काठमाडौँ । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको मागमा अस्वाभाविक वृद्धि हुँदा उपभोक्ताको मागअनुसार आपूर्ति गर्न नसकिएको बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै बरालले पछिल्लो समय ग्यासको आयात केही बढे पनि अस्वाभाविक मागका कारण बजारमा आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनुभएको हो ।
उहाँका अनुसार एउटा सिलिन्डरले केही समय धान्ने अवस्था हुँदाहुँदै तत्काल अर्को सिलिन्डरका लागि नाम दर्ता गर्ने प्रवृत्तिले वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएका छन् । उहाँले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गर्नुभएको छ ।
निगमले भारतबाट हुने एलपी ग्यासको आपूर्ति बढाउन भारतीय आयल कर्पोरेसन (आईओसी)सँग दुई महिनाका लागि मासिक ६० हजार मेट्रिक टन ग्यास माग गरेको छ । यसअघि नेपालले मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास आयात गर्दै आएको थियो ।
तर, निगमको मागअनुसार तत्काल थप ग्यास उपलब्ध गराउन नसकिने जवाफ आईओसीबाट प्राप्त भएको बरालले जानकारी दिनुभएको छ ।
दशैँ–तिहारलाई लक्षित गरी ग्यास आयात बढाउने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले सरकारले पहल गरेर मासिक ५० देखि ५५ हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके चाडपर्वअघि उपभोक्ताका घरमा रहेका खाली सिलिन्डरसमेत भर्न सकिने बताउनुभएको छ ।
त्यसपछि बजारमा ग्यासको आपूर्ति अवस्था सामान्य हुने उहाँको विश्वास छ ।
बरालले बजारमा देखिएको ग्यास अभावको समस्या अबको दुई साताभित्र समाधान हुने विश्वास समेत व्यक्त गर्नुभएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर