नेपाली कांग्रेस यतिबेला आफ्नो इतिहासकै जटिल मोडमा उभिएको छ । पार्टीभित्र संस्थापन र संस्थापनइतर पक्षबीच लामो समयदेखि जारी शक्ति संघर्षले कुनै पक्षलाई निर्णायक सफलता दिलाउन सकेको छैन । बरू यसले कांग्रेसभित्रको विभाजनलाई अझ गहिरो बनाएको छ । बाहिरबाट हेर्दा दुई धारमात्र देखिए पनि वास्तविकता फरक छ । कांग्रेसभित्र अहिले अनेक उपसमूह र स्वार्थका केन्द्रहरू सक्रिय छन्, जसले पार्टीको वैचारिक र सांगठनिक एकतालाई कमजोर बनाइरहेका छन् ।
एक समूहले संस्थापन र संस्थापनइतरबीच समन्वय गराएर पार्टीलाई एक ढिक्का बनाउने प्रयास गरिरहेको छ । तर परिस्थितिले देखाउँछ, त्यस्ता प्रयास क्रमशः निष्प्रभावी हुँदै गएका छन् । अर्कोतर्फ, दुवै धारको नेतृत्व र कार्यशैलीप्रति असन्तुष्ट समूहले वैकल्पिक राजनीतिक धार निर्माण गर्ने संकेत दिएको छ । यसले कांग्रेसभित्रको संकट केवल गुटगत प्रतिस्पर्धामा सीमित नरही अस्तित्वको प्रश्नतर्फ उन्मुख भएको देखाउँछ ।
कांग्रेसभित्र अझै एउटा उल्लेखनीय समूह छ, जसले बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल मार्गलाई नै पार्टीको आधार बनाउनुपर्ने धारणा राख्छ । बीपीको राजनीतिक दर्शन तत्कालीन परिस्थितिसँग जोडिएको थियो । उहाँले राष्ट्रिय संकटको घडीमा व्यक्तिगत सुरक्षाभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिँदै मृत्युदण्डको सम्भावना हुँदाहुँदै पनि स्वदेश फर्कने साहस गर्नुभयो । राष्ट्रिय मेलमिलापको नीति त्यही दूरदर्शी सोचको परिणाम थियो ।
बीपीले संवैधानिक राजतन्त्रसहितको प्रजातान्त्रिक व्यवस्थाको परिकल्पना गर्नुभएको थियो । उहाँको प्रसिद्ध अभिव्यक्ति ‘राजाको घाँटी तल र मेरो घाँटी माथि’लाई कतिपयले समर्पणवादका रूपमा व्याख्या गरे । तर बीपीको दर्शन बुझ्नेहरूका लागि त्यो अभिव्यक्ति राष्ट्रिय सहअस्तित्व र लोकतान्त्रिक संक्रमणलाई सहज बनाउने रणनीति थियो । यही सोचका आधारमा २०४७ सालको संविधान निर्माण भयो, जहाँ राजतन्त्र संवैधानिक सीमाभित्र रह्यो र लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाइयो ।
समय परिवर्तनसँगै देश गणतन्त्रमा प्रवेश गर्यो । शान्ति प्रक्रियालाई सफल बनाउन कांग्रेसले आफ्ना केही पुराना अडान परिवर्तन गर्यो । तर, त्यससँगै एउटा गम्भीर प्रश्न पनि उठ्यो–के कांग्रेसले आफ्नो मूल वैचारिक आधार नै त्याग्यो ? यही प्रश्न आजसम्म अनुत्तरित छ । माओवादी सशस्त्र द्वन्द्वको दबाबमा कांग्रेसले आफ्नो सिद्धान्त छाडेको आरोपको पार्टीले स्पष्ट र विश्वासिलो जवाफ दिनसकेको छैन । परिणामस्वरूप कांग्रेस वैचारिक स्पष्टताभन्दा रणनीतिक अलमलमा बढी देखिएको छ ।
आज कांग्रेसभित्र भइरहेको संघर्ष कुनै सैद्धान्तिक बहस होइन । यो नेतृत्व, पद र प्रभावको प्रतिस्पर्धामा सीमित देखिन्छ । पार्टीका अधिकांश नेता कुन विचारका लागि संघर्ष गरिरहेका छन् भन्नेभन्दा कसले नेतृत्व गर्ने भन्ने विषयमै केन्द्रित छन् । यही कारणले कांग्रेसभित्रको विवादलाई धेरैले ‘सिद्धान्तको होइन, व्यक्तित्व र अहंकारको संघर्ष’ भनेर व्याख्या गर्ने गरेका छन् ।
केही समयअघि सम्पन्न विशेष महाधिवेशनले पनि यही विभाजनलाई थप उजागर गर्यो । एक पक्षले विशेष महाधिवेशनमार्फत आफ्नो वैधानिकता स्थापित गर्यो भने अर्को पक्षले त्यसलाई अस्वीकार गर्दै बहिष्कार गर्यो । महाधिवेशन सम्पन्न गराउने पक्षले संगठनात्मक सफलता हासिल गरे पनि सम्पूर्ण कांग्रेसलाई समेट्न सकेन । ठूलो समूह बाहिरै छ र उसले नयाँ राजनीतिक विकल्पको तयारी गरिरहेको छ ।
यसै सन्दर्भमा राष्ट्रिय भेला आयोजना गरी नयाँ पार्टी गठनको प्रक्रिया अगाडि बढाइएको छ । ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने यसको संयोजकमा डा.शशांक कोइरालालाई अघि सारिएको छ । यद्यपि यस निर्णयलाई लिएर पनि विभिन्न राजनीतिक टिप्पणी भएका छन् । कतिपयको बुझाइमा अनुभवी र प्रभावशाली नेताहरू पछि हटेर तुलनात्मक रूपमा कम आक्रामक तथा भद्र छविका नेतामार्फत नयाँ समूहलाई स्वीकार्य बनाउने रणनीति अपनाइएको हो ।
यस समूहले आफ्नो वैधानिकताको दाबी गर्दै सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदनसमेत दिएको छ । यदि त्यसबाट अपेक्षित परिणाम प्राप्त भएन भने नयाँ पार्टी दर्ता गर्नुबाहेक अर्को विकल्प बाँकी रहने देखिँदैन । यसले कांग्रेसको विभाजन अस्थायी नभई दीर्घकालीन बन्नसक्ने संकेत दिएको छ ।
एकपटक चर्किएको पर्खाल एकातिरबाट टाल्दा अर्कोतिर फेरि चर्किने जोखिम रहन्छ । कांग्रेसको वर्तमान अवस्था पनि त्यस्तै छ । दुई धारबाट सुरु भएको विभाजन अहिले तीन, चार र पाँच समूहसम्म विस्तार भइसकेको छ । यस्तो अवस्थामा सबै पक्षलाई एउटै छातामुनि ल्याएर संगठनलाई पुनः सुदृढ बनाउने सम्भावना दिनप्रतिदिन कमजोर बन्दै गएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका खेलेको कांग्रेस आज संगठनात्मक कमजोरी, वैचारिक अस्पष्टता र नेतृत्वको प्रतिस्पर्धाले थलिएको अवस्थामा पुगेको छ । कुनै समय राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको यो पार्टी अहिले आफ्नो आन्तरिक संकटबाट मुक्त हुन संघर्षरत छ ।
कांग्रेसको भविष्य कुनै गुट विशेषको विजयमा होइन, साझा दृष्टिकोण, स्पष्ट विचार र सक्षम नेतृत्वको उदयमा निर्भर छ । यदि पार्टीले बीपीको वैचारिक स्पष्टता, लोकतान्त्रिक संस्कार र राष्ट्रिय जिम्मेवारीको भावना पुनः आत्मसात् गर्नसक्यो भने पुनर्जागरण सम्भव छ । तर स्वार्थ, अहंकार र गुटीय प्रतिस्पर्धाले नै निरन्तरता पाए कांग्रेस इतिहासको गौरवशाली अध्यायका रूपमा मात्र सीमित हुने जोखिम बढ्दै जानेछ ।
आज पनि ठूलो संख्यामा नेपाली नागरिक कांग्रेसलाई सबल र जिम्मेवार लोकतान्त्रिक शक्तिका रूपमा हेर्न चाहन्छन् । तर त्यो अपेक्षा पूरा गर्न कुनै चमत्कारी व्यक्तिको होइन, विचारमा स्पष्ट, संगठनमा सक्षम र सबै पक्षलाई समेट्न सक्ने नेतृत्वको आवश्यकता छ । अन्यथा, कांग्रेसको वर्तमान संकट भविष्यमा अझ गहिरिँदै जानेछ र नेपालको लोकतान्त्रिक राजनीतिले एउटा ऐतिहासिक संस्थाको क्रमिक अवसानको साक्षी बन्नुपर्ने अवस्था आउनसक्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर