सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी गतिविधिको सूक्ष्म निगरानी गर्दै सम्भावित चुनौती सामना गर्न तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
शुक्रबार बिहान धनगढीस्थित मुख्यमन्त्री निवासमा समसामयिक सुरक्षा अवस्था तथा विपद् व्यवस्थापनका विषयमा सुरक्षा निकायका प्रमुखसँग आयोजित बैठकमा उहाँले सम्भावित चुनौतीको सामूहिक रूपमा सामना गर्नुपर्ने बताउनुभयो।
मुख्यमन्त्री शाहले सुनसरीसहित तराई–मधेशका विभिन्न जिल्लामा भइरहेका घटनाबाट सुदूरपश्चिम प्रदेशमा पर्नसक्ने सम्भावित प्रभावप्रति सचेत रहँदै सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभयो।
मुख्यमन्त्रीका जनसम्पर्क तथा प्रेस सल्लाहकार डम्बर बमका अनुसार बैठकमा सामाजिक सद्भाव कायम गर्न सार्वजनिक अपिल जारी गर्ने तथा प्रदेशका सबै जिल्लामा सद्भाव ¥याली आयोजना गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने जानकारीसमेत मुख्यमन्त्रीलाई गराइएको थियो।
“सामाजिक सद्भावविरोधी क्रियाकलापले यस प्रदेशमा पार्ने प्रभाव र शान्ति सुरक्षाको अवस्थाबारे पूर्वानुमान गरी त्यस्ता घटना हुन नदिन सुरक्षा निकायबाट पूर्वसतर्कता अपनाउन आवश्यक छ”, मुख्यमन्त्री शाहको भनाइ उद्धृत गर्दै सल्लाहकार बमले भन्नुभयो।
उहाँका अनुसार मुख्यमन्त्री शाहले मनसुनका कारण हुनसक्ने विपद्लाई समेत ध्यानमा राखी विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि सबै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ।
बैठकमा समसामयिक राजनीतिक तथा सामाजिक अवस्था, विभिन्न क्षेत्रमा भइरहेका प्रदर्शन तथा मनसुनका कारण उत्पन्न हुनसक्ने विपद्का बहुआयामिक चुनौतीका विषयमा छलफल भएको थियो।
बैठकले सामाजिक सद्भाव कायम गर्न सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्नसमेत अपिल गरेको छ।
बैठकमा प्रमुखसचिव वैकुण्ठप्रसाद अर्याल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तेजप्रकाश जोशी, नेपाली सेना सुदूरपश्चिम पृतना मुख्यालय तेघरीका पृतनापति पवन खत्री, उपरथी किरण केसी, प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराई तथा सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनीका बाहिनीपति दिगविजय सुवेदीलगायतको उपस्थिति थियो।







बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा
मकवानपुरमा स्कारपियो दुर्घटना : मुख्य
प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले