भक्तपुर। आफ्नै भवन र पर्याप्त जमिनको अभाव तथा जनशक्तिमाथिको चापका बाबजुद शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा २०२ जनाको सफल मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको छ। केन्द्र स्थापनापछि एकै आर्थिक वर्षमा गरिएको यो सबैभन्दा धेरै मिर्गौला प्रत्यारोपण हो।
केन्द्रका सूचना अधिकारी हरिहर पोखरेलका अनुसार उक्त उपलब्धिले नेपालको अंग प्रत्यारोपण सेवाको क्षमता र विश्वसनीयतालाई थप बलियो बनाएको छ। नेपालमा हुने कुल मिर्गौला प्रत्यारोपणमध्ये करिब दुई तिहाइ सेवा हाल यही केन्द्रबाट प्रदान हुँदै आएको उहाँले बताउनुभयो।
विशेषज्ञ जनशक्ति, पूर्वाधार र अंगदाताको अभावजस्ता चुनौतीबीच सरकारी स्तरबाट सञ्चालित केन्द्रले एक वर्षमा २०२ मिर्गौला प्रत्यारोपण सम्पन्न गर्नु स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि भएको केन्द्रको भनाइ छ।
केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले उपलब्धि कुनै एक व्यक्तिको नभई सम्पूर्ण चिकित्सक, नर्सिङ, प्राविधिक तथा सहयोगी कर्मचारीको सामूहिक प्रयासको परिणाम भएको बताउनुभयो।
उहाँले पूर्वाधार र स्रोत–साधनको सीमितताबीच पनि सेवाको गुणस्तरमा सम्झौता नगरिएको उल्लेख गर्दै २०२ सफल प्रत्यारोपणले नेपालमै विश्वसनीय अंग प्रत्यारोपण सेवा सम्भव रहेको सन्देश दिएको बताउनुभयो।
केन्द्रका अनुसार मिर्गौला प्रत्यारोपण कार्यक्रमको नेतृत्व डा. दीपेश श्रेष्ठको टोलीले गरेको छ। नेफ्रोलोजी विभागको नेतृत्व डा. लुसन सिंह, एनेस्थेसिया तथा क्रिटिकल केयरको नेतृत्व डा. आरती राई, रेडियोलोजी विभागको नेतृत्व डा. कृष्ण बुढाथोकी तथा प्रत्यारोपण संयोजनको जिम्मेवारी तारा साँधको टोलीले सम्हाल्दै आएको छ।
नर्सिङतर्फ सनिषा कार्कीको नेतृत्वमा रहेको टोलीसँगै प्याथोलोजी प्रयोगशाला र अस्पताल फार्मेसीले पनि प्रत्यारोपण सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
नेपालमा अंग प्रत्यारोपण सेवा विस्तारको इतिहासमा केन्द्रले विभिन्न महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। केन्द्रले नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्नुका साथै मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला तथा कलेजो प्रत्यारोपणको सुरुआत गरेको थियो। अंगदानसम्बन्धी जनचेतना अभिवृद्धि तथा कानुनी सुधारका विषयमा पनि केन्द्रले सरकारसँग सहकार्य गर्दै आएको छ।
स्थापनाको १४ वर्षमा केन्द्रले ९९ प्रतिशतभन्दा बढी सफलता दर कायम गर्दै हालसम्म एक हजार ६७० जनाको मिर्गौला र ३७ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।
प्रत्यारोपण सेवासँगै केन्द्रले डायलाइसिस, नेफ्रोलोजी, प्रत्यारोपणपछिको दीर्घकालीन उपचार तथा अनुसन्धानका क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गर्दै आएको छ।
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार प्रत्यारोपणको संख्या बढ्नु उपचार सेवाको पहुँच विस्तार भएको सकारात्मक संकेत भए पनि अंगदानको दर अझै अपेक्षाकृत न्यून छ। मस्तिष्क मृत्युपछि अंगदानलाई सामाजिक रूपमा स्वीकार्य बनाउन जनचेतना अभिवृद्धि तथा कानुनी प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता उनीहरूले औँल्याएका छन्।
केन्द्रले आगामी दिनमा प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गर्नुका साथै अंगदानसम्बन्धी सचेतना अभियानलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।
केन्द्रका अनुसार पछिल्लो उपलब्धि संख्यात्मक सफलता मात्र नभई जटिल स्वास्थ्य उपचार स्वदेशमै विस्तार हुँदै गएको प्रमाण पनि हो। पूर्वाधार विस्तार, दक्ष जनशक्ति व्यवस्थापन तथा अत्याधुनिक उपकरणमा थप लगानी हुन सके आगामी वर्षमा अंग प्रत्यारोपण सेवाले अझ ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर