गुल्मी । गुल्मीको तम्घासस्थित रेसुङ्गा माध्यमिक विद्यालयले विद्यार्थीलाई संघीय संसद्को झल्को दिने गरी नमुना संसद् अभ्यास गराएको छ। विद्यालय तहबाटै लोकतान्त्रिक संस्कार, संसदीय प्रक्रिया तथा नेतृत्व विकासको व्यवहारिक अभ्यास गराउने उद्देश्यले विद्यालयले पहिलोपटक ‘रेसुङ्गा नमुना संघीय संसद्’ अभ्यास आयोजना गरेको हो।
नेपाल प्रगतिशील युवा सञ्जालको सहयोगमा आयोजित अभ्यास राष्ट्रपति, सभामुख, प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथग्रहणबाट सुरु गरिएको थियो। त्यसपछि सभामुखको अध्यक्षतामा संसद् सञ्चालन गर्दै प्रश्नोत्तर, शून्य समय, विशेष समय, नियमापत्ति, ध्यानाकर्षण प्रस्ताव तथा सरकारको जवाफलगायतका संसदीय प्रक्रियालाई वास्तविक संसद्कै शैलीमा अभ्यास गराइएको विद्यालयका प्रधानाध्यापक भागीरथ भण्डारीले जानकारी दिनुभयो।
कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थी राष्ट्रपति, सभामुख, प्रधानमन्त्री, मन्त्री, सांसद, मर्यादापालक, महासचिवलगायत विभिन्न भूमिकामा सहभागी भएका थिए। राष्ट्रपतिको भूमिकामा मोहन बुढामगर र प्रधानमन्त्रीको भूमिकामा सुस्मिता पाण्डेले प्रभावकारी प्रस्तुति दिनुभएको थियो।
नमुना संसद्मा विद्यार्थी सांसदहरूले समसामयिक राष्ट्रिय तथा स्थानीय विषयलाई प्राथमिकताका साथ उठाएका थिए। किसानले समयमै मल नपाएको समस्या, भारतबाट मल ल्याउँदा नेपाली किसानले भोग्नुपरेका कठिनाइ, देवानगञ्ज र कप्तानगञ्जका घटनामा सुरक्षा संयन्त्रको भूमिका, सडकको दुरवस्था, पहिरो नियन्त्रण, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सद्भाव तथा पर्वतारोहणका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत र आरोहण सुरक्षाका विषयमा विद्यार्थीले धारणा राखेका थिए।
विभिन्न जिल्लाको प्रतिनिधित्व गरेका विद्यार्थी सांसदहरूले आ–आफ्नो क्षेत्रका समस्या संसद्मा उठाउँदै समाधानका सम्भावित उपायसमेत प्रस्तुत गरेका थिए। प्रधानमन्त्रीको भूमिकामा रहनुभएकी सुस्मिता पाण्डेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो। अभ्यासका क्रममा नियमापत्ति, ध्यानाकर्षण प्रस्ताव तथा सभामुखको भूमिका पनि प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो।
उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीलाई मूल्याङ्कन समितिको सिफारिसका आधारमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। उत्कृष्ट प्रधानन्यायाधीशका रूपमा निर्जला खनाल, उत्कृष्ट राष्ट्रपतिका रूपमा मोहन बुढामगर, उत्कृष्ट प्रधानमन्त्रीका रूपमा सुस्मिता पाण्डे, उत्कृष्ट महासचिवका रूपमा प्रवेश गौतम, उत्कृष्ट प्रमुख प्रतिपक्ष नेताका रूपमा अनिशा खत्री, प्रमुख सचेतकका रूपमा रिया खत्री तथा सचेतकका रूपमा कृतिका खत्री र निर्जला थापालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
विभिन्न मन्त्रीको भूमिका निर्वाह गर्ने कोशजंग कुँवर, सुनिता कार्की, सुरज जिसी, पवन अर्याल, महेन्द्र सेन ओली, प्रशान्त कुँवर र सुप्रिया बस्नेत तथा ज्येष्ठ सदस्य प्रज्वल भण्डारीलाई पनि सम्मान गरिएको थियो। प्रशिक्षक इशाफिल गद्दी, अन्जु अर्याल र टोपजंग बुढाथोकीलाई विशेष सम्मान गरिएको थियो।
त्यसैगरी, कुशल वक्ताका रूपमा रिहाना भण्डारी, उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा कृतिका खत्री, रचनात्मक प्रतिपक्षका रूपमा कृतिका पन्थी, उत्कृष्ट नेतृत्वकर्ताका रूपमा सुस्मिता पाण्डे तथा कुशल सांसदका रूपमा उषा महत पुरस्कृत हुनुभएको निर्णायक समितिका सदस्य प्रदीप पाण्डेले जानकारी दिनुभयो। मर्यादापालक तथा सहभागी विद्यार्थी सांसदलाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
प्रधानाध्यापक भण्डारीले सामाजिक विषयको व्यवहारिक अध्ययन तथा लोकतान्त्रिक अभ्यासका लागि नमुना संसद् प्रभावकारी माध्यम भएको बताउनुभयो। यस्ता अभ्यासले विद्यार्थीमा नेतृत्व क्षमता, तार्किक सोच, सार्वजनिक वक्तृत्वकला, लोकतान्त्रिक संस्कार तथा जिम्मेवारीबोध विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ छ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले नेपालको लोकतान्त्रिक संसदीय शासन प्रणाली, संघीय संरचना तथा शक्ति पृथकीकरणको सिद्धान्तबारे विद्यार्थीलाई व्यवहारिक रूपमा जानकारी गराउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।
उहाँले लोकतान्त्रिक व्यवस्था लामो त्याग, संघर्ष र बलिदानबाट स्थापित भएको स्मरण गर्दै संविधानको मूल मर्म, संघीयता, समावेशिता र धर्मनिरपेक्षताको सम्मान गर्दै नयाँ पुस्तालाई लोकतान्त्रिक मूल्य र मान्यताबारे व्यवहारिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो।
किताबमा मात्र पढेर भन्दा व्यवहारमा अभ्यास गरेर सिकाइ प्रभावकारी हुने उल्लेख गर्दै नगरप्रमुख पन्थीले नमुना संसद् अभ्यासले नयाँ सिकाइ संस्कृतिको सुरुवात गरेको बताउनुभयो।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयको कानुन संकायमा अध्ययनरत विद्यार्थी प्रशिक्षकका रूपमा सहभागी भएका थिए। उनीहरूले संसदीय प्रक्रिया, विधेयक निर्माण, संसदीय मर्यादा तथा लोकतान्त्रिक अभ्यासबारे विद्यार्थीलाई व्यवहारिक सहजीकरण गरेका थिए।
विद्यालयले पहिलोपटक आयोजना गरेको नमुना संघीय संसद् अभ्यासले विद्यार्थीमा नेतृत्व विकास, समसामयिक विषयको विश्लेषण, लोकतान्त्रिक संस्कार, संसदीय अभ्यास तथा सार्वजनिक अभिव्यक्ति क्षमताको विकासमा योगदान पुर्याएको विद्यालयले जनाएको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर