काठमाडौँ । उपभोक्ता अधिकारकर्मीहरूले पछिल्लो एक महिनामा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै प्रभावकारी बजार अनुगमन गरी मूल्य नियन्त्रणमा हस्तक्षेप गर्न सरकारसँग आग्रह गरेका छन् ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै अधिकारकर्मीहरूले बजार अनुगमन प्रभावकारी हुन नसक्दा दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य बढेको बताएका हुन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले चामल, चिनी, अण्डा, मासु तथा खाने तेललगायत अत्यावश्यक वस्तुको मूल्य पछिल्लो एक महिनामा उल्लेख्य रूपमा बढेको बताउनुभयो ।
उहाँका अनुसार मन्सुली चामलको एक बोरा करिब रु चार सयले महँगिएको छ । सरकारले चिनीको खुद्रा मूल्य प्रतिकिलो रु एक सय तोके पनि बजारमा रु ११० देखि रु १२० सम्म बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो । अण्डाको मूल्य प्रतिक्रेस रु ६ सय पुगेको तथा खाने तेलको मूल्य प्रतिलिटर करिब रु ८० सम्म बढेको उहाँको भनाइ छ ।
अध्यक्ष थापाले अत्यावश्यक वस्तुको मूल्यवृद्धिबाट आम उपभोक्ता प्रत्यक्ष रूपमा प्रभावित भएको बताउँदै कृषि उपजको बजारमा बिचौलियाको प्रभावका कारण किसान र उपभोक्ता दुवै मारमा परेको उल्लेख गर्नुभयो ।
सरकारले बजार अनुगमनका लागि पर्याप्त जनशक्ति नभएको बताउने गरे पनि स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर अनुगमनलाई प्रभावकारी बनाउन सकिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “मन्सुली चामल एक बोरामा लगभग चार सय रुपैयाँ बढेको छ । चिनीको मूल्य सरकारले प्रतिकिलो एक सय रुपैयाँ तोकेको छ, तर बजारमा एक सय १० देखि एक सय २० रुपैयाँसम्म लिएको अवस्था छ ।”
उपभोक्ता हित संरक्षण मञ्च–नेपालका महासचिव विष्णुप्रसाद तिमल्सिनाले बजार अनुगमनलाई प्रभावकारी बनाउन उपभोक्ता हित संरक्षण विभागलाई पर्याप्त साधनस्रोत र जनशक्तिसहित सुदृढ बनाउनुपर्ने बताउनुभयो ।
विभागमा कर्मचारी तथा स्रोतसाधनको अभाव रहेको र कर्मचारीको कार्यशैलीमा समेत सुधार आवश्यक रहेको उहाँको भनाइ छ । उपभोक्ता अधिकार संरक्षणका लागि सरकारी संस्थाको क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
महासचिव तिमल्सिनाले उपभोक्ता अदालतको प्रभावकारिता बढाउनुपर्ने बताउँदै वस्तु तथा सेवासम्बन्धी विवादमा उपभोक्ताले सहज रूपमा न्याय पाउने वातावरण बनाउन सातै प्रदेशमा उपभोक्ता अदालत विस्तार गर्न माग गर्नुभयो । साथै, सरकारले समेत आवश्यक मुद्दा उपभोक्ता अदालतमा लैजाने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।
चाडपर्व नजिकिँदै गर्दा अत्यावश्यक वस्तुको मूल्यवृद्धि नियन्त्रण, नियमित बजार अनुगमन तथा उपभोक्ताको हित संरक्षणका लागि सरकारको सक्रिय हस्तक्षेप आवश्यक रहेको अधिकारकर्मीहरूले बताएका छन् ।
बैठकमा सहभागी सांसदहरूले समेत दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य नियन्त्रणमा सरकार गम्भीर भएर प्रभावकारी कदम चाल्नुपर्ने धारणा राख्नुभएको थियो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर