सुदूरको स्वास्थ्य
सुदूरपश्चिम प्रदेश लामो समयदेखि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको दृष्टिले राज्यको केन्द्रीय नजरबाट ओझेलमा परेको छ । भौगोलिक विकटता, सीमान्तकृत समुदायको बाहुल्य र राज्यको सुदूर दृष्टि अभावले यहाँका जनताले गम्भीर स्वास्थ्य समस्यासँग जुध्नु परिरहेको हो । गम्भीर रोग लागेमा वा सामान्यभन्दा ठूला शल्यक्रिया गर्नुपर्दा यहाँका बासिन्दाले कैयौं किलोमिटर टाढा नेपालगञ्ज, काठमाडौं वा भारतका विभिन्न शहरमा धाउनुपर्ने बाध्यता छ । यही यथार्थबीच सुदूरपश्चिममा उच्चस्तरीय चिकित्सा शिक्षा र अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा यस क्षेत्रका बासिन्दाका लागि एउटा ऐतिहासिक सपना र गौरपवको विषय बनेको छ ।
कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा निर्माण गरिएको यो संरचना सुरुमा मेडिकल कलेजको रूपमा परिकल्पना गरिएको थियो तर लामो संघर्ष, प्रक्रियागत ढिलाइ र जनदबाबपछि यसलाई सरकारले नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा स्थापना गर्ने निर्णय गर्यो । त्यसका लागि कानुनी र प्राविधिक प्रक्रिया पनि अगाडि बढे । जुन हामी सुदूरवासीका तर्फबाट स्वागतयोग्य विषय बन्यो । तर, यतिबेला डा.गोविन्द केसी अनशनमा बसेसँगै उक्त स्वास्थ्य विज्ञान विश्वविद्यालयको विषय पुनः एक पटक सतहमा आएको छ । विश्वविद्यालयमा तीन सय शैय्याको अस्पताल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाउनुपर्ने, एमबिबिएस शैक्षिक कार्यक्रम सञ्चालनका लागि फ्याकल्टी, जनशक्तिको भर्ना, पाठ्यक्रमको स्वीकृतिलगायत शैक्षिक तयारी तुरुन्त पूरा गर्नुपर्ने केसीका माग थिए ।
यतिबेला डा.गोविन्द केसी अनशनमा बसेसँगै सुदूरपश्चिम स्वास्थ्य विज्ञान विश्वविद्यालयको विषय पुनः एक पटक सतहमा आएको छ । विश्वविद्यालयमा तीन सय शैय्याको अस्पताल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाउनुपर्ने, एमबिबिएस, शैक्षिक कार्यक्रम सञ्चालनका लागि फ्याकल्टी, जनशक्तिको भर्ना, पाठ्यक्रमको स्वीकृतिलगायत शैक्षिक तयारी तुरुन्त पूरा गर्नुपर्ने केसीका माग थिए ।
उहाँको सत्याग्रहले यसपटक सुखद् सन्देश भने दिन सकेन । दशकौंदेखिको सुदूरका जनताको प्रतीक्षा कतै केसीको आन्दोलनकै कारण तुहिने त होइन भन्ने जनतामा भए पैदा भयो र जनता दुई धारमा विभाजित भए । यतिबेला सरकार र डा.केसीबीच सहमति भएर अनशन अन्त्य भइसकेको छ । त्यसैले म यो विषयमा धेरै चर्चा गर्न चाहुँदैन तर विश्वविद्यालयको कुरा गर्दा स्वास्थ्य क्षेत्रमा सास्ति खेप्दै आउनुभएका सुदूरपश्चिमका जनता अब कुनै पनि बहानामा सञ्चालनको मुखमा रहेको विश्वविद्यालय रोकिने वा प्रभावित हुने स्थिति सहन तयार छैनौं । लामो प्रतीक्षापछि विश्वविद्यालयको रूपमा अगाडि बढेको परियोजनालाई हरहालतमा छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्छ हाम्रो एकबुँदे माग हो ।
विश्वविद्यालय एक गौरव र संघर्षको गाथा
दशकौंको लामो प्रतीक्षा, संघर्ष र विभिन्न प्रक्रियागत मोड पार गर्दै गेटामा विश्वविद्यालय स्थापनाको अवस्थासम्म आइपुग्नु सुदूरपश्चिमवासीका लागि एउटा गौरव र संघर्षको गाथा हो । जग्गा प्राप्ति र गेटाको ऐतिहासिक पृष्ठभूमि गेटामा चिकित्सा क्षेत्रको यो विशाल संरचना बन्नुअघिको इतिहास निकै लामो छ । नेपाल सरकारले सुदूरपश्चिममा गुणस्तरीय स्वास्थ्य सेवा र मेडिकल शिक्षाको पहुँच पुर्याउने दूरगामी सोचका साथ २०५६ सालमै गेटा क्षेत्रमा जग्गा व्यवस्थापनको प्रक्रिया अगाडि बढाएको थियो । गेटा आँखा अस्पताल नजिकै पर्नेगरी सरकारले करिब ५१.८ हेक्टर (६० बिघाभन्दा बढी) जग्गा यसै उद्देश्यका लागि छुट्याएको थियो ।
सुरुमा यसलाई ‘मेडिकल कलेज’ बनाउने अवधारणा अनुरूप २०६५ सालमा सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरियो । त्यसपछि २०७१ सालमा यसको औपचारिक शिलान्यास भए पनि विभिन्न प्रशासनिक जटिलता, वन क्षेत्रको रूख कटानीको अनुमति लिन लागेको ढिलाइ र बजेट अभावका कारण यसले लामो समयसम्म गति लिन सकेको थिएन । अन्ततः २०७४ सालदेखि यहाँ भौतिक पूर्वाधार निर्माणको कामले तीव्र रूपमा मूर्तरूप लिन थाल्यो । मेडिकल कलेजबाट विश्वविद्यालयसम्मको यात्रा गेटामा भौतिक संरचना तयार हुँदै जाँदा यसलाई कुन रूपमा सञ्चालन गर्ने भन्ने विषयमा लामो अन्योल र राजनीतिक खिचातानी भयो ।
यसलाई केवल एउटा सामान्य मेडिकल कलेज वा प्रतिष्ठानमात्र बनाउने चर्चा चलेपछि सुदूरपश्चिमका जनता, बौद्धिक वर्ग र विभिन्न संघसंस्थाले कडा विरोध जनाए । यस क्षेत्रको समग्र शैक्षिक र स्वास्थ्य विकासका लागि यसलाई नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने मागसहित जनदबाब र आन्दोलनहरू भए । जनभावना र संघर्षको कदर गर्दै नेपाल सरकारको मन्त्रिपरिषद्ले गेटामा मेडिकल कलेजको सट्टा ‘शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ स्थापना गर्ने ऐतिहासिक निर्णय लियो ।
तद्नन्तर संघीय संसद्बाट यससम्बन्धी विधेयक पारित भएपछि गेटा औपचारिक रूपमा विश्वविद्यालयको रूपमा स्थापित भयो । नेपालको प्रजातान्त्रिक आन्दोलनका अमर शहीद दशरथचन्दको नाममा समर्पित यो संस्थाले यस क्षेत्रको मुहार फेर्ने अपेक्षा गरिएको छ । भौतिक पूर्वाधार र लगानी लागत गेटा विश्वविद्यालयको परिसरभित्र ठूला तथा साना गरी ५० भन्दा बढी अत्याधुनिक भवन निर्माण सम्पन्न भइसकेका छन् । यहाँ अस्पताल भवन, शिक्षण तथा प्राज्ञिक ब्लकहरू, प्रशासनिक भवन, विद्यार्थीका लागि छात्रावास, चिकित्सक तथा कर्मचारीका लागि आवासीय भवन र क्यान्टिनजस्ता संरचना ठडिएका छन् ।
विश्वविद्यालयले सुदूरपश्चिमलाई चिकित्सा शिक्षाको अन्तर्राष्ट्रियस्तरको केन्द्र बनाउने लक्ष्य लिएको छ । स्नातक तथा स्नातकोत्तर तहअन्तर्गत एमबिबिएस, ब्याचलर अफ अप्टोमेट्री, बिएस्सी नर्सिङ र बिएस्सी मेडिकल ल्याबोरेटरी टेक्नोलोजीलगायतका उच्च प्राविधिक स्वास्थ्य शिक्षाका कक्षा सञ्चालन गर्ने विश्वविद्यालयको योजना छ । यसले गर्दा यस क्षेत्रका जेहेनदार विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि बाहिर वा विदेश जाने बाध्यताको अन्त्य हुनेछ । विश्वविद्यालयमा जनरल ओपिडी, शल्यक्रिया, हाडजोर्नी, स्त्रीरोग, सघन उपचार कक्ष तथा प्रयोगशाला सेवा उपलब्ध गराउने गरी प्रशासनिक तथा चिकित्सकको अस्थायी दरबन्दी स्वीकृत भई सेवा प्रवाहको दायरा बढाइँदै लगिएको छ ।
यसले सुदूरपश्चिम मात्र नभई छिमेकी देश भारतका सीमावर्ती क्षेत्रका नागरिकहरूलाई समेत सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ । पूर्णक्षमतामा सञ्चालनमा आएपछि यस क्षेत्रका नागरिकले आफ्नै ठाउँमा विश्वस्तरीय विशेषज्ञ चिकित्सा सेवा प्राप्त गर्नेछन् र गरिबीका कारण ज्यान गुमाउन बाध्य नागरिकले ठूलो राहत पाउनेछन् । यसका साथै यसले सुदूरपश्चिममा शैक्षिक, स्वास्थ्य तथा आर्थिक गतिविधि बढाउनेछ ।
विश्वविद्यालय सुदूरपश्चिम प्रदेशका लागि मात्र नभई समग्र देशकै लागि स्वास्थ्य सेवा र उच्चस्तरीय चिकित्सा शिक्षाको क्षेत्रमा एक ऐतिहासिक र गौरवशाली उपलब्धि हो । दशकौंको लामो प्रतीक्षा, प्रशासनिक ढिलाइ र विभिन्न राजनीतिक खिचातानीका बाबजुद जनताको कडा दबाब र संघर्षमार्फत स्थापित यो संस्था यस क्षेत्रका बासिन्दाका लागि जीवनमरणको सवाल बनेको छ ।
अबका चुनौती र समाधानको बाटो
विश्वविद्यालयसँग जोडिएको सपना जति भव्य छ यसलाई धरातलमा उतार्ने मार्गमा त्यत्तिकै ठूला र जटिल चुनौती विद्यमान छन् । ऐन निर्माण र नीतिगत निर्णय भइसके पनि पदाधिकारी नियुक्ति, बजेट विनियोजन र संगठनात्मक संरचना तयार पार्ने ढिलासुस्तीले कामको गति सुस्त बनाएको छ । सुदूरपश्चिम जस्तो सुगम नमानिएको क्षेत्रमा जान ठूला विशेषज्ञ चिकित्सक र अनुभवी प्राध्यापकहरू सहजै तयार हुँदैनन्, त्यसैले उनीहरूलाई आकर्षित गर्न आकर्षक सेवासुविधा र प्रोत्साहनका प्याकेजहरूको व्यवस्था गर्नु ठूलो चुनौती हो । यति ठूलो स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई नियमित रूपमा सञ्चालन गर्न र अत्याधुनिक चिकित्सा उपकरणहरूको व्यवस्थापन तथा मर्मतसम्भारका लागि ठूलो परिमाणमा निरन्तर बजेट आवश्यक पर्छ । भौतिक संरचना खडा भए पनि तिनको आन्तरिक व्यवस्थापन, फर्निचरिङ, प्रयोगशालाहरूको स्थापना र अस्पताललाई पूर्णरूपमा सञ्चालनयोग्य बनाउन अझै धेरै काम बाँकी छ ।
विश्वविद्यालय सुदूरपश्चिमका करोडौं जनताको स्वास्थ्य र समृद्धिको भविष्यसँग जोडिएको भावना हो । लामो समयदेखि उपेक्षाको महसुस गर्दै आएका यस क्षेत्रका बासिन्दाका लागि यो परियोजना जीवन र मृत्युको सवाल बनेको छ । सरकार, विश्वविद्यालयका पदाधिकारी, स्थानीय तह र सम्पूर्ण नागरिक समाजले दलीय राजनीतिको सीमाभन्दा माथि उठेर यस विश्वविद्यालयलाई पूर्णक्षमतामा सञ्चालन गर्न आपसी सहकार्य र दबाब सिर्जना गर्नुपर्छ । विश्वविद्यालयका नाममा राजनीतिक खिचातानी गर्नु हुँदैन । हामी राजनीतिक कर्मीले पनि नेतृत्वबीच श्रेय लिने होडबाजी त्यागेर विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता र गतिशीलतालाई प्राथमिकतामा राख्नुपर्छ । विश्वविद्यालयलाई राजनीतिक घोषणापत्रको मुद्दामात्र बनाइनु हुँदैन । यसलाई मूर्तरूप दिन विश्वविद्यालयको ऐनलाई छिटोभन्दा छिटो पूर्णता दिई यसलाई राजनीतिक हस्तक्षेपमुक्त प्राज्ञिक संस्थाको रूपमा सञ्चालन गर्नुपर्छ ।
दलीय भागबण्डाका आधारमा नभई शैक्षिक योग्यता, प्रशासनिक दक्षता र इमानदारीका आधारमा भिजनरी नेतृत्व नियुक्तिको थिति बसाउनुपर्छ । विश्वविद्यालय कुनै एक पार्टी, व्यक्ति वा क्षेत्रको मात्र नभएर गरिबी र अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित रहेका लाखौं नागरिकको सपना हो । चुनावमा आ–आआफ््ना एजेण्डा होलान् तर स्वास्थ्य र शिक्षाका मद्दामा सबै दल एक ठाउँमा अनुपर्छ । साझा धारणा बनाएर हामी अगाडि बढ्नुपर्छ । म एक सचेत राजनीतिकर्मी हुँ तर म कहिले जस लिने राजनीति गर्न चाहिनँ । राजनीति गर्दा विजय, पराजय भइएला तर भोटका लागि कहिले पनि शिक्षा र स्वास्थ्यमा राजनीति गर्दै जनताको जीवनमाथि खेलवाड गर्नु हुँदैन । म आफैं पनि इमानदारीपूर्वक जनताका मुद्दा उठाउनेछु तर स्वार्थको राजनीति गर्ने छैन ।
अन्त्यमा
विश्वविद्यालय सुदूरपश्चिम प्रदेशका लागि मात्र नभई समग्र देशकै लागि स्वास्थ्य सेवा र उच्चस्तरीय चिकित्सा शिक्षाको क्षेत्रमा एक ऐतिहासिक र गौरवशाली उपलब्धि हो । दशकौंको लामो प्रतीक्षा, प्रशासनिक ढिलाइ र विभिन्न राजनीतिक खिचातानीका बाबजुद जनताको कडा दबाब र संघर्षमार्फत स्थापित यो संस्था यस क्षेत्रका बासिन्दाका लागि जीवनमरणको सवाल बनेको छ । हालै डा.गोविन्द केसीको सत्याग्रह र त्यसका क्रममा देखिएको स्थानीय जनभावनाको ध्रुवीकरणले विश्वविद्यालय सञ्चालनका सन्दर्भमा केही वैचारिक बहस सिर्जना गरे पनि यसले गेटा विश्वविद्यालयको महत्व र सञ्चालनको अपरिहार्यतालाई थप प्रष्ट्याएको छ ।
सरकार र सत्याग्रही पक्षबीच भएको सहमतिले यसलाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने मार्गप्रशस्त गरेको छ, जुन सुदूरपश्चिमवासीका लागि अत्यन्तै सकारात्मक पक्ष हो । यद्यपि, भौतिक पूर्वाधार तयार भइसकेको अवस्थामा पनि यसलाई धरातलमा उतार्ने मार्गमा अनेकौं जटिल चुनौती अझै विद्यमान छन् । समयमै योग्य र भिजनरी पदाधिकारीको नियुक्ति, अत्याधुनिक उपकरणको व्यवस्थापन, अस्पतालको आन्तरिक तयारी, ठूलो परिमाणमा निरन्तर बजेटको सुनिश्चिता तथा दुर्गम क्षेत्रमा दक्ष चिकित्सक र प्राध्यापकलाई आकर्षण गर्न प्रोत्साहनमूलक प्याकेजहरूको व्यवस्था गर्नु आजको मुख्य आवश्यकता हो ।







नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया
दियालो बङ्गलाबाट २४ लाख राजश्व
फेरिँदै लेखनाथ सडकखण्डको मुहार (तस्बिरहरू)
मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ