काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा सीमित नराखी मुलुकको आर्थिक रूपान्तरणको सहयात्री तथा सहनिर्माताका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले नियामक भूमिकासँगै राष्ट्र बैंकले आर्थिक रूपान्तरणमा सक्रिय साझेदारको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको हो।
उहाँले छलफलमा उठेका विषयलाई कार्ययोजनामा रूपान्तरण गर्दै आवश्यक परे संयुक्त कार्यदल गठन गर्ने, नीतिगत समन्वयलाई संस्थागत गर्ने र निर्णय प्रक्रियालाई थप छरितो बनाउने बताउनुभयो।
“हामीसँग अहिले दुर्लभ अवसर छ। सुधारको राजनीतिक इच्छाशक्ति छ, आर्थिक स्थायित्वको आधार बनेको छ र निजी क्षेत्र अवसरका लागि तयार छ,” अर्थमन्त्री वाग्लेले भन्नुभयो, “अब राज्यका संस्थाहरूले पनि एउटै आत्मविश्वास, स्पष्टता र गतिका साथ अघि बढ्नुपर्छ।”
सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र एउटै दिशामा अघि बढ्न सके नेपालको आर्थिक रूपान्तरण कार्यान्वयनको चरणमा प्रवेश गर्ने उहाँको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले सरकारले घोषणा गरेका आर्थिक सुधारलाई सफल बनाउन राष्ट्र बैंकले आवश्यक नीतिगत पहलका विषयमा सुझाव दिन कार्यकारी निर्देशकहरूलाई आग्रह गर्नुभयो।
उहाँले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउने विषयलाई विशेष प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभयो। बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादन, उद्योग तथा रोजगारी सिर्जनामा कसरी रूपान्तरण गर्ने भन्ने विषयमा स्पष्ट रणनीति आवश्यक रहेको उहाँको भनाइ थियो।
यस्तै, पुँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध निर्माण, मौद्रिक तथा वित्तीय नीतिबीचको समन्वय प्रभावकारी बनाउने तथा डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणलाई सहज बनाउने विषयमा पनि उहाँले सुझाव माग्नुभयो।
अर्थमन्त्री वाग्लेले नियमनको उद्देश्य केवल नियन्त्रण गर्नु नभई उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनु हुनुपर्नेमा जोड दिनुभयो। नेपालको नियामक प्रणालीले नवप्रवर्तनलाई रोकिरहेको छ वा प्रोत्साहन गरिरहेको छ भन्नेबारे समीक्षा गर्ने बेला आएको उहाँले बताउनुभयो।
“हामी ‘यो सम्भव छैन’ भन्ने सोचबाट होइन, ‘यसलाई सम्भव बनाउन के गर्नुपर्छ’ भन्ने सोचबाट छलफल गरौँ,” उहाँले भन्नुभयो, “मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो।”
सरकार र नेपाल राष्ट्र बैंक आत्मविश्वासी भए बैंकिङ प्रणाली तथा निजी क्षेत्र पनि आत्मविश्वासी बन्ने र त्यसले आर्थिक वृद्धि हासिल गर्न सहज हुने उहाँको भनाइ थियो।
सरकारले आफ्नो जिम्मेवारी स्पष्ट रूपमा लिएको र आर्थिक सुधारको प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले आवश्यक कानुनी तथा संस्थागत सुधार र कार्यान्वयनलाई तीव्रता दिइरहेको बताउनुभयो।
“अब मौद्रिक पक्षबाट पनि त्यही गति, त्यही स्पष्टता र त्यही प्रतिबद्धता आवश्यक छ,” उहाँले भन्नुभयो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर