चितवन । झमझम पानी परिरहेको छ। कसैले शरीरमा प्लास्टिक बेरेका छन्, त कसैले बोरा ओढेर पानीबाट जोगिने प्रयास गरिरहेका छन्। साथमा छन् पोकापन्तुरा। बच्चादेखि वृद्धसम्मका सहभागी छन्।
सर्लाहीको हरिवनबाट ‘नागरिक बचाउ महाअभियान’अन्तर्गत पैदल यात्रा सुरु गरेका लघुवित्त तथा मिटरब्याजपीडित १०औँ दिनमा चितवन आइपुगेका छन्। उनीहरूको गन्तव्य संघीय राजधानी काठमाडौँ हो भने माग लघुवित्तको ऋण तथा मिटरब्याजको समस्याबाट मुक्ति र न्याय पाउनु रहेको छ।
१० दिनदेखि निरन्तर हिँडिरहेका कतिपयका खुट्टा सुन्निएका छन्। कतिपयका पैतालामा घाउ लागेर रगत जमेको छ। शरीरको पीडाभन्दा ऋणको बोझले मनमा दिएको पीडा गहिरो रहेको उनीहरू बताउँछन्।
पैदल यात्रामा सहभागी बाराकी जीरामतीले आफूले एक लाख रुपैयाँ ऋण लिएको तर ब्याजसहित उक्त रकम बढेर चार लाख रुपैयाँ पुगेको बताइन्।
“१० दिनदेखि सडकमा छौँ। सरकारले हाम्रो दुःख बुझिदिए हुन्थ्यो,” उनले भनिन्, “ऋण मिनाहा गरिदिए हामी बाँच्न सक्ने थियौँ।”
बाराकै परमशीला देवीको समस्या पनि उस्तै छ। उनले ८० हजार र एक लाख रुपैयाँ ऋण लिएकोमा बैंकले त्यसलाई बढाएर तीन लाख रुपैयाँ पुर्याएको बताइन्। कोरोना महामारीका कारण काम गर्न नपाएपछि किस्ता तिर्न नसकेको र बैंकले कालोसूचीमा राखेर मानसिक तनाव दिएको उनको गुनासो छ।
“हिँड्दाहिँड्दै जिउ दुखेर ज्वरोसमेत आएको छ। तर हाम्रो समस्या सुन्ने कसले?” उनले प्रश्न गरिन्।
करिब ३०० देखि ३५० जनाको सहभागिता रहेको पैदल यात्रामा महोत्तरी पिपरा गाउँका गोविन्द महतो पनि छन्। उनका अनुसार १०/१५ जनाको समूह बनाएर बैंकले ऋण उपलब्ध गराए पनि ब्याजमाथि ब्याज थपिँदै जाँदा ऋण तिर्न कठिन भएको छ। महिनामा १२ हजार ५०० रुपैयाँसम्म ब्याज बुझाउँदा पनि ऋण नसकिएको र कालोसूचीमा राखेर दुःख दिएको उनको भनाइ छ।
जनकपुरकी परमिला देवी दनुवारको समस्या झन् गम्भीर छ। उनले महाजनलाई रकम बुझाइसकेको दाबी गर्दै पनि जेल हाल्ने धम्की खेप्नुपरेको बताइन्।
“पैसा त दिइसकेँ, तर महाजनले जेल हालिदिन्छु भन्छ,” उनले आँसु झार्दै भनिन्।
महाअभियानका केन्द्रीय सदस्य राजेन्द्र परियारका अनुसार पैदल यात्रामा सहभागी कतिपय खाली खुट्टा हिँडिरहेका छन् भने कतिपयका चप्पल फाटिसकेका छन्। बर्खाको समयमा धर्मशाला र मन्दिरमा बास बस्दै यात्रा गरिरहेका कारण बिरामी तथा घाइते हुनेको संख्या पनि बढिरहेको उनले बताए।
“हामी धर्मशाला र मन्दिरमा बास बस्दै आएका छौँ। बर्खाको समय छ। बाटोमा बिरामी हुने र चोट लाग्नेहरूको संख्या बढ्दो छ,” परियारले भने।
आन्दोलनकारीहरूले मुख्य रूपमा १२ बुँदे सम्झौता कार्यान्वयन, कालोसूचीबाट पीडितलाई हटाउनुपर्ने तथा लघुवित्तको समस्या समाधान गर्नुपर्ने माग राखेका छन्। उनीहरू काठमाडौँ पुगेर सरकारलाई आफ्ना माग सम्बोधन गर्न दबाब दिने तयारीमा छन्।
परियारले माग पूरा नभए कडा कदम चाल्ने चेतावनीसमेत दिए। उनले भने, “यदि हाम्रो माग पूरा भएन भने हामी काठमाडौँ पुगेर आत्मदाह गर्न पनि पछि पर्ने छैनौँ। हामी खाली हात फर्किन आएका होइनौँ।”
बर्खाको झरीमा रुझ्दै, भोक र थकानलाई बेवास्ता गर्दै न्यायको खोजीमा अघि बढिरहेका पीडितका अनुहारमा थकान स्पष्ट देखिन्छ। तर न्याय पाउने आशा भने अझै मरेको छैन। उनीहरूका सुन्निएका खुट्टा र थकित अनुहारले राज्यको संयन्त्र तथा लघुवित्त र मिटरब्याजसम्बन्धी समस्यामाथि गम्भीर प्रश्न उठाइरहेका छन्।
-निशा श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर