काठमाडौं । नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा देशकै पहिलो ऐतिहासिक खेलकुद सामग्री प्रदर्शनी मंगलबारदेखि काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ । ‘बियन्ड द मेडल्स : प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री’ शीर्षकमा आयोजित तीनदिने प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गर्नुभएको हो । प्रदर्शनीमार्फत् नेपाली खेलकुदको इतिहास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता, विभिन्न समयमा प्राप्त पदक तथा खेलकुदका ऐतिहासिक क्षणसँग सम्बन्धित सामग्री सार्वजनिक रूपमा प्रदर्शन गरिएको छ ।
नेपाल ओलम्पिक संग्रहालयका संस्थापक स्वर्गीय क्षितिज अरुण श्रेष्ठले सन् १९९४ मा नेपाल तथा दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गर्नुभएको थियो । उहाँकै पहललाई निरन्तरता दिँदै संग्रहालयले पहिलो पटक यस्तो ऐतिहासिक प्रदर्शनी आयोजना गरेको हो ।
कार्यक्रममा नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष सोन्सी श्रेष्ठले आफ्ना बुबा स्वर्गीय क्षितिज अरुण श्रेष्ठ र आमा स्वर्गीय मञ्जु तुलाधरको स्मृतिमा प्रदर्शनी आयोजना गर्न पाउँदा गर्व लागेको बताउनुभयो । उहाँले बुबाले तीन दशकअघि देखेको नेपाल ओलम्पिक संग्रहालयलाई विस्तार र व्यवस्थित बनाउने सपना साकार पार्न आफू र आफ्नो टोली प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । ‘बुबाले ३३ वर्षअघि सुरु गर्नुभएको नेपाल ओलम्पिक संग्रहालयलाई अझ विस्तार र व्यवस्थित गर्ने हाम्रो योजना छ । यो हाम्रो खेलकुद इतिहासको अमूल्य सम्पत्ति हो । मेरो लक्ष्य बुबा-आमाको सपना पूरा गर्नु हो’, उहाँले भन्नुभयो ।
उद्घाटन समारोहमा शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले नेपाली खेलकुदको इतिहास संरक्षणमा संग्रहालयले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसको थप विकास र व्यवस्थापनका लागि सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ । यस अवधिमा खेलकुदसँग सम्बन्धित दुर्लभ सामग्री, ऐतिहासिक अभिलेख तथा पदक अवलोकनका लागि सर्वसाधारणलाई खुला गरिएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर