काठमाडाैं । नेपाली काँग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको बढ्दो आन्तरिक विवाद समाधान र संगठन सुदृढीकरणका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ को घोषणा गर्नुभएको छ ।
आईतवार काठमाडौंमा देश र काँग्रेस जोड्ने अभियानद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता महरले आगामी साउन २० गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिनुभयो । पार्टी विभाजनको सँघारमा पुगेको र आन्तरिक किचलोका कारण जनताका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै नेता महरले पार्टीलाई एकजुट बनाउन दबाबमूलक कार्यक्रम शुरु गरिएको बताउनु भयो ।
देश विषम परिस्थितिबाट गुज्रिरहेको बेला प्रमुख प्रतिपक्षी दल आफैँभित्र अल्झिनु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाइ छ । नेता महरले सुनसरीबाट शुरु भई मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्नुभयो । हिंसामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले घाइतेहरूको शीघ्र उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
नेता महरकाअनुसार साउन २० गते सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ बजेदेखि राष्ट्रिय भेला हुनेछ । उक्त भेलामा देशभरका ७ सय ५३ स्थानीय तह, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र १ सय ६५ संघीय निर्वाचन क्षेत्रका प्रतिनिधि एवं विभिन्न प्रबुद्ध वर्गसहित करिब दुई हजार जनाको सहभागिता रहने बताइएको छ । अभियानको उद्देश्य कुनै व्यक्ति वा गुटको स्वार्थ नभई काँग्रेसलाई जनतासँग जोड्नु रहेको उहाँले प्रस्ट पार्नुभयो ।
पार्टीको १५ औँ महाधिवेशनलाई निष्पक्ष र धाँधलीरहित बनाउन अनुशासन समिति, निर्वाचन समिति र सदस्यता छानबिन समिति जस्ता महत्वपूर्ण निकायहरूमा सबै समूहको सर्वसम्मत प्रतिनिधित्व हुनुपर्ने माग अभियानले अघि सारेको छ । नेता महरले पार्टी सभापति र पदाधिकारीहरूलाई व्यक्तिगत अहं (इगो) त्यागेर पार्टी मिलाउन आग्रह गर्नुभयो । उहाँले पार्टीलाई जीवन्त राख्न आफूहरू केन्द्रिय सदस्यको पद त्याग गर्न समेत तयार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय मुद्दामा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको सन्दर्भलाई आत्मसात् गर्दै हामीले ‘देश र काँग्रेस जोड्ने अभियान’ शुरु गरेका छौँ । हामी विश्वास गर्छौं कि विश्वासिलो र एकतावद्ध नेपाली कांग्रेसले मात्रै जनताको विश्वास पुनः जित्न सक्छ, लोकतन्त्रको प्रभावकारी रक्षा गर्नसक्छ र देशलाई सही राजनीतिक दिशामा अगाडि बढाउन सक्छ । यही नै हाम्रो अभियानको मूल उद्देश्य हो । यसै उद्देश्यका साथ २०८३ साल साउन २० गते बिहान ११ बजे हामी गहन संवाद गर्दैछौँ । यस राष्ट्रिय भेलामा देशभरका ७ सय ५३ वटै पालिका, ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र, १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा विभिन्न प्रबुद्ध व्यक्तित्व, नागरिक समाज र नेपाली काँग्रेसको हित चाहने व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । करिव दुई हजार जनाको उपस्थितिमा यो राष्ट्रिय भेला आयोजना हुँदैछ । मैले भनेझैँ, यस भेलाको उद्देश्य कसैप्रति पूर्वाग्रही हुनु होइन, देश र काँग्रेसलाई जोड्नु हो । देशभित्र साम्प्रदायिकता लगायत विभिन्न समस्या उत्पन्न गराउने उद्देश्यले देशी तथा विदेशी शक्तिहरूको चलखेल भइरहेको हाम्रो बुझाइ छ । यस्ता चुनौतीप्रति सचेत रहँदै राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य-मान्यता र नेपाली काँग्रेसको सुदृढीकरणका लागि यो अभियान अघि बढाइएको हो ।’
पत्रकार सम्मेलनमा नेता रञ्जित कर्णलगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो । अभियानले साउन २० को भेलापश्चात देशभर हस्ताक्षर संकलन र अन्य दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ । ‘कांँग्रेस जुट्दा लोकतन्त्र बलियो हुन्छ र लोकतन्त्र बलियो भए मात्र देश बलियो हुन्छ’ भन्ने संकल्पका साथ यो अभियान अघि बढाइएको नेता महरले बताउनु भयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर