काठमाडौं । प्रदेश सरकार गठनका विषयमा नेकपा (एमाले)मा चर्को विवाद देखिएको छ । कम्युनिष्ट पार्टी (नेकपा)सँग सत्ता सहकार्य गर्ने नयाँ सहमति बनेसँगै एमालेमा आन्तरिक विवाद चुलिएको हो । यसअघि प्रदेशमा कायम नेपाली कांग्रेस-एमालेको समीकरण भत्किएसँगै नेकपासँग सत्ता सहकार्य गर्ने सहमति बनेको हो । तर, आफ्नो भागमा परेका प्रदेशमा सरकार बनाउन एमालेलाई सकस परेको छ । एमालेको भागमा परेकामध्ये बागमती प्रदेशमा संसदीय गणित र मुख्यमन्त्री बन्ने व्यक्तिका कारण विवाद भएको हो । यसैगरी, कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले सहजै पद छाड्न नमानेपछि विवाद भएको हो ।
एमाले बागमती प्रदेश संसदीय दलका नेताबाट राजीनामा गर्न दबाब दिएपछि नेता जगन्नाथ थपलिया सोमबार राति अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बोल्दाबोल्दै ढलेको विवरणहरू बाहिर आए । सोमबार साँझ ७ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बोलाइएका थपलियालाई मध्यरातसम्म राजीनामा गर्न दबाब दिइएको थियो । अध्यक्ष ओलीसहित प्रदेश सांसदहरू थपलियामाथि खनिएपछि उहाँ बोल्दाबोल्दै ढल्नुभएको थियो । त्यसपछि थपलियालाई भक्तपुरको मध्यपुर ठिमी अस्पताल लगिएको थियो । पछि उहाँलाई वीर अस्पतालमा रिफर गरिएको थियो । अहिले थपलियाको वीर अस्पतालमा उपचार भइरहेको छ ।
ओलीले थपलियाले मुख्यमन्त्री चलाउन सक्दैन भनेपछि विवाद बढेको थियो । छलफलमा १७ जना सांसद सहभागी थिए । गत शुक्रबार ओलीले थपलियालाई मुख्यमन्त्री बनाउने वचन दिनुभएको थियो । किरण थापामगर सहितको छलफल राखेर ओलीले भनेपछि थपलिया मुख्यमन्त्री बन्नेमा ढुक्क बन्नुभएको थियो । तर, अचानक प्रदेश सांसदहरूले थपलियाको योग्यतामाथि प्रश्न उठाएपछि गुण्डुमा तनाव भएको थियो ।
यसैगरी, कोशीमा मुख्यमन्त्री कार्कीले सहजै पद छोड्न नमानेपछि चर्को विवाद थपिएको छ । अध्यक्ष ओलीले कार्कीलाई हटाएर अर्को मुख्यमन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ । तर, कार्कीले नमानेपछि विवाद बढेको हो ।
राप्रपा बागमती सरकारमा सामेल नहुने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कुनै पनि प्रदेश सरकारमा सामेल नहुने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हाल प्रदेशहरूमा देखिएको सत्ता उलटफेरमा राप्रपा सामेल नहुने निर्णय गरेको हो । प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा त्यसको जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गर्ने निर्णय पनि कार्यसम्पादन समितिले गरेको छ । ‘वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल छैन र लालायित पनि छैन’, राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रदेश सरकार गठन र समीकरणमा भइरहेका गतिविधिहरूलाई नजिकबाट नियाल्दै उपयुक्त समयमा उचित निर्णय लिने नीति लिएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभयो । लिङ्देनले राप्रपा हालसम्म प्रदेश सरकार निर्माणका सत्ताकेन्द्रित गतिविधिमा सामेल नरहेको स्पष्ट पार्नुभयो । उहाँले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको सत्ता समीकरणमा पार्टीको तत्कालै कुनै संलग्नता नभए पनि परिस्थिति फेरबदल भएमा पार्टीले आफ्नो भूमिका तय गर्ने बताउनुभयो । ‘प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिई उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ । पार्टीको निर्देशनबिना सत्ताकेन्द्रित कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरूलाई बैठक निर्देश गर्दछ ।’
बैठकले महाधिवेशनका लागि अध्यक्ष लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति, उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सभा, जुलुस व्यवस्थापन समिति, उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति, उपाध्यक्ष हेमजङ् गुरुङको संयोजकत्वमा भोजन व्यवस्थापन समिति, महामन्त्री भुवन पाठकको संयोजकत्वमा समारोह व्यवस्थापन समिति, महामन्त्री राजेन्द्र गुरुङको संयोजकत्वमा जिल्ला समन्वय तथा सम्पर्क समिति, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक समिति, गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन समिति, कार्यसम्पादन समिति सदस्य डा. विष्णु भण्डारीको संयोजकत्वमा बौद्धिक सम्पर्क तथा समन्वय समिति, प्रवक्ता मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति, केन्द्रीय सदस्य दीपक रञ्जितको संयोजकत्वमा शान्ति सुरक्षा तथा व्यवस्थापन समिति, केन्द्रीय सदस्य ई. सजिना कार्कीको संयोजकत्वमा स्वास्थ्य समिति, केन्द्रीय सदस्य ध्रुव विक्रम मल्लको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति र काठमाडौं, ललितपुर, भक्तपुर जिल्लालाई स्वागतद्वार व्यवस्थापन समितिको जिम्मेवारी दिइएको जनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर