक ध्यान दिनुपर्ने हुन्छ । यो एउटा दृष्टान्तमात्र हो । यस्ता अनेकौं दृष्टान्त छन् । सबै क्षेत्रमा यस्तै खालको परिस्थिति निम्तिएको छ । ती सबै अराजक परिस्थितिलाई नियन्त्रणमा लिएर सरकारले शान्तिसुरक्षा कायम गर्न सक्नुपर्छ । हालैको सुनसरी घटना पनि एउटा यस्तै दृष्टान्त हुनसक्छ किनभने त्यहाँ जुन खालको घटना भयो र गोली चल्यो त्यो गोली सुरक्षाकर्मीले चलाएको होइन भनिँदैछ । त्यसो हो भने यो अर्को खतरनाक कुरा हुनसक्छ । प्रश्न के उठिरहेको छ भने सुरक्षाकर्मीले गोली चलाएको भए पनि सुरक्षाकर्मीलाई त्यो आदेश थिएन भनिन्छ तर सुरक्षाकर्मीले त्यो गोली आफूले चलाएको होइन भनेको छ ।
त्यहाँ त्यसरी साम्प्रदायिक भिडन्त निम्त्याउने पक्षमध्येबाटै गोली चलेको हो भनेर सुरक्षाकर्मीले सरकारलाई जवाफ दिएको छ । सुरक्षाकर्मीको यो भनाइ जेनजी विद्रोहका बेला अरू कसैले गोली चलाएको हो भनिएको अवस्थासँग मिल्दोजुल्दो छ । यसो हो भने त्यसको छानबिन गरेर सरकारले सत्य तथ्य पत्ता लगाउनुपर्ने हुन्छ नत्र जनताले सरकार भएको अनुभूति गर्न पाउने छैनन् । सरकारले पूर्ववर्ती सरकारभन्दा फरक सरकार भएको अनुभूति जनतालाई गराउन सकेन । सार्वजनिक यातायातहरू अव्यवस्थित छन् । त्यहाँ अराजकता छ र भाडादरमा मनोमालिन्य छ । सम्मान दूरीको यात्रा गर्दा फरकफरक सवारीसाधनले फरक फरक भाडा लिने गर्छन् ।
बजार व्यवस्थापन त्यस्तै अवस्थामा छ । व्यापारीहरूले आफूखुशी गर्ने गरेका छन् । त्यसका लागि सम्बन्धित निकायहरूले प्रभावकारी भूमिका खेल्न र जिम्मेवारी बहन गर्न सकेका छैनन् । व्यापारीहरूसँग तिनको साँठगाँठ रहने गर्छ । जसले गर्दा देश जतातिर जाओस्, आफ्नो दुनो सोझ्याउन पाए पुग्छ भन्ने मान्यता त्यस्ता कर्मचारीमा हुनेगर्छ । तर, त्यस्ता कर्मतारीहरूमाथि कुट्ने पिट्ने कालोमोसो दल्ने जस्ता दुर्व्यवहारहरू गर्ने गरिन्छ । कर्मचारीहरूले पनि जनताका काम इमानदारितापूर्वक गर्नुपर्ने हुन्छ । उनीहरूमा भएको बदनियतले सेवाग्राही रिसाउँछन् । रिस र आक्रामक व्यवहारले अराजकता निम्त्याउँछ ।
त्यसका लागि वैधानिक बाटाहरू अपनाउन सकिन्छ । सुरु-सुरुमा यो सरकार बन्दा चौतर्फी क्षेत्रमा अब यस्ता विकृति र विसंगति देखापर्ने छैनन् र ती अराजकताहरू घटेर जानेछन् भन्ने जुन अपेक्षा जनताको थियो छोटो समयमै त्यसमाथि तुषारापात भइसकेको छ । स्वास्थ्यकर्मीहरू बिरामीको उपचारका लागि हुन् । उनीहरूको कर्तव्य बिरामीलाई निको पार्नु हो । यसो गर्दा कहिँकतै उनीहरूबाट लापरबाही भएको हुनसक्छ, त्यसो हुनु हुँदैनथ्यो तर अधिकांश घटना बिरामीलाई निको पार्नका लागि प्रयास गर्दागर्दै पनि तिनलाई निको पार्न नसकेका कारण त्यस्तो अप्रिय घटना भएको हुनसक्छ । यसैगरी शैक्षिक क्षेत्रमा पनि यस्ता अराजकता छन् ।
अभिभावकहरू आफ्नो विद्यार्थीले पढोस् भन्ने चाहन्छन् तर अभिभावकले तह लाउन नसकेर विद्यालय पठाइएका विद्यार्थीहरूले विद्यालयको वातावरण पनि बिगारिरहेको हुन्छ । ऊ पढ्दैन, पढ्न चाहँदैन र पढ्न चाहने सहकर्मीहरूलाई पनि गलत बाटो हिँडाउँछ । पढाउने शिक्षकहरूमाथि त्यस्ता अराजक व्यक्तिबाट दुर्व्यवहार निम्तिन्छ । कतिपय अवस्थामा गुरुहरू कुटिएका पिटिएका र उनीहरूमा अनेकौं प्रकारका दुर्व्यवहार भएका घटनाहरू बाहिरिएका छन् । यसो भन्दैमा सबै गुरुहरू असल छन् भन्ने पनि होइन । विशेषगरी परीक्षामा पक्षपातपूर्ण व्यवहार गर्ने, आफ्ना निकटका विद्यार्थीहरूलाई चोराउने, कपी परीक्षणमा भेदभाव गर्नेजस्ता काम पनि उनीहरूबाट हुन्छन् ।
सबैभन्दा बढी शिक्षकहरूबाट हुनेगरेका र देखिएका कमजोरीमा छात्राहरूप्रति गरिएको यौनदुर्व्यवहार हो । यस्ता दुर्व्यवहारको कुनै क्षेत्र हुँदैन, देशभरि नै यस्ता घटना भएका पाइन्छन् । यस्ता अनेकौं घटनालाई मध्यनजर राखेर सरकारले यी चौतर्फी देखिएका अराजक घटनाहरूको निरूपण र निराकरण गर्न आनश्यक छ भन्ने मान्यता राख्नुपर्ने हुन्छ । सरकार काम गर्नका लागि हो । यस सरकारको दायित्व त अझै बढी छ । पूर्ववर्ती सरकारहरूले काम गर्न नसकेका हुनाले काम गर्ने सरकारका रूपमा यस सरकारलाई जनताले अगाडि ल्याएका हुन् । त्यो जिम्मेवारी यस सरकारले कुशलतापूर्वक बहन गर्न सक्नुपर्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर