काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम दाहालले उम्मेदवारी घोषणा गर्नुभएको छ । बाल्टिमोरमा आयोजित एक औपचारिक कार्यक्रममा उहाँले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै संगठनलाई सुदृढ, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो केन्द्रीय अधिवेशन आगामी अगष्ट १४, १५ र १६ मा भर्जिनियामा हुँदैछ । दाहाल अधिवेशन तयारी समितिका सदस्य-सचिवसमेत हुनुहुनछ ।
उम्मेदवारी घोषणा कार्यक्रममा जनसम्पर्क समितिका विभिन्न च्याप्टरका पदाधिकारी, गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा अधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उम्मेदवारीसँगै दाहालले आफ्नो नेतृत्वको प्राथमिकता सार्वजनिक गर्दै संगठनात्मक संरचना सुदृढीकरण, नेपाल-अमेरिका नागरिकस्तरीय सम्बन्ध विस्तार, दोस्रो पुस्तालाई नेतृत्व र विभिन्न फोरममा सक्रिय बनाउने तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।
उहाँले आर्थिक अनुशासन र पारदर्शितालाई आफ्नो पहिलो एजेण्डा रहेको उल्लेख गर्दै संस्थाप्रतिको विश्वासको आधार नै आर्थिक पारदर्शिता भएको बताउनुभयो । ‘मेरो कार्यकालमा आर्थिक पक्षमा कुनै प्रश्न उठ्ने अवस्था आउन दिनेछैन । मेरा हात सफा छन् र सधैं सफा नै रहनेछन्’, उहाँले भन्नुभयो ।
दाहालले प्रविधिमैत्री कार्यक्रम सञ्चालन, विभिन्न च्याप्टरबीच समन्वय बढाउने तथा अमेरिकामा रहेका अनुभवी नेपालीहरूको सहभागितामा ‘थिंक ट्यांक’ गठन गरी महत्त्वपूर्ण विषयमा संस्थागत धारणा सार्वजनिक गर्ने योजना पनि अघि सार्नुभयो । उहाँको घोषणापत्रमा संस्थागत सुशासन, विधानसम्मत कार्यशैली, पारदर्शी आर्थिक विवरण, वार्षिक कार्यतालिका लागू गर्ने तथा संगठनलाई थप चुस्त बनाउने योजना समावेश छन् । त्यस्तै, अमेरिकाका विभिन्न तहका सरकारमा निर्वाचित नेपाली मूलका जनप्रतिनिधिसँग सहकार्य गर्दै नेपालको हितका विषयमा वकालत गर्ने, अमेरिकी संघीय संसद्मा विगतमा सक्रिय रहेको ‘नेपाल ककस’ पुनः सक्रिय बनाउन पहल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।
दाहालले नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको अर्धकदको सालिक अमेरिकाको सार्वजनिक स्थलमा स्थापना गर्न पहल गर्ने, नेपाली समुदायको प्रभाव रहेका स्थानमा नेपालसँग सम्बन्धित सडक वा सार्वजनिक स्थानको नामकरणका लागि स्थानीय सरकारसँग समन्वय गर्ने योजना पनि सार्वजनिक गर्नुभएको छ ।
को हुन् गौतम दाहाल ?
ओखलढुंगाको शहीदभूमिमा जन्मिएका गौतम दाहाल विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले नेविसंघ ओखलढुंगा जिल्ला सदस्य तथा काठमाडौं सम्पर्क समितिको सभापतिका रूपमा काम गरिसक्नुभएको छ । उहाँ तत्कालीन अर्थ राज्यमन्त्री गोपाल राईका प्रेस सल्लाहकारसमेत हुनुहुन्थ्यो ।
विगत २१ वर्षदेखि अमेरिकामा बसोवास गर्दै आउनुभएका दाहाल सन् २००७ देखि नेपाली जनसम्पर्क समिति अमेरिकाका विभिन्न जिम्मेवारीमा सक्रिय हुनुहुन्छ । हाल उहाँ नेपाली कांग्रेसका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । यसअघि उहाँ जनसम्पर्क समितिको प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारीमा पनि रहनुभउको थियो ।
पत्रकारितामा पनि सक्रिय दाहालले नेपालमा रहँदा रेडियो नेपाल, इमेज टेलिभिजन, नेपाल-१ टेलिभिजन, हिमालय टाइम्स, राष्ट्रपुकार, नेपालवाणी र नेपाल जागरणलगायत सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ । अमेरिकामा उहाँले नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्ष तथा बाल्टिमोरस्थित नेपाली संस्था बानाको महासचिवको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको छ । नेपाली कांग्रेसका नेता गगन थापा र विश्वप्रकाश शर्मासँग विभिन्न राजनीतिक तथा सामाजिक अभियानमा सहकार्य गरेका दाहाल अमेरिकामा नेपाली कांग्रेस निकट सक्रिय, स्पष्ट वक्ता र संगठन निर्माणमा निरन्तर लागिपरेका नेताका रूपमा परिचित हुनुहुन्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर