सिरहा । सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२, तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ ।
मृतक परिवारले अघि सारेका मागका आधारमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । जिल्ला सुरक्षा समितिको बैठक सम्पन्न भएपछि शुक्रबार राति गृहमन्त्री गुरुङ गणेश यादवको घर पुगेर परिवार, आफन्त तथा स्थानीयसँग छलफल गर्नुभएको थियो ।
गृहमन्त्री गुरुङका अनुसार सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गरिने, गणेश यादवलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, बुबाआमाको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने तथा शव बुझेर दाहसंस्कार गरिने सहमति भएको छ। दाहसंस्कारका लागि आवश्यक सम्पूर्ण खर्च पनि सरकारले व्यहोर्ने सहमति भएको उहाँले बताउनुभयो ।
शवको अवस्थाबारे परिवारलाई जानकारी नभएको भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिनुभयो । अनुसन्धानलाई सहज बनाउन शव त्यहाँ पठाइएको र पोस्टमार्टम सम्पन्न भएपछि हेलिकोप्टरमार्फत सिरहा ल्याई परिवारलाई जिम्मा लगाइने उहाँको भनाइ थियो ।
घटनाको निष्पक्ष अनुसन्धान हुनेमा स्थानीय र परिवारजन कसरी विश्वस्त हुने भन्ने प्रश्नमा उहाँले स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गरिसकिएको बताउनुभयो । सुनसरी र सिरहाका घटनाको अनुसन्धानका लागि अनुभवी अनुसन्धानकर्ता तथा विज्ञहरूलाई समेटेर समिति बनाइएको उल्लेख गर्दै सत्यतथ्य सार्वजनिक गरी पीडित परिवार र आम नागरिकलाई निष्पक्ष अनुसन्धान भएको अनुभूति दिलाउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
गृहमन्त्री गुरुङले आफू स्वयं घटनाको अनुगमन गरिरहेको उल्लेख गर्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सुनसरी घटनापछि चर्किएको थियो आन्दोलन
साउन ११ गते सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा बोलबम यात्राका क्रममा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ गइरहेका दुई समूहबीच विवाद भएपछि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार र हवाई फायर गरेको तथा अवस्था नियन्त्रणबाहिर गएपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।
उक्त घटनामा प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो। घटनामा आठ जना प्रदर्शनकारी तथा प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी घाइते हुनुभएकाे थियाे ।
सुनसरी घटनाको विरोधमा मधेशका विभिन्न जिल्लामा प्रदर्शन सुरु भएको थियो । त्यसैक्रममा साउन १४ गते सिरहाको गोलबजारमा भएको प्रदर्शन हिंसात्मक बन्दा प्रहरीको गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । त्यसयता स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका थिए ।






भोजपुरको साल्पासिलिछोमा वडाध्यक्ष १२३ जना
उच्च शिक्षा सुधारका लागि पारदर्शी
स्थानीयस्तरमै रक्तसञ्चार सेवा, एक वर्षमा
‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका
ग्यासको कालोबजारी गरेको आरोपमा एक
यूसीएमएसमा १२८ स्लाइसको अत्याधुनिक सिटी