नियोन । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आगामी विश्वकपको नाफामा निजी लगानीकर्ताहरूलाई हिस्सा बिक्री गर्ने आफ्नो असफल योजनालाई अगाडि बढाएपछि युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले फिफाविरुद्ध कानुनी कारबाहीको चेतावनी दिएको छ । यस प्रकरणसँग सम्बन्धित कुनै पनि प्रमाणहरू नष्ट नगर्न युइएफएले कूटनीतिक तथा कानुनी रूपमा सचेत गराएको हो । जोश कुश्नरको न्युयोर्कस्थित लगानी फर्मसहितका निजी लगानीकर्ताहरूबाट ४.२ अर्ब डलर उठाउने इन्फान्टिनोको गोप्य प्रस्ताव सञ्चारमाध्यममा बाहिरिएपछि शनिबार अचानक फिर्ता लिइएको थियो ।
यो विरोधको नेतृत्व गरेको युइएफएले गत बिहीबार आफ्ना ५५ वटा सदस्य संघहरूको आपत्कालीन बैठक डाकी उक्त प्रस्ताव सक्रिय रहेसम्म फिफाका सबै कार्यक्रम तथा प्रतियोगिताहरू बहिष्कार गर्ने सहमति जुटाएको थियो । यसैक्रममा, न्युयोर्कस्थित ‘डेचर्ट’ कानुनी फर्ममार्फत् युइएफएका वकिलहरूले फिफालाई एक पत्र पठाउँदै फिफाद्वारा प्रस्तावित ‘फिफा फरवार्ड इन्टरप्राइज’ योजना र त्यससँग सम्बन्धित सम्पूर्ण मामिलाहरूका आधारमा युइएफए सक्रिय रूपमा कानुनी कारबाही, मध्यस्थता वा नियामक उजुरीहरूको तयारी गरिरहेको जानकारी गराएका छन् ।
उक्त पत्रमा फिफाका १८ जना उच्च अधिकारीहरूको नाम उल्लेख गरिएको छ, जसले सम्भावित प्रमाणका रूपमा डेटा, कागजात र इलेक्ट्रोनिक सन्देशहरू सुरक्षित राख्नुपर्नेछ । उक्त सूचीमा अध्यक्ष इन्फान्टिनो, जुरिचस्थित मुख्य वित्त अधिकृत थोमस पेयर र फिफाका ग्लोबल फुटबल विकास प्रमुख तथा दिग्गज प्रशिक्षक आर्सेन वेंगरसमेत रहेका छन् ।
युइएफएको पत्रमा भनिएको छ, ‘यो सूचना प्राप्त गरेपछि वा कारबाहीको सम्भावना छ भन्ने कुरा पहिल्यै थाहा पाइसकेको मितिपछि कुनै पनि सान्दर्भिक सामग्रीहरूको विनाश, मेटाउने, हेरफेर गर्ने, लुकाउने वा हराउने कार्य प्रमाण नष्ट गरेको ठहरिनेछ ।’
स्विडेनी फुटबल महासंघले युइएफएले फिफा अध्यक्षका लागि एक वैकल्पिक उम्मेदवार मैदानमा उतार्ने तयारी गरिरहेको छ । आउँदो मार्च महिनामा फिफाको अर्को निर्वाचन तय गरिएको हो । शनिबार नै युइएफएले इन्फान्टिनोको एक दशक लामो कार्यकाल अन्त्य गर्नुपर्ने संकेत दिँदै उहाँले विश्व फुटबलको विश्वास गुमाइसकेकाले कुनै पनि विकल्प टेबल बाहिर नरहेको स्पष्ट पारेको थियो । त्यसको केही घण्टाअघि मात्रै इन्फान्टिनोले फिफाका २११ वटा सदस्य संघहरूलाई सेप्टेम्बरको मध्यसम्मको समयसीमा तोक्दै जनही २ करोड डलर एकमुष्ट बाँड्ने र फिफाको कमर्सियल तथा प्रतियोगिता सञ्चालन अधिकार निजी लगानीकर्तालाई सुम्पिने उक्त विवादास्पद प्रस्ताव फिर्ता लिएका लिनुभएको थियो ।
फिफाका अनुसार करिब २० अर्ब डलरको यो ‘एफएफई’ स्पिन-अफ योजना सन् २०३८ सम्मका लागि फिफाको पैसा कमाउने मुख्य अधिकार निजी हातमा जाने खालको थियो । यो योजना फिफाका कर्मचारीहरूलाई समेत थाहा नदिई अध्यक्ष इन्फान्टिनोको मात्र एकल निर्णयमा आएको फिफाका चिफ अपरेटिङ अफिसर केभिन लामोरले एजेन्सीलाई बताउनुभएको थियो ।
युरोपबाहेक उत्तर तथा मध्य अमेरिका र क्यारिबियन फुटबल निकाय तथा एसियाली फुटबल महासंघले पनि इन्फान्टिनोको यस योजनाको कडा शब्दमा विरोध गर्दै युइएफए र कोन्काकाफसँग ऐक्यबद्धता जनाएका छन् ।
यद्यपि, इन्फान्टिनोले आफ्नो परम्परागत आधार मानिने अफ्रिकी देशहरूबाट अझै पनि समर्थन पाइरहनुभएको छ भने दक्षिण अमेरिकाको ‘कोन्मेबोल’ले सन् २०३० को विश्वकपलाई ४८ टिमबाट बढाएर ६४ टिम पुर्याउने इन्फान्टिनोको योजनामा भर परेको छ । यसबाट दक्षिण अमेरिकी देशहरू (अर्जेन्टिना, उरुग्वे र पाराग्वे) लाई धेरै खेलहरू आयोजना गर्न पाउने अवसर मिल्नेछ ।
युइएफए वरिष्ठ स्रोतहरूका अनुसार, यदि इन्फान्टिनोले पदबाट राजीनामा दिनुभएन भने युरोपेली निकायहरूले फिफालाई पूर्ण असहयोग गर्ने धम्की दिएका छन् । उनीहरूले फिफाका बैठकहरूसमेत बहिष्कार गर्ने सम्भावना व्यक्त गरेका छन् ।
वेल्स, इंग्ल्याण्डको फुटबल एसोसिएसन, स्कटल्याण्ड, सर्बिया, स्विडेन र फिनल्याण्डजस्ता देशहरूले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् भने मोरोक्को, कतार, लेबनान, कुवेत र श्रीलंकाले भने उहाँको नेतृत्वलाई निरन्तरता दिन समर्थन गरेका छन् । मार्चमा हुने निर्वाचन जित्नका लागि इन्फान्टिनोलाई फिफाका २११ सदस्यमध्ये कम्तीमा १०६ मत आवश्यक पर्छ । तर, ३७ सदस्यीय फिफा काउन्सिलका १९ सदस्यले माग गरेमा आपत्कालीन बैठक बोलाएर इन्फान्टिनोलाई पद छाड्न बाध्य पार्न सक्ने सम्भावना पनि छ ।
भविष्यका सम्भावना र बढ्दो विभाजन
न्युयोर्क टाइम्सको रिपोर्टमार्फत् गत मंगलबार यो गोप्य निजी इक्विटी योजना बाहिर आएपछि इन्फान्टिनोको राजनीतिक भविष्यमा ठूलो धक्का लागेको छ । गत हप्तासम्म उहाँ आगामी मार्चको चुनावमा निर्विरोध निर्वाचित हुने निश्चितजस्तै देखिनुभएको थियो । तर, अहिले यो प्रकरणले विश्व फुटबललाई गहिरो रूपमा विभाजित गरिदिएको छ ।
युइएफएकी उपाध्यक्ष लौरा म्याकलिस्टरले यो प्रक्रियालाई भयानक कुशासन भन्दै आलोचना गर्नुभएको बिबिसीले जनाएको छ । यस्तो हुन नदिन जवाफदेहिता आवश्यक रहेकोमा जोड दिनुभएको छ । अब इन्फान्टिनो आफ्नो पद जोगाउन सफल हुनुहुन्छ वा युरोपको यो विद्रोहले नयाँ नेतृत्व जन्माउँछ, यो हेर्न बाँकी छ । आगामी नोभेम्बर १८ सम्म उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति रहेको छ । एजेन्सी






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर