काठमाडौं । स्वस्थ जीवनयापन, शारीरिक तथा मानसिक विकास, शरीरलाई आवश्यक शक्ति प्रदान गर्न र रोगसँग लड्ने क्षमता बढाउन सन्तुलित तथा पोषिलो आहारको महत्वपूर्ण भूमिका रहने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।
विज्ञहरूका अनुसार मानव शरीरलाई आवश्यक पर्ने कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र फाइबरजस्ता पोषक तत्व उचित मात्रामा समावेश भएको खाना नै स्वस्थ खाना हो। यी पोषक तत्वको सन्तुलित सेवनले शरीरलाई स्वस्थ राख्न मद्दत पुग्ने उनीहरूको भनाइ छ ।
कार्बोहाइड्रेट र चिल्लो पदार्थले शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्छन् भने प्रोटिनले शरीरको वृद्धि, विकास तथा मर्मतसम्भारमा महत्वपूर्ण भूमिका खेल्छ। त्यसैगरी, भिटामिनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, फाइबरले पाचन प्रणाली र आन्द्रालाई स्वस्थ राख्न सहयोग गर्छ भने खनिज पदार्थले दाँत, हड्डी र मांसपेशीलाई मजबुत बनाउने काम गर्छ ।
स्वास्थ्यकर्मीहरूले दैनिक भोजनमा प्रशस्त मात्रामा सागसब्जी, फलफूल, दाल, गेडागुडी, भटमास, बदाम तथा अन्य पोषक तत्वयुक्त खाद्य पदार्थ समावेश गर्न सुझाव दिएका छन् । साथै, दूध तथा दूधजन्य परिकार, माछा, मासु र अन्य प्रोटिनयुक्त खानेकुराको सन्तुलित सेवन गर्न पनि आग्रह गरिएको छ ।
त्यसैगरी, आयोडिनयुक्त नुनको प्रयोग गर्न, नुनको मात्रा कम राख्न, प्रशस्त पानी पिउन तथा भिटामिन, फाइबर र खनिजयुक्त खाद्य पदार्थलाई प्राथमिकता दिन सुझाव दिइएको छ ।
स्वास्थ्य विज्ञहरूले मदिरा, धूमपान तथा अन्य सूर्तिजन्य पदार्थको सेवनबाट टाढा रहन र पत्रु (जंक) खानाको सट्टा घरमै पकाएको ताजा तथा स्वस्थ खाना खान आग्रह गरेका छन् । विशेषगरी बालबालिका, गर्भवती तथा सुत्केरी महिला र ज्येष्ठ नागरिकले दूध तथा दूधजन्य परिकार नियमित रूपमा सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक हुने जनाइएको छ ।
सन्तुलित आहारसँगै नियमित शारीरिक व्यायाम, पर्याप्त आराम र स्वस्थ जीवनशैली अपनाउन सके विभिन्न नसर्ने रोगको जोखिम घटाउनुका साथै समग्र स्वास्थ्य सुधार गर्न सकिने स्वास्थ्य क्षेत्रका जानकारहरूको भनाइ छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर