नेपाली कांग्रेसको ऐतिहासिक विरासत केवल एउटा राजनीतिक दलको दस्तावेज वा सांगठनिक ढाँचामा सीमित छैन । आधुनिक नेपालमा लोकतन्त्रको स्थापना, प्रजातान्त्रिक संघर्ष, नागरिक अधिकार प्राप्तिको लडाइँ र सामाजिक-आर्थिक रूपान्तरणको एउटा समानान्तर इतिहास हो । नेपाली कांग्रेसको ऐतिहासिक विरासत इतिहासका पानामा जतिसुकै स्वर्णिम र गौरवशाली किन नहोस्, इतिहासको ब्याज खाएर वर्तमानको असक्षमता, सत्ता–लिप्सालाई सधैं ढाकछोप गर्न सकिँदैन । बीपी, गणेशमान, कृष्णप्रसाद र सुवर्ण शमशेरले रगत र पसिनाले सिञ्चित गरेको वैचारिक धरातललाई आज सत्ताको सौदाबाजी, भ्रष्टाचारको संरक्षण र गुटगत भागबण्डामा लिलाम गरिएको छ ।
जबसम्म कांग्रेसले देउवा प्रवृत्तिको सत्ता-मोह र चाप्लुसीमुक्त भएर जनतासामु निष्ठापूर्वक प्रायश्चित गर्दैन तबसम्म आन्तरिक कलहका र सहमतिका नौटंकीले पुनर्जीवन दिन सक्दैन । नयाँ पुस्ता सुशासन, प्रविधि र स्पष्ट नीतिको खोजीमा वैकल्पिक शक्तितर्फ आकर्षित भइरहँदा, कांग्रेसले आफ्नै घरभित्रका सन्ततिलाई विश्वासमा लिनसकेको छैन । भाषणमा क्रान्ति र व्यवहारमा आत्मसमर्पण गर्ने परिपाटी छाडेर विचार, सुशासन र युवा नेतृत्वमा आमूल रूपान्तरण नहुने हो भने गौरवशाली पार्टी आफ्नै भुलहरूका कारण ऐतिहासिक बिसर्जनको ओरालो यात्राबाट जोगिन असम्भव छ ।
आन्तरिक द्वन्द्वलाई कौशलतापूर्वक व्यवस्थापन गरेर पार्टीलाई एकताबद्ध र विचार केन्द्रित बनाउनुको साटो गगनका कतिपय कदमले पार्टीभित्र थप द्वन्द्व, अविश्वास र ध्रुवीकरण उत्पादन गर्ने परिपाटीलाई प्रोत्साहन गरेको देखिन्छ । नेतृत्वमा द्वन्द्व व्यवस्थापनको गुण यदि छैन भने ऊ गुटको नेता बन्ला तर सफल नेतृत्व गर्न सक्दैन ।
बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता युगपुरुषले विचार, निष्ठा र त्यागको जुन धरातलमा कांग्रेसलाई उभ्याएका थिए, आज त्यो जग क्षतविक्षत भएको छ । जुन पार्टीले मुलुकका हरेक साना–ठूला राजनीतिक युगान्तकारी परिवर्तनको नेतृत्व दियो, आज त्यही पार्टी आफ्नै आन्तरिक शक्ति-संघर्ष, सिद्धान्तहीन वैचारिक शून्यताको दलदलमा भासिएको छ । आमनागरिक निष्ठाको राजनीति गर्दै आएका इमानदार कार्यकर्ताका माझ एउटा पेचिलो प्रश्न खडा भएको छ कि कांग्रेसभित्रको निरन्तरको आन्तरिक कलह पार्टीलाई विद्यमान कमजोरीबाट मुक्त गरी जनमुखी र शक्तिशाली बनाउने वैचारिक मन्थन हो सत्ता र शक्तिको आडमा व्यक्तिगत सम्पत्ति आर्जन गर्ने, राष्ट्रिय दायित्वबाट भाग्दै पोल्टाको खाजा खोसाखोस गर्ने दाउपेचमात्र हो ?
कांग्रेसको वर्तमान संकट र वैचारिक विचलनको मुख्य जड दशकौंदेखि पार्टीमा हाबी भएको देउवा प्रवृत्ति, भ्रष्टाचारको संस्कृति र संस्थागत गरेको सत्ता-लिप्सा हो । देउवा प्रवृत्तिले पार्टी, देशमा भित्र्याएको सत्ता–लिप्सा, बिचौलियावाद र वैचारिक बिसर्जन नै आज नेपाली कांग्रेसको विनाशको मुख्य कारक हो । शेरबहादुरले विचार र निष्ठालाई सत्ताको सौदाबाजीमा लिलाम गरेर, भ्रष्टाचारमा मौन बसेर र चाप्लुसीलाई नै योग्यता मान्ने कुसंस्कार हुर्काएर कांग्रेसले आफ्नो नैतिक धरातल पूर्णतः गुमाइसकेको छ । यही दिशाहीनता र असक्षमताले पुराना निष्ठावान् कांग्रेसीमा चरम निराशा छाएको छ भने नयाँ पुस्ता रास्वपाजस्ता उदीयमान शक्तितर्फ आकर्षित भइरहेका छन् ।
कांग्रेसलाई पुनर्जीवन दिने हो भने सर्वप्रथम देउवा र उनका अनुयायीहरूको पूर्ण अनुपस्थिति होइन, देउवा प्रवृत्तिको पूर्ण अन्त्य गरी विगतका असफलता जनतासमक्ष सार्वजनिक रूपमा प्रायश्चित्त गर्नैपर्छ । पार्टीलाई ‘प्राइमरी इलेक्सन’मार्फत गुटमुक्त बनाउँदै सुशासन, पारदर्शिता र २१औं शताब्दीको प्रविधिसँग जोडिएको आधुनिक प्रजातान्त्रिक समाजवादको बाटोमा उभ्याउनुपर्छ । नयाँशक्तिहरूसँग गाली–गलौज र आत्मसमर्पण होइन, ठोस नीति र डेलिभरीका आधारमा विचारको संग्र्राम छेड्न नसके कांग्रेस इतिहासको संग्रहालयमा सीमित हुने निश्चित छ ।
शेरबहादुर देउवा र उनले प्रतिनिधित्व गर्दै आएको गुटगत राजनीति, निर्णय प्रक्रियामा स्वेच्छाचारिता, ठूला-ठूला भ्रष्टाचार र सुशासनका काण्डहरूमा राजनीतिक ओत लाग्ने प्रवृत्तिले पार्टीलाई वैचारिक रूपमा पूर्णतः खोक्रो बनाएको छ । निष्ठा, विचार र जनसेवाको राजनीतिलाई विस्थापित गर्दै सत्ताप्राप्तिका लागि जुनसुकै राजनीतिक दलसँग जस्तोसुकै अप्राकृतिक गठबन्धन गर्न तयार हुने शेरबहादुर प्रवृत्तिले कांग्रेसको मौलिक पहिचान मेटिदिएको छ । सार्वजनिक वृत्तमा देउवा र उनको घेराले सत्ताको र्याल चुहाउँदै गर्दा पार्टीलाई व्यक्तिगत तथा पारिवारिक लाभको साधन बनाइराख्ने कि विगतका असफलता, वैचारिक विचलन र राजनीतिक बेथिति जनतासमक्ष प्रायश्चित्त गर्ने बारे नैतिक प्रश्न छ ।
अझै शेरबहादुर प्रवृत्ति सच्चिनभन्दा सक्किन किन उद्यत् हुन्छ ? अर्कोतर्फ, कांग्रेसभित्र रूपान्तरण, सुधार र नेतृत्व हस्तान्तरणको मुख्य ध्वजाबाहकका रूपमा अगाडि बढेका गगन थापा र उनको पुस्तामाथि निर्मम समीक्षा आवश्यक छ । नेतृत्वको तीव्र अभिलाषा राख्ने र आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने गगन थापाले जनसभाहरूमा प्रखर भाषण र ओजस्वी अभिव्यक्ति त दिए तर पार्टीभित्रको जटिल कूटनीति, गुटगत सन्तुलन मिलाउने क्षमता र बीपी कोइरालाले छाडेको वैचारिक विरासतलाई जोगाउने व्यावहारिक छनक दिन सकेका छैनन् ।
आन्तरिक द्वन्द्वलाई कौशलतापूर्वक व्यवस्थापन गरेर पार्टीलाई एकताबद्ध र विचार केन्द्रित बनाउनुको साटो गगनका कतिपय कदमले पार्टीभित्र थप द्वन्द्व, अविश्वास र ध्रुवीकरण उत्पादन गर्ने परिपाटीलाई प्रोत्साहन गरेको देखिन्छ । नेतृत्वमा द्वन्द्व व्यवस्थापनको गुण यदि छैन भने ऊ गुटको नेता बन्ला तर सफल नेतृत्व गर्न सक्दैन । गगन थापा पक्षले आफूलाई रूपान्तरणको मुख्य ध्वजाबाहक दाबी गरे पनि उनको शैली द्वन्द्व समाधान गर्ने परिपक्व राजनीतिज्ञको भन्दा आन्तरिक असन्तोषलाई भजाएर व्यक्तिगत महत्त्वाकांक्षा साट्ने स्टन्टबाजको जस्तो देखियो । पार्टीभित्रका अनुभवी पुस्ता, असन्तुष्ट गुट र वैचारिक धरातललाई समेटेर एकताबद्ध कांग्रेस बनाउने कूटनीतिक कौशल र धैर्य उनमा पूर्णतः अभाव देखियो ।
भाषणमा क्रान्ति र आक्रोश पोखेर सस्तो वाहवाही बटुल्ने तर व्यावहारिक राजनीतिमा भने असमझदारी बढाउँदै थप ध्रुवीकरण र अविश्वास सिर्जना गर्ने उनको अपरिपक्व रणनीतिले कांग्रेसलाई निकास होइन थप आन्तरिक संकट र वैचारिक दिशाहीनतातर्फ धकेलेको छ । कांग्रेसको आन्तरिक खिचाताची, असक्षमता र वैचारिक अन्यौलताबीच आज नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ, आक्रामक र सुशासन केन्द्रित राजनीतिक शक्तिहरूको अभूतपूर्व उदय भएको छ ।
परम्परागत दलहरूका विसंगति, भ्रष्टाचारबाट आजित भएका जनताका लागि रास्वपा एउटा वैकल्पिक केन्द्र बनेर उभिएको छ । यस्तो नवीन राजनीतिक परिवेशमा कांग्रेस सामु दुईटामात्र स्पष्ट बाटा बाँकी देखिन्छन् । नयाँ शक्तिहरूसँग सुशासन, प्रविधि, पारदर्शी शासन प्रणाली, नीतिका आधारमा विचार, सिद्धान्तमा जुधेर स्वस्थ प्रतिस्पर्धा गर्ने वा विगतको देउवाको जस्तै ढुलमुले नीतिको फेरि अनुसरण गरेर राजनीतिक रूपमा पूर्ण आत्मसमर्पण गर्ने ।
आगामी रणनीतिक सूत्र र निकासको बाटो के जस्ता अन्धकारमय परिदृश्यबाट नेपाली कांग्रेसलाई मुक्त गरी पुनः राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्ने हो भने पार्टीले तत्काल निम्नलिखित रणनीतिक र वैचारिक सूत्रहरू अपनाउनु अपरिहार्य छ । नेतृत्वको स्वेच्छिक अवकाश र प्रायश्चित्त सुदृढीकरणको पहिलो शर्त हो ।
कांग्रेसभित्रको आन्तरिक कलह र नेतृत्वको गैरजिम्मेवार शैलीका कारण प्रजातान्त्रिक विचारप्रति आस्था राख्ने पुराना र निष्ठावान् कांग्रेसीहरू दिनप्रतिदिन चरम निराशा र दिग्भ्रमित बन्दै गएका छन् । दुःखको कुरा, तिनै निष्ठावान् पुराना कांग्रेसीका नयाँ सन्तति अर्थात् युवा पुस्ता परम्परागत कांग्रेसको राजनीतिक औचित्यमाथि गम्भीर प्रश्न उठाउँदै रास्वपाभक्त वा नयाँ राजनीतिक लहरका समर्थक बन्ने अवस्था सिर्जना भएको छ । आफ्नै घरभित्रको नयाँ पुस्तालाई वैचारिक रूपमा आकर्षित र विश्वस्त पार्न नसक्ने अनि भ्रष्टाचारका मुद्दामा आफ्नै नेता जोगाउन तल्लीन रहने पार्टीले बाहिरका मतदाता र आमनागरिकलाई के भरोसा देला ? यदि सुधार र पुनर्गठनको नाममा पार्टीभित्रको आन्तरिक कलहलाई केवल चमत्कारिक नाटक वा सत्ता हत्याउने हतियारमा मात्र परिणत गरियो र सिद्धान्तविहीन सत्ता-खेल जारी राखियो भने कांग्रेसको निकास र भावी बाटो पूर्णरूपमा अन्धकारमय देखिन्छ ।
सिद्धान्तमा जुध्ने तागत हराउनु, सांगठनिक ढाँचा भताभुंग हुनु र आन्तरिक विवादमै अमूल्य समय खेर फाल्नुले कांग्रेसले नयाँ राजनीतिक शक्तिहरूलाई नै थप मलजल गरिरहेको छ । आगामी रणनीतिक सूत्र र निकासको बाटो के जस्ता अन्धकारमय परिदृश्यबाट नेपाली कांग्रेसलाई मुक्त गरी पुनः राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्ने हो भने पार्टीले तत्काल निम्नलिखित रणनीतिक र वैचारिक सूत्रहरू अपनाउनु अपरिहार्य छ । नेतृत्वको स्वेच्छिक अवकाश र प्रायश्चित्त सुदृढीकरणको पहिलो शर्त हो । अबको आवश्यकतालाई आत्मसात् गर्दै बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई २१औं शताब्दीको प्रविधि, हरित अर्थतन्त्र, डिजिटल सुशासन र रोजगारी सिर्जनासँग जोडेर नयाँ वैचारिक दस्तावेज निर्माण गरिनुपर्छ ।
नारामा मात्र होइन, व्यवहारमै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्नुपर्छ । महाधिवेशन र उम्मेदवार चयन प्रक्रियामा गुटगत भागबण्डालाई पूर्णतः प्रतिबन्धित गरी प्राइमरी चुनावको व्यवस्था गर्नुपर्छ । गगन थापालगायत युवा नेतृत्वले केवल भाषण र सडक-आक्रोशमा सीमित नभई पार्टीभित्रका अनुभवी पुरानानेताहरू र नयाँ कार्यकर्ताबीच समन्वय गर्ने परिपक्व कूटनीतिक कौशल देखाउनुपर्छ । असन्तोषलाई विद्रोहमा होइन, नीतिगत सुधारमा बदल्ने सांगठनिक क्षमता विकास गर्नुपर्छ । नयाँ शक्तिहरूसँग वैचारिक र नीतिगत प्रतिस्पर्धामा कसरी जाने यसको स्पस्ट खाका सार्वजिक हुनुपर्छ । रास्वपा जस्ता नयाँदलहरूसँग स्टन्ट वा गाली-गलौजको राजनीतिबाट होइन, ठोस नीति, डेलिभरी र राष्ट्रिय विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गरेर वैचारिक धरातलमा प्रतिस्पर्धा गर्नुपर्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर