मस्को । दक्षिणी रुसको एक व्यस्त समुद्री किनार क्षेत्रमा युक्रेनी ड्रोन खस्दा तीन जना बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको दाबी गरिएको छ। घटनामा अन्य ४० जना घाइते भएको जनाइएको छ ।
बीबीसीका अनुसार रुसको क्रास्नोदार क्षेत्रका गभर्नर वेनियामिन कोन्द्रात्येभले घाइतेमध्ये १७ जनाको अस्पतालमा उपचार भइरहेको बताएका छन् । उनले युक्रेनले सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन्। युक्रेनले भने यस घटनाबारे तत्काल कुनै प्रतिक्रिया नदिएको बीबीसीले उल्लेख गरेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा पर्यटकहरू समुद्री किनार र पानीमा रहेका बेला तीव्र गतिमा आएको ड्रोन भिरनजिक ठोक्किएर विस्फोट भएको देखिएको छ। काला सागर नजिकको आर्खिपो–ओसिपोभ्का गाउँ आसपास रहेको उक्त समुद्री किनार रुसी पर्यटकहरूको लोकप्रिय गन्तव्य मानिन्छ ।
प्रत्यक्षदर्शीहरूको भनाइ उद्धृत गर्दै बीबीसीले आक्रमणअघि कुनै खतराको साइरन नबजेको उल्लेख गरेको छ । ड्रोनको वास्तविक लक्ष्य के थियो भन्ने भने अझै स्पष्ट भइनसकेको जनाइएको छ ।
केही युक्रेनी सञ्चारमाध्यमहरूले इलेक्ट्रोनिक वारफेयर प्रणालीको प्रभावका कारण ड्रोन समुद्री किनार क्षेत्रमा खसेको दाबी गरेका छन् । यस्तै, स्थानीय रुसी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले विस्फोटअघि गोली चलेको आवाज सुनिएको उल्लेख गर्दै रुसी हवाई प्रतिरक्षा प्रणालीले ड्रोन खसाल्ने प्रयास गरेको हुन सक्ने अनुमान गरिएको जनाएको छ ।
बीबीसीका अनुसार पछिल्लो समय युक्रेनले रुसी भूभागभित्र रहेका ऊर्जा पूर्वाधार तथा सैन्य प्रयोजनका गोदामहरूमा दूरगामी ड्रोन आक्रमण तीव्र बनाउँदै आएको छ । अर्कोतर्फ, रुसले सन् २०२२ फेब्रुअरीदेखि सुरु गरेको पूर्णस्तरीय आक्रमणयता युक्रेनका आवासीय क्षेत्रमा निरन्तर क्षेप्यास्त्र प्रहार गर्दै आएको छ। गत शनिबार मात्रै किभमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको रिपोर्ट गरिएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर