काठमाडौं । नेकपा (एमाले)का सांसद क्षितिज थेबेले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई प्रभावकारी अभिमुखीकरण दिएर रोजगार सम्झौताका विषयमा पूर्ण जानकारी गराएपछि मात्र विदेश पठाउनुपर्ने बताउनुभएको छ।
बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी छलफलमा बोल्दै उहाँले श्रमिकले रोजगार सम्झौता (एग्रिमेन्ट) समेत नपढी विदेश पुग्ने अवस्था रहेको भन्दै अभिमुखीकरण कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले श्रमिकलाई रोजगार सम्झौतामा उल्लेखित पारिश्रमिक, कामको प्रकृति, सेवा–सुविधा तथा अन्य आधारभूत विषयबारे स्पष्ट जानकारी गराएर मात्र वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो।
सांसद थेबेले भिजिट भिसामा रोजगारीका लागि विदेश गएर नेपाली श्रमिक अलपत्र पर्ने गरेको उल्लेख गर्दै त्यस्ता श्रमिकलाई कानुनी सुरक्षाको दायरामा ल्याउन आवश्यक प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो। उहाँका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका मुलुकमा भिजिट भिसामा पुगेका कतिपय नेपाली श्रमिक श्रम स्वीकृति र कानुनी सुरक्षाबिनै जोखिमपूर्ण अवस्थामा काम गरिरहेका छन्।
यूएईस्थित नेपाली नियोगमार्फत भिजिट भिसामा पुगेका नेपालीलाई श्रम स्वीकृति दिने प्रक्रिया सुरु भए पनि कार्यान्वयन हुन नसकेको भन्दै उहाँले त्यसलाई तत्काल अघि बढाउन आग्रह गर्नुभयो।
सांसद थेबेले श्रम स्वीकृति नवीकरण र सामाजिक सुरक्षा कोष (एसएसएफ)लाई एकीकृत गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो। एउटै प्रणालीबाट दुवै सेवा उपलब्ध गराउन सके श्रमिकले विभिन्न कार्यालय धाउनुपर्ने र अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य हुने उहाँको भनाइ थियो।
उहाँले सरकार–सरकार (जीटुजी) प्रणालीमार्फत व्यवस्थित रूपमा घरेलु श्रमिक विदेश पठाउने व्यवस्था गर्न सकिने सुझाव पनि दिनुभयो।
वैदेशिक रोजगारीमा नेपाली श्रमिकको मृत्युको संख्या बढिरहेको उल्लेख गर्दै सांसद थेबेले अत्यधिक मदिरा सेवन, डिहाइड्रेसन, अत्यधिक गर्मीमा काम, मिर्गौलासम्बन्धी समस्या तथा कार्डियाक अरेस्टलगायत कारणले मृत्यु हुने गरेको बताउनुभयो। विदेशमा रहेका नेपाली श्रमिकको प्रभावकारी ट्रयाकिङ प्रणाली विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धान्न महत्वपूर्ण भूमिका खेले पनि श्रमिकको सीप विकास, सुरक्षा र कल्याणमा राज्यले पर्याप्त लगानी गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो।
सांसद थेबेले अबदेखि सीपबिनाका श्रमिक विदेश पठाउने अभ्यास अन्त्य गर्दै श्रमिकको सीप विकास, सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गर्नुभयो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर