एकैवाहं जगत्यत्र द्वितीया का ममापरा ?
केहीदिन पहिले एउटा कार्यक्रममा डा.भानु थपलियाले मलाई दुईवटा पुस्तक दिए । ‘भानुका भोगाइहरू...नाम भएको र वैज्ञानिक मानववाद’ नाम भएको समेत गरी दुईवटा । पूर्वमा मानववादको आरम्भ जनक, याज्ञवल्क्य, गौतम, सीता, गार्गीजस्ता दुधर्ष विद्वान् विदुषीबाट भएको देखिन्छ । संस्कृत वाङ्मयका वेद, उपनिषद्हरू ज्ञानविज्ञानका झरिला फिलुंगाजस्ता रहेका भेटिन्छन् । डा.भानु थपलिया एकोहोरिएर पूर्वका ज्ञानविज्ञानका कुरातिर भन्दा पौराणिक उडन्ते आख्यानलाई उदाहरणमा लिएर विज्ञाननामक प्रयोग विद्याको महत्तामा व्यामोहित भएर लागेको भेटेँ । मनका कौतुक मेटाउन आज सुसांख्य अगाडि बसेर औंला चलाउन थालेँ । मानववाद भनेको मूल चिन्तन हो ।
यो दृश्यमान भौतिक जगत्को एकमात्र भोक्ता, द्रष्टा, उपयोक्ता मानव हो । उससँग विना लगानी उपहारका रूपमा प्राप्त विशाल विश्व छ । मानवका अभावमा यो विश्वको प्राकृतिक अथवा खनिज अनेकौं उर्वर फाँट हेरिरहुँ लाग्ने नीलो आकाश, हेरेर कहिल्यै दाग नलाग्ने कसैको वैयक्तिक नबन्ने हिमालको के काम ? हस्तिस्नामिव क्रिया हुनेथियो । हो, यसलाई हेर्ने नजर, उपयोग गर्ने कुरामा मूलतः भौतिक नजर र आध्यात्मिक नजर गरी दुई मूल दृष्टि छन् । मानववादमा पनि नीति, करुणा, अनुशासन, उपकार, समभाव छन् । संसारका कुनै पनि धर्मदर्शनमा सबैलाई सुखी, स्वस्थ बनाउने मूल चाहना हुन्छ । मानववादका उपलब्धिलाई मानवतामा लगेर अहिले मानववाद तिरोहित भएको छ ।
म नै ब्रह्म हुँ । एक्लो छु धेरै बन्छु भनेर उद्घोष गर्ने सामर्थ्य भएको यो को होला ? एउटा प्याजका केस्रा च्यात्न थाल्छ, अन्त्यतः शून्यमा पुग्छ तर त्यो सबैले देख्छन् । अर्को गुलाबको फूलका थुँगामा छचल्किने सौन्दर्याधानतिर एकान्त चिन्तनमा बस्छ । अनेकौं कुरामा उसका चेतना लहराउँछन् तर देखाउने केही फेला पार्दैन र त्यही शून्यलाई ऊ ब्रह्म भन्छ ।
प्रजातान्त्रिक स्वतन्त्रता, समानता, विश्वभ्रातृताका लागि आजीवन संघर्ष गरेका व्यक्ति पनि आफ्नै उदर भरणपोषणमा परिकेन्द्रित भए भने तिनले मानववादी हुँ भनेर बँच्न पाउने कि नपाउने ? हिटलर, मुसोलिनी र नेपोलियन पनि मानववादी थिए । स्वात्मवादी थिए तर मानव समाजको विश्वइतिहासमा यी किन बद्नाम भए ? अति सर्वत्र वर्जयेत् यिनले अति गरे । पौरस्त्य जगत्का रावण, कंस, वेनजस्ता राजालाई मानववादको थुन्सेले छोपेर तिनका कर्तुत समाजका आँखाबाट लुकाइए त ? म मात्र हुँ अरू केही होइनन् भन्नुमात्र मानववाद होइन म र अरू पनि मजस्ता सबै समान छौं भन्नु चाहिँ मानववाद हो । मानववाद र मानवतावाद भौतिक र आध्यात्मिक दुवै शाखामा बाँडिन सक्छन् । मानव अनन्त आयामिक प्राणी हो भनेर बुझ्न नसक्ने दानवलाई देवीले भनेको मानववादी कुरो माथि संस्कृतमा मैले उद्धृत गरेको छु ।
हुन त काग एकै आँखले चिरकालसम्म देख्छ । अरू सबैले दुई आँखा पाएका छन् तिनले ती दुई आँखालाई कागले भन्दा विशेष कुन क्षेत्रमा उपयोग गरे भनेर आजसम्म हामीले कहिल्यै पनि सोचेका छैनौं । पूर्वमा तीन नास्तिक (भौतिक) तीन (आध्यात्मिक) दर्शन छन् । यी मानवका वैश्विक दृष्टि हुन् । एकले अगाडिको भागलाई नै केलायो, खन्यो, खोस्रियो, वल्टायो, पल्टायो र एउटा निष्कर्ष निकाल्यो । त्यसरी नै अगाडि बढ्दैछ । अर्काले यत्रो ईयत्ता पाई नसक्ने ब्रह्माण्डलाई खडा गर्ने, चलाउने तत्व कहाँ छ ? कसरी रहेको छ ? भनेर खोज्ने खोतल्ने कर्म गर्दा बहिर्दृष्टि र अन्तर्दृष्टिको समेत विकास गर्यो । दृश्यमानलाई सर्वस्व मान्ने पछि आयो । त्यसैले अहिले ऊ तन्नेरी छ, सबैलाई मनमोहक लाग्छ । यो पुस्तक यिनै विवरणमा विचरण गर्दछ ।
अहं ब्रह्मास्मि/एकोऽहं बहुस्याम
म नै ब्रह्म हुँ । एक्लो छु धेरै बन्छु भनेर उद्घोष गर्ने सामर्थ्य भएको यो को होला ? एउटा प्याजका केस्रा च्यात्न थाल्छ, अन्त्यतःशून्यमा पुग्छ तर त्यो सबैले देख्छन् । अर्को गुलाबको फूलका थुँगामा छचल्किने सौन्दर्याधानतिर एकान्त चिन्तनमा बस्छ । अनेकौं कुरामा उसका चेतना लहराउँछन् तर देखाउने केही फेला पार्दैन र त्यही शून्यलाई ऊ ब्रह्म भन्छ । प्याजका छरपस्ट भएका फोहोर देखेर एउटा नाक घोक्र्याउँछ र भन्छ यसमा त पत्रैपत्र रहेछन् ठोस केही रहेनछ । अर्को भन्छ ती पत्रपत्रको स्थापत्यमा छचल्किने सौन्दर्यबोध गर्न नसक्ने पाषाण हृदयी झगडा यहीँबाट आरम्भ भएको देखिन्छ । मानववादबाटै मानवताका छहरा छुट्न थाल्छन् तर एउटा भौतिक हुन्छ अर्को आध्यात्मिक । सानाठूला अनेकौं प्रकारका जीव जो दुईमा एक भएर वा नभइकन पनि जीवनधारण गर्न सक्थे ।
सम्भावनाले कतै केही कतै केही गरेको पनि देखिन्छ । सधैं सबै एकनास रहँदैन भन्नु पनि इषद्रूपमा आध्यात्मिक चिन्तनलाई आत्मसात गर्नु हो । एक कोसीय जीव (अमिबादेखि) सहस्र कोसीय जीव (डाइनासोर) भौतिक वातावरणको असामन्जस्यले भन्ला एउटा अर्को ईश्वरेच्छाले भन्ला । एउटाका नजरमा ईश्वरेच्छा अनुसार भयो भन्ने मान्नु सम्भव हुँदैन र ? जीवजगत्का सम्बन्धमा देखापर्ने दुई धारणा, दुबै वैज्ञानिक छैनन् र ? विकासवाद र सृष्टिवाद एकै दाम्लाका दुई टुप्पा होइनन् र ? एकातिर गाँठो अर्कातिर पस्यौटो । दुईमा दुई जोड्दा र दुईले दुईलाई गुन्दा परिणाम एकै आयो कसरी त ? हो, कुरो मान्नु र नमान्नुमा अड्कन्छ ।
माने देवता नमाने पत्थर ? पुराणको हवाला दिएर सूर्यग्रहण र चन्द्रग्रहणको उदाहरण पच्दैन भानुजीको (पृ.१०) लोकोक्तिलाई पुराण भन्न पाइन्छ र ? ठूला ग्रहमा तीव्र गति र बढी गुरुत्वाकर्षणमा आध्यात्म कहाँ फेल छ र विज्ञान त्यसभन्दा बढी कहाँनेर सफल छ ? अतः ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ नै सही लाग्दैन र ? भौतिक पदार्थको उपयोग र आध्यात्म चिन्तनको कुरो भनेको आगरा र गाग्राको जस्तै हुन्छ । खोर्सानी खानाले भएको पिरो एउटामा सीमित हुन्छ ।
त्यसैले त्यो अवैज्ञानिक र खोर्सानी कोइल्याँटामा डढाएर वरिपरिका सारालाई र्यालसिँगान पार्नु चाहिँ विज्ञान हो भनेर मान्न मिल्ला र ? आगामा सात रङको सम्पुटन देख्ने वैदिक मन्त्रद्रष्टा ऋषि वैज्ञानिक कि छवटामात्र फेला परे एउटा अझै फेला परेन भनेर निरन्तर अध्ययन र खोजमा लाग्ने नासाजस्ता संस्था अवैज्ञानिक भन्न मिल्छ र ? नहिज्ञानेनसदृशं पवित्रमिहविद्यते भन्नु चाहिं अवैज्ञानिक र ‘नलेज इज हाइली प्युरिफाइड थिंकस्’ भन्नु वैज्ञानिक हुँदैन । यी आ-आफ्ना भाषाका अभिव्यक्तिका माध्यम मात्र हुन् ।
प्रकृतिमा भएका रात र दिनका खगोल भूगोलका कुरामा प्रचीन पौरस्त्य विज्ञान र आधुनिक सर्वज्ञ मानिएको भौतिक विज्ञानका बीचमा के कति अन्तर छ ? मूल कुरामा भनेर खोज्ने कि आधा गाग्रो पानी छचल्किए झैँ सतहमा नै रमाएर बस्ने ? रोजाइ हाम्रो हो । जबसम्म उचित किसिमले शंका गरिँदैन सत्यमा पुग्ने बाटो पनि फेला पर्दैन ।
विश्वदृष्टि
यो भनेको मान्छेको विश्वलाई हेर्ने, नियाल्ने र जीवनजगत्का सारा गुजुल्टिएर लट्टा परेका समस्यलाई सुल्झाउने सीप, कला र दक्षता हो । यसैलाई अलिकति संकुचन गर्दा-विश्वदृष्टिकोण भनेको संसारका भौतिक वस्तु, जीव र तिनको आन्तरिक समस्या तथा अन्तर्सबन्ध र मानवजीवनका ठूला प्रश्नहरूका सम्बन्धमा मानिसले हेर्ने दृष्टिकोण हो । मानव शरीर नै त्रिआयामिक छ, शरीर भौतिक छ । आत्मतत्व सूक्ष्मातिसूक्ष्म आध्यात्मिक छ । लोभ, मोह, मद, मात्सर्य, अहंकारादि तन्मात्रा सूक्ष्म छन् तर ती पार्थीव हुन् । अनि विश्वदृष्टि निर्माण गर्दा नै भौतिक भनेर संकुचन गरिदिएपछि त्यो कसरी वैज्ञानिक हुन्छ ? बुझ्न सकिँदैन । हो, आजको विश्वमा ज्ञान र विज्ञानको पौंठाजोरी चलेको छ ।
हामी हिजोसम्म वेद, उपनिषद्का कुरा जान्नु त परैजाओस् गीता पढ्दा पनि अब यो जोगी हुन्छ भन्थ्यौं । आज ज्ञानको र त्यसलाई प्राप्त गर्ने उपायको विष्फोट भएको छ एकातिर भने अर्कातिर अति सुविधाभोगाइले अटिजमका सिकार हुनलागेका छन् हाम्रा बालबालिका । पढेका विद्वान् पनि एकलकाँटे बन्दै गएका छन् । हिजो ज्ञानले जुन काम गर्दथे ऋषिहरू त्यही काम आज (एआई)ले कृत्रिम बौद्धिक यन्त्रले सम्पादन गरेको देख्दा पनि हाम्रा प्राचीन कुरालाई उडन्ते काल्पनिक भन्ने महाबौद्धिक देखापर्न लागेका छन् । अनुसन्धाताले द्वारिका शहर फेला पारे, रामेश्वरमदेखि लंकासम्म गएको १२ फिट पानीमुनिको पुल फेला पारे तर पनि हामी कोलमा नारेको गोरुदृष्टिमा नै बस्छौं भने दोष शास्त्रकारको कि हाम्रो ?
प्रकृतिमा भएका रात र दिनका खगोल भूगोलका कुरामा प्रचीन पौरस्त्य विज्ञान र आधुनिक सर्वज्ञ मानिएको भौतिक विज्ञानका बीचमा के कति अन्तर छ ? मूल कुरामा भनेर खोज्ने कि आधा गाग्रो पानी छचल्किए झैँ सतहमा नै रमाएर बस्ने ? रोजाइ हाम्रो हो । जबसम्म उचित किसिमले शंका गरिँदैन सत्यमा पुग्ने बाटो पनि फेला पर्दैन । मान्छे नै हो जसले यत्रो गहिरो अथाह फैलावट भएको समुद्रको इयत्तालियो । ब्रह्माण्डमा अनन्तकोटि सौर्य परिवार छन् भनेर उद्घोष गर्यो—
अनन्तअव्यक्तमनन्तमव्ययं
विभुंप्रभुं भावितविश्वभावनम् ।
त्रैलोक्यविस्तारविचारकारकं
हरिंप्रपन्नोस्मिगतिंमहात्मनाम् ।।
योगीले समाधिमा बसेर यो स्वतः सञ्चालित शक्तिलाई मान्नु र यो विश्व मान्छेलाई विश्वविराट् प्रकृतिले विनापरिश्रम उपलब्ध गराएको छ । त्यसैले मान्छेले ढाँट, छल कपटपूर्ण कानुन बनाएर, विधि बनाएर सोझालाई ठगे भनेर विद्रोह गर्नु एकै कुरो होइन र ? त्यो अपरिमित शक्ति त माने नि दुबैले । अध्यात्मको पहिलो वांमुख मानिएको वेदले पनि मानवजुनी पाएर पनि त्यो नबुझ्नेलाई ‘तृषितो जाह्नवीतिरे कूपंवाञ्छति दुर्भगः’ भनेर उदाहरण दिएको छ । आधुनिक प्रयोगविज्ञान भनिएको विद्याका विद्वान् पनि त्यही नै भन्छन् । हिजो दुर्योधन पानीमा लुकेको नपत्याउनेले आज गोताखोर अनि वैज्ञानिक खोजकर्ताले १५० फिट मुनि गएर गरेका काम कसरी विश्वास गर्ने ? पुराण र किम्बदन्तीमा लोकमिथक, लोकआख्यान जस्ता कुरा रमाइलाका लागि राखिएका छन् ।
तिनलाई देखेर आध्यात्मिक दर्शन यस्तै हो भन्ने भुल नगरौं । ‘आत्मानंशततं रक्षेत्प्राणैरपिधनैरपि’ यो गलत छ ? शरीमाद्यं खलुधर्म साधनम् यो पनि उडन्ते हो ? वेद, उपनिषद्लगायत ज्ञानविज्ञानका कुरा सबै मानववादी छन् । ऋग्वेदको दशौं मण्डलको १२९औं नासदीय सूक्त यो दृश्यमान जगत् ब्ल्याकहोलमा गएको अर्को सृष्टि भइनसकेको शून्यावस्थाको वर्णन गर्दछ । आजका भौतिकशास्त्रीले त्यही हुन्छ कि भनेर अनुमान गरेका छन् तर ऋषिले त प्रत्यक्ष देखेझैँ गरी बताइदिए ।
एकं सद्विप्राबहुधावदन्ति
एकै सत्यलाई विज्ञहरू बहुल प्रकारले प्रतिपादन गर्छन् भने झैँ डा.भानु थपलियाले यस सानो पुस्तकमा विश्वका दर्शनको विकास, विश्वलाई हेर्ने अध्यात्म र भौतिक दृष्टि, विकासवादी चिन्तन र ईश्वरीय अभीप्सावादी चिन्तनको विशाल घेरो खडा गर्दै परिशिष्टमा आएर नेपालका प्रथममानववादी चिन्तक जयपृथ्वीबहादुर सिंहको विवरण संक्षिप्त रूपमा प्रस्तुत गरेर मानववादलाई स्पष्ट्याउने काम गरेका छन् । बाह्य संरचनाका दृष्टिले यो पुस्तक पाँच खण्डमा विभाजित रहेको देखिन्छ । अन्त्यमा परिशिष्ट राखिएको छ । डा.भानु थपलियाको यस पुस्तकको प्रकाशक शब्दयात्रा प्रकाशन, बनेपा रहेको छ । २०८३ सालमा प्रकाशित भएको यस पुस्तकको मूल्य ३०० रुपैयाँ रहेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर