खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान भन्ने नाराका साथ नेपाल डेरी एसोसिएसनले साउन १५ गते मनाइने राष्ट्रिय खिर दिवसको पूर्वसन्ध्यामा बुधबार खिर प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । साउन १५ को खिर संस्कृति सम्झाउँदै दुग्ध पदार्थको प्रवर्द्धन गर्ने उद्देश्यका साथ एसोसिएसनले हरेक वर्ष खिर कार्यक्रम आयोजना गर्दै आएको छ । साउन १५ गते देशभर करिब एक अर्ब रुपैयाँभन्दा बढीको दूधको कारोबार हुने र करिब एक करोड लिटर दूध खपत हुने नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताउनुभएको छ । सो दिन दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठूलो आर्थिक कारोबार हुने र दूध तथा दुग्धजन्य पदार्थको कारोबार बढ्दा दूध उत्पादक किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने गरेको छ । प्रस्तुत छ, खिर दिवसका सन्दर्भमा हिमालय टाइम्सका लागि दिपिका न्यौपानेले एसोसिएसन अध्यक्ष प्रह्लाद दाहालसँग गर्नुभएको कुराकानी ।
साउन १५ अर्थात् खिर खाने दिनलाई कसरी हेर्नुहुन्छ ?
राष्ट्रिय खिर दिवस प्रत्येक वर्ष साउन १५ गते नेपाली मौलिक परिकार खिरको संरक्षण र प्रवर्द्धन, किसानको सम्मान, डेरी उद्योगको विकास तथा नेपाली संस्कृति र सामाजिक सद्भावलाई सुदृढ बनाउने हामी नेपालीहरूको मौलिक परम्परा हो । विशेषगरी असार, साउनमा हिलोमा काम गर्ने र त्यसको थकान हटाउन ब्यालेन्स डाइटका रूपमा विभिन्न मसाला हालेर खिर खाने प्रचलन रहँदै आएको छ । त्यसो त खिर आफैंमा एउटा प्रसाद पनि हो, खिर एकदमै राम्रो एउटा खानाका रूपमा चिनिन्छ । साउन १५ को दिन खिर नखानेहरूले समेत खिर परम्पराका रूपमा खाने गर्छन् । दूध तथा दुग्धजन्य पदार्थको प्रयोग बढाउन र स्थानीय उत्पादनको महत्त्व उजागर गर्न यस दिनले सहयोग पुर्याएको छ । शरीरलाई चाहिने तत्त्वहरू खिरमा पाइन्छ । पछिल्लो समय यो लोभ हुँदै गएको थियो । सोही कारण पनि नेपाल डेरी एसोसिएनले विगत १०–१५ वर्षदेखि खिर प्रवर्द्धन कार्यक्रम गर्दै आएको छ । एसोसिएसनले खिर खानुपर्छ भन्ने थाहा होस् भनेर हरेक साउन १५ गतेको पूर्वसन्ध्यामा हरेक उक्त कार्यक्रम गर्ने गरेको हो ।
अहिले नेपालमा दूध उत्पादनको अवस्था के छ ?
दूधको पनि सिजन हुन्छ । हिउँदमा कम र वर्षायाममा बढी उत्पादन हुन्छ । त्यही भएर बढी उत्पादन हुने सिजनमा खपत हुन नसकेको धुलो दूध(पाउडर) बनाएर राखिन्छ र आवश्यक परेको समयमा उक्त धुलो दूध प्रयोग गरिन्छ । सबै पाउडर दूध एकै पटक प्रयोग नगरी सन्तुलित रूपमा प्रयोग गर्नुपर्ने हुन्छ ।
खिर दिवस वा दूध बढीमा माग हुँदा के गर्नुहुन्छ ?
यस्तो चाडपर्वमा दूध, दूधजन्य प्रदार्थ अभाव नहोस् भनेर संघसंस्था, डेरी उद्योगीहरूले पहिल्यैदेखि भण्डारण गरेर राख्दै जान्छन् र त्यो दिनको दूधको माग विस्तारै पूरा गर्छन् ।
किसान उचित मूल्य नपाएको गुनासो गर्छन् भने उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको छ, उत्पादन र उपभोक्ताबीचमा मूल्य अन्तर धेरै किन हुन्छ ?
उत्पादन र उपभोग गर्दाको मूल्य संसारमा हरेक कुराको फरक भइहाल्छ । त्यो दूधमा मात्रै लागू हुँदैन, तरकारी, फलफूल, खाद्यान्न सबैमा लागू हुन्छ । किनभने त्यो बजारसम्म पुग्दा त्यसको चेन धेरै लामो छ । चेनमा पनि पैसा खर्च हुन्छ । विभिन्न ठाउँबाट दूध जम्मा गर्दा त्यहाँ खर्च हुन्छ । हरेक ठाउँमा ढुवानीदेखि कामदारमा खर्च हुन्छ । त्यस्तै उद्योगमा ल्याएर प्रशोधन, प्याकेजिङमा खर्च हुने भयो । बजारमा लैजाउनुपर्यो । लागत घटाउन चेन घटाउनुपर्छ, जस्तै व्यावसायिक फार्म गर्नुपर्यो, घाँसमा आधारित पशुपालन गर्नुपर्यो । किसानलाई भुक्तानी नदिने भन्ने डेरी उद्योगीहरूको मनसाय हुँदैन, नियत पनि त्यस्तो हुँदैन, सबै परिस्थितिले सिर्जना गरेको हो । दूध फाल्नुपर्ने अवस्था भयो, बरु फाल्नुभन्दा दूधको पाउडर बनाएर राख्ने गरिएको छ । उक्त दूध पाउडर बनाएर राख्दा समयमा भुक्तानी दिन नसकेको अवस्था हो । तर, अहिले भुक्तानी समस्या समाधान भइसकेको छ ।
नयाँ सरकारबाट कस्तो अपेक्षा राख्नुभएको छ ?
नीतिगत रूपमा धेरै झन्झटिलो छ । उद्योगलाई धेरै ठाउँमा दर्ता गर्नुपर्छ, धेरै ठाउँबाट अनुगमन आउने, कागजी प्रक्रिया एकदमै झन्झटिलो छ । त्यसलाई सहजीकरण गर्नुपर्छ, भ्याट हटाउनुपर्छ । उत्पादन लागत घटाउनुपर्छ, बजारको उधारो उठाउने वातावरण हुनुपर्छ । त्यसपछि ढुवानीका कुराहरू छन् । सबै कुराहरू नेपालमा पाइँदैन, बाहिरबाट पनि आयात गर्नुपर्ने हुन्छ । डेरीजन्य मेसिनरी उपकरणहरूमा भन्सार लाग्नुभएन । अर्को कुरा बाहिर निर्यात हुने छुर्पी, घिउ, चिजलगायतका वस्तुहरूमा अझै सहुलियत दिनुपर्यो ।
डेरी क्षेत्रका समस्या र चुनौतीहरू के छन् ?
अहिले तत्काल समयमा हामीले भोगेको ठूलो समस्या भनेको ढुवानी खर्च हो । डिजेल, पेट्रोलको भाउ एकदमै बढेको छ । सरकारले नबढाएसम्म दूध तथा दुग्धजन्य प्रदार्थको मूल्य बढाउन पाइँदैन । जसका कारण हाम्रो उत्पादन लागत बढेको छ । अर्को कुरा, दूध तथा दुग्धजन्य पदार्थमा मूल्य अभिवृद्धिकर (भ्याट) लागेको छ । भ्याटका कारण पनि दूध तथा दुग्धजन्य पदार्थ महँगो हुन गएकाले दूग्धजन्य पदार्थको खपत घटेको छ । सोही कारण पनि पछिल्लो समय पशुपालन व्यवसायमा किसानको आकर्षण घट्दैछ । कृषिबाट फाइदा नभएपछि कृषि छाडेर मानिसहरू विदेशिन थालेका छन् । कृषि क्षेत्रलाई एउटा सम्मानजनक पेशाका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता छ । किसानलाई बैंकहरूमा जाँदा उनीहरूलाई लाइन बस्न नपरोस्, उपचार गर्दा सहुलियत होस्, लाइन बस्न नपरोस् । अर्थात् अन्नदाता किसानलाई सरकारले मात्रै नभई सबै क्षेत्रले उच्च प्राथमिकतामा राख्नुपर्यो । जसले गर्दा उनीहरूमा आफूले सम्मानजनक काम गरेको महसुस हुन्छ । त्यस्तै हाम्रो पाठ्यक्रममा किसान भन्नेबित्तिकै च्यात्तिएको र फोहोर कपडा लगाएको चित्र राखिएको हुन्छ, त्यसको सट्टामा सफा, आकर्षक, पुष्ट भएको चित्र राखिदियो भने बालबच्चाहरू किसान बन्न चाहन्छन् । मानसिकता नै परिवर्तन गर्नुपर्छ ।
स्वस्थ रहन दूध खानुपर्छ भन्ने सन्देश दिन प्रचारप्रसारमा त्यति ध्यान दिइएको पाइँदैन नि ?
त्यसका लागि हामी सबै लाग्नुपर्छ । डेरी एसोसिएसनको नेतृत्वमा आएपछि मोही अभियान सुरु गरेको मैले नै हो । आज सबैमा मोही खानुपर्छ भन्ने सोच विकास हुँदैछ । त्यसैगरी दूध तथा दुग्धजन्य पदार्थ सेवन गर्नुपर्छ भनेर पत्रकारदेखि हरेकले अभियान चलाउनुपर्छ । दूध तथा दुग्धजन्य पदार्थसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्नुपर्छ । सरकार पनि त्यसमा लाग्नुपर्यो । अन्तिममा साउन १५ को सबैलाई शुभकामना । ढुक्क भएर खिर तथा दुग्धजन्य पदार्थ खानुहोला । गुणस्तर या अन्य कुरामा कुनै शंका गर्नुपर्दैन । नेपालमा उत्पादन दूध तथा दुग्धजन्य पदार्थ अत्यन्त गुणस्तरीय छन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर