काठमाडौं । लोकतन्त्रमा सबैभन्दा शक्तिशाली संस्था संसद् हो । निर्वाचनपश्चात् सरकार आउँछन्, जान्छन् । तर, संसद् निरन्तर चलिरहने एउटा गरिमामय संस्था हो । त्यही संसद्ले देशको कानुन बनाउँछ, सरकारलाई जन्म दिन्छ, सरकारलाई प्रश्न गर्छ, सरकारलाई सच्याउँछ र आवश्यक परे सरकारलाई हटाउने हैसियतसमेत राख्छ । त्यसैले संसद्लाई केवल एउटा संवैधानिक निकायका रूपमा मात्र होइन, राष्ट्रको सामूहिक विवेक, राजनीतिक संस्कार र लोकतान्त्रिक चेतनाको केन्द्रका रूपमा हेरिन्छ । कानुन निर्माण गर्न, आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्न र सरकारलाई जवाफदेही बनाउन सांसदको भूमिका महत्त्वपूर्ण हुन्छ । फरक-फरक जिम्मेवारीमा सदनले आफ्नो भूमिका निर्वाह गरिरहेको हुन्छ । समाजले आफ्ना फरक-फरक विचारहरूलाई सभ्य रूपमा राख्ने, असहमतिलाई सम्मान गर्ने, तर्कबाट निष्कर्ष निकाल्ने र राष्ट्रको भविष्यबारे साझा बाटो तय गर्ने एक महत्त्वपूर्ण सार्वजनिक मञ्च पनि हो संसद् ।
सडकमा नाराले जित्ने कुरा संसद्मा तर्कले जित्नुपर्छ । नेपालको पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि पनि यस्तै एउटा आशा जन्मिएको थियो । नयाँ पुस्ताका अनुहारहरू संसद्मा पुगेका छन् । फरक-फरक पृष्ठभूमिबाट आएका युवा प्रतिनिधिहरूले संसदीय अभ्यासमा नयाँ ऊर्जा ल्याउने विश्वास धेरैको थियो र अझै छ । सांसदहरूले संसद्मा गर्ने गतिविधि, बोल्ने विषय र प्रस्तुतिलाई आम मतदाताले हेरिरहेका हुन्छन् । संसद्मा कसले के बोल्यो, कसरी बोल्यो, कस्तो विषय उठायो र कस्तो राजनीतिक संस्कार देखायो भन्ने कुरा सामाजिक सञ्जालदेखि घर–घरसम्म चासोको विषय बन्छ । संसद्मा मात्रै होइन, संसद्बाहिर पनि उनीहरूलाई आममान्छे र मतदाताले नियालिरहेका हुन्छन् ।
पछिल्लो समय केही सांसदहरूका गतिविधि, प्रस्तुति र बोलीचाली विवादमा तानिएका छन् । संसद्मा होस् कि निर्वाचन क्षेत्रमा मतदाता भेट्दा र उनीहरूसँग कुरा गर्दा, केही सांसद विवादमा तानिएका छन् । कोही निर्वाचन निर्वाचन क्षेत्रमा जाँदा विद्यालयका प्रधानाध्याकले स्वागत नगरेको भन्दै जंगिएर भाइरल भए भने कसैले क्षेत्राधिकारबाहिर पुगेर कर नउठाउन पालिकालाई निर्देशन दिनसम्म भ्याए । केही त अझै पुरानै धङधङी बोकेर सडकमा डोजर चलाउन निर्देशन दिँदै छन् । केही आफ्नै निर्वाचन क्षेत्रमा मतदातालाई थुन्दिने धाकधम्की दिएर चर्चामा रहे । अधिकांश घटनामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसद आफ्नै कार्यकर्ता र मतदाताको प्रश्नको घेरामा परेका छन् ।
मतदातालाई ‘जाक्दिने’ धम्कीदेखि क्षेत्राधिकारबाहिर गएर निर्देशनसम्म
गत साता रास्वपाबाट कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य केपी खनालले दिएको उत्तेजित अभिव्यक्तिले सामाजिक सञ्जाल ततायो । सांसद खनालले आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत लम्कीचुहा नगरपालिका-४, लम्कीचुहा अस्पतालनजिक भल्कामा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य धीरेन्द्र थापाको जिज्ञासामा झोंक्किएर अभिव्यक्ति दिनुभएको थियो । लम्कीचुहा अस्पतालको समस्याका सवालमा अस्पताल व्यवस्थापन समितिद्वारा आयोजित छलफल कार्यक्रममा सांसद खनाल उत्तेजित हुँदै औँला ठड्याएर ‘कल्ले भन्यो ? प्रमाण छ ? हाल्छु, जाक्छु समाएर अनि थाहा हुन्छ’, भन्दै प्रश्नकर्तालाई धम्कीपूर्ण जवाफ दिनुभएको थियो । छलफलका क्रममा लम्कीचुहा अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहनुभएका स्थानीय थापाले ‘तपाईं र नगर प्रमुखको मिलेमतोले अस्पतालको सेवा अवरुद्ध भएको जनगुनासो छ नि ?’ भन्ने जिज्ञासा राख्नुभएको थियो ।
निर्वाचित भएलगत्तै गत चैत पहिलो साता धादिङबाट निर्वाचित सांसद आशिका तामाङले क्षेत्राधिकार बाहिर गए त्रिशूली नदीबाट बालुवा तथा गिट्टी उत्खनन् भइरहेको भन्दै उक्त कार्य तत्काल रोक्न पालिकालाई निर्देशन दिनुभयो । त्यति मात्रै होइन, क्षेत्रभित्र पर्ने कुनै पनि राजमार्गमा अब उपरान्त ‘पटके कर’ वा यस्तै प्रकृतिका अवैध कर संकलन नगर्नसमेत निर्देशन दिनुभएको थियो । जसमा धादिङका स्थानीय तहहरूले संविधानमा भएको एकल अधिकार निर्वाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । धादिङका १३ वटै स्थानीय तहका प्रमुख/अध्यक्ष एवं उपप्रमुख/उपाध्यक्षहरूको बैठकले संघीयताको मर्मअनुसार तीनै तहका सरकारहरूबीच पारस्परिक सम्मान, विश्वास, सहकार्य र समन्वयलाई सुदृढ गर्दै अघि बढ्न ध्यानाकर्षण गराएको थियो ।
कोही स्वागत नपाएर ठुस्किए, कसैलाई मतदाताले नै दुर्व्यवहार गरे
गत वैशाख दोस्रो साता रास्वपा सांसद विश्वराज पोखरेल विद्यालयका प्राध्यापक स्वागत गर्न नआएको भन्दै विवादमा तानिनुभयो । ओखलढुंगाबाट निर्वाचित पूर्वएआइजीसमेत रहनुभएका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काउनुभएको थियो । आफ्नो स्वागतमा नआएको प्रति रुष्ट हुँदै प्रधानाध्यापकलाई पोखरेलले भन्नुभएको थियो, ‘म आउँदै छु भन्दा तपाईं निस्किनुपर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ ।’ आफूलाई माननीयका रूपमा अर्थ्याउँदै पोखरेलले ‘जिल्लाको एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने ?’ भन्दै थर्काउनुभएको थियो । सांसद पोखरेलको बोलीलाई लिएर पार्टीभित्र र बाहिरबाट उनको अभिव्यक्तिप्रति विरोध भएपछि उहाँले माफी नै माग्नु परेको थियो ।
स्याङ्जा क्षेत्र नम्बर १ बाट निर्वाचित रास्वपा सांसद धनञ्जय रेग्मीलाई स्थानीयले बाटोमै अवरोध गरे । ३ साउनमा बिरुवा गाउँपालिकामा निस्किनुभएका उहाँको गाडी ज्याग्दी करिडोरमा पर्ने स्याङ्दी खोला तर्न सकेन । गाडी वारि नै राखेर उहाँ मोटरसाइकलसमेत तर्ने काठेपुलतर्फ लम्किनुभयो । तर, स्याङ्दी खोलामा मोटरेबल पुलको योजना नपारेको भन्दै उहाँलाई अवरोध गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो ।
गत शनिबार उदयपुर क्षेत्र नम्बर १ बाट रास्वपा सांसद पारसमणि गेलालमाथि स्थानीयले आफूहरूको समस्या नबुझेको भन्दै अपमानजनक व्यवहार गरे । उहाँलाई स्थानीयले ‘चिट्ठामा परेको माननीय’, ‘चाउचाउमा परेको कुपनजस्तो माननीय’ भन्दै आक्रोश पोख्दै अपमान गरेका थिए । आफूहरूको समस्या नबुझेको भन्दै उनीहरूले ‘भ्युज’ र सस्तो लोकप्रियताका लागि मात्र राजनीति गरेको आरोप लगाएका थिए । गत बिहीबार रौतहट क्षेत्र नम्बर ४ का रास्वपा सांसद गणेश पौडेलमाथि दुर्व्यवहार नै भएको थियो । गढीमाई नगरपालिका–४ स्थित पर्सा गाउँमा ‘जनतासँग सांसद’ कार्यक्रममा सहभागी भएर फर्कने क्रममा कार्यस्थलमै पछाडिबाट मसी प्रहार गरिएको थियो ।
सेनालाई राजु पाण्डेको हप्कीदप्की
काठमाडौं क्षेत्र नम्बर ३ का रास्वपा सांसद राजुनाथ पाण्डेले सेनाको निगरानीमा रहेको गोकर्ण वनको पर्खालमा जबरजस्ती डोजर चलाएर विवादमा तानिनुभएको छ । आफैँ डोजर लिएर पुग्नुभएका पाण्डेले पर्खाल भत्काउने क्रममा आधिकारिक पत्र माग्ने नेपाली सेनाका अधिकृतलाई हप्कीदप्की गर्नुभएको हो । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीदेखि गोकर्ण मन्दिरसम्मको करिब २०० मिटर सडकअन्तर्गत नेपाली सेनाको निगरानीमा रहेको गोकर्ण वनको पर्खालमा हिजो डोजर चलाइएको हो । यो पर्खाल भत्काउने स्थानीयको मागअनुसार नगरपालिकाले सेनासँग आवश्यक समन्वय गरिरहेको थियो । चाँडै विधिसम्मत तरिकाले नगरपालिकाले भत्काउन लागेको थाहा पाएपछि जस लिनकै लागि पाण्डे डोजर लिएर पुगेका थिए । सांसद पाण्डे काठमाडौं महानगरपालिकाका पूर्वनगरप्रहरी प्रमुखसमेत हुन् । उहाँले सांसदको जिम्मेवारी र दायरा बिर्सेर नगरप्रहरीकै शैलीमा डोजर चलाउनुभएको हो । पर्खाल भत्काउन उहाँसँग कुनै पनि लिखित आदेश थएन । नेपाली सेनाका अधिकृतले लिखित आदेश मागेपछि लामै विवाद भएको हो । सेनाका अधिकृतले डोजर चलाउन वैधानिक पत्र चाहिने बताएपछि पाण्डेले भन्नुभएको छ, ‘कसको चिठी चाहियो ? कोरिडोरको बाटो खोल्न कसैलाई सोध्नुपर्दैन । मलाई थाहा छ मापदण्ड । चिठी आउँदै गर्छ, पर्खाल अहिले नै भत्किन्छ । यो नेपाल ट्रस्टको चेयरमेन को हो ? तपाईंलाई कुनै कन्फ्युजन भए सम्माननीय प्रधानमन्त्रीज्यूसँग सम्पर्क गर्नुहोला । मैले स्पष्ट (आदेश) लिएर आएको छु । हामी पर्खाल भत्काएर मात्र जाने हो ।’
नेपाली सेनाले वन्यजन्तुको संरक्षणको लागि गोकर्णदेखि दक्षिणढोकासम्म पर्खाल लगाई वनभित्र गण नै राखेर सुरक्षा दिइरहेको थियो । वनमा मृग, जरायोलगायत जनावर रहेका छन् । उक्त वनबाट काठदाउरा चोरी निकासी हुने गरेकोमा पर्खाल लगाएपछि त्यो बन्द भएको थियो । यो जग्गा भने नेपाल ट्रष्टको नाममा रहेको छ । बागमती करिडोरअन्तर्गत पर्ने सडक गोकर्ण पुलभन्दा माथि भौगोलिक रूपमा जटिल र साँघुरो थियो । करिडोर फराकिलो बनाउन सेनाको सुरक्षामा रहेको वन क्षेत्रको पर्खाल भत्काउनुपर्ने अनिवार्यता थियो । सडक विस्तार गरेपछि नयाँ पर्खाल लगाउन बजेट नभएको भन्दै सेनाले यसका लिग गोकर्णेश्वर नगरपालिकासँग अनुरोध गरेको थियो । सेनाका अधिकृतलाई हप्कीदप्की गरेको भिडियो भाइरल भएपछि सेनाले आपत्ति जनाएको छ । प्रधान सेनापति अशोकराज सिग्देलले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेट गर्नुभएको थियो । पाण्डेले गरेको हप्कीदप्कीको विषयलाई प्रधान सेनापतिले प्रधानमन्त्रीसमक्ष गम्भीर रूपमा उठाएका स्रोतको भनाइ छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर