संसद राष्ट्रको सार्वभौम स्वतनत्र नागरिकको प्रतिनिधि एउटा गरिमामय निकाय हो । राज्यका तीन प्रमुख अंगमध्येको पहिलो प्रवेशद्वारको रूपमा संसद्लाई मानिन्छ । संसद् संविधान संशोधन गर्ने, संविधान प्रदत्त अधिकारका साथ कानुन निर्माण गर्ने निकाय हो । संसद्ले निर्माण गरेका कानुनका आधारमा राज्यका अन्य निकायहरू परिचालित हुन्छन् । कार्यपालिकाले पनि व्यवस्थापिका अर्थात् संसद्ले बनाएका कानुनहरूका आधारमा मात्रै आफ्ना कामकारबाहीहरू सञ्चालन गर्ने गर्छ ।
व्यवस्थापिका कार्यपालिका र न्यायपालिका तीन राज्यका अभिन्न अंग हुन् र यी तीनवटा निकायबीचमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ, हुनुपर्छ । व्यवस्थापिकाले कानुन बनाउँछ अर्थात् राज्य सञ्चालन गर्ने व्यवस्था मिलाउँछ यस आधारमा कार्यपालिकाले आफ्ना कामकारबाही अगाडि बढाउँछ । यस क्रममा कहीँकतै व्यवस्थापिकाको आशय अनुसार कार्यपालिकाले काम गरेको नपाइएमा न्यायपालिकामा गएर न्याय पाउने सुविधा विभिन्न निकाय र व्यक्तिले पाएका हुन्छन् ।
यी तीन अंगबीच निरीक्षण र सन्तुलनको व्यवस्था मिलाइएको हुन्छ । एकले अर्कालाई निगरानी गर्ने, निर्देशन दिने, सल्लाह-सुझाव दिने र आपसी सन्तुलन कायम गर्ने काम अन्योन्याश्रित छ । व्यवस्थापिकाका सदस्यहरूलाई आचरण र अनुशासनमा बस्न कार्यपालिकाले कानुनतः बाध्य बनाउनसक्छ । कार्यपालिकाको निर्माण र सञ्चालन गर्ने काम पनि व्यवस्थापिकाले गर्छ र न्यायपालिकालाई आफ्नो नियन्त्रणमा राख्ने न्यायपालिकाका सदस्य अर्थात् न्यायाधीशहरूबाट भएका बद्नियतपूर्ण कार्यहरूका आधारमा तिनलाई कारबाही गर्ने, हटाउने अधिकार व्यवस्थापिकाले राखेको हुन्छ । यसरी व्यवस्थापिका एउटा शक्तिशाली निकाय हो तर अहिले व्यवस्थापिकाका सदस्यहरूका अनेकौं अराजक अभिव्यक्ति र व्यवहार बाहिर देखिँदै आएका छन् ।
राजनीति गरेर खारिएका पुराना पटकपटक राजनीतिको अभ्यास गरेका व्यक्तिहरू भएका भए यस्तो हुने थिएन होला तर अहिले अधिकांश सांसदहरू नयाँ भएका कारणले वर्तमान सांसदहरूबाट बेलाबेलामा अनेकौं आलोचनायोग्य व्यवहार भइरहेको पाइएको छ । एक-दुई दिन अगाडि मात्र काठमाडौंका सांसद राजु पाण्डेले गोकर्ण माकलबारीमा सेनाको निगरानीमा भएको पर्खाल आफैंले डोजर लगेर भत्काउन लाउनुभएको छ । यसले गर्दा उहाँ आलोचनाको मूल केन्द्रमा रहनुभएको छ । उक्त पर्खाल नगरपालिकाले नेपाली सेनासँग समन्वय गरेर विधिवत् रूपमै हटाउने तर्खर गरिरहेको बेला नगरपालिकाको उक्त कार्यलाई उछिनेर उहाँले त्यसो गर्नुको कारण जनताबीच आफू लोकप्रिय भएको देखाउने र उक्त कार्य नगरपालिकाले गर्न नसकेको हुँदा आफूले गरेको भनेर जनतामाझ विश्वास दिलाउने अभिप्रायले हो भनिएको छ । त्योभन्दा पनि सांसद पाण्डेले सैनिक अधिकृतसँग गरेको व्यवहार कुनै पनि सभ्य मानिसका लागि स्वीकार्य देखिएन ।
पर्खाल हटाएर त्यहाँबाट बाटो खुलाउनुपर्ने जनताको माग भएको कारण त्यसो गरिएको हो भन्ने उहाँको दाबी छ तर आलोचकहरूले काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुख भएर काम गरिसक्नुभएका पाण्डेको शैली सांसद हुँदा पनि नगएको भनेर आलोचना गरेका छन् । त्यसो त वर्तमान प्रतिनिधिसभाका सदस्यमध्ये धेरै अपरिचित र गुमनाम जस्तै छन् । सांसदहरूको नाम नै धेरै जनतालाई थाहा छैन । जसको बारेमा नागरिकहरूले सुन्दै आएका छन् ती आफ्ना राम्रा कामले भन्दा पनि विभिन्न खालका स्टन्टबाजी र आलोचना तथा छुचो व्यवहारले मात्र चिनिएका छन् । मन्त्रीजस्तो गरिमामय पदमा बस्नुभएका एक मन्त्रीले पनि एकपटक बेलामा काम नगर्ने ठेकेदारका खुट्टा भाँच्नुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।
यसैगरी कैलालीका सांसद केपी खनालले आफूलाई प्रश्न गर्ने व्यक्तिलाई थुनिदिने धम्की दिनुभएकोमा प्रशस्त आलोचना भएको थियो । आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूसँगको भेटघाट र छलफलका क्रममा उहाँलाई प्रश्न गर्ने व्यक्तिलाई उहाँले त्यस्तो धम्की दिनुभएको हो । यसकारण उहाँको पनि चौतर्फी आलोचना भइरहेको छ । सांसद खगेन्द्र सुनार आफ्नो तित्राको जस्तो छुचो बोली र व्यवहारले गर्दा पटक-पटक आलोचनामा पर्दै आउनुभएको छ । उहाँलाई पार्टीले पनि धेरैचोटी सचेत गराएको छ तैपनि उहाँले आफ्नो बोली र व्यवहार सुधार्नु भएको छैन ।
सांसद आशिका तामाङ पनि बेलाबेलामा चर्चामा आउने गर्नुहुन्छ । संसद्मा आफ्ना निर्वाचन क्षेत्रका समस्या उठाउने र सार्वजनिक महत्त्वको विषय भए जानकारी दिने गर्नुपर्नेमा रोएर तमासा गर्ने उहाँको व्यवहारको आलोचना हुनेगरेको छ । अरू पनि यस्ता धेरै सांसदहरू वा मन्त्रीहरू अनावश्यक व्यवहारका कारण विवादमा परिरहेका छन् । रास्वपाले आफ्ना यस्ता सांसदहरूलाई अनुशासनको घेराभित्र राख्न सकेको छैन । यसको कारण एक त उक्त पार्टीका सांसदहरूको संख्या धेरै भएका कारणले कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धिको सिद्धान्त अनुसार कसले कहाँ के भन्छ र के-कस्तो व्यवहार गर्छ भनेर निगरानी गर्न नसकेको हुनसक्छ भने अर्कोतिर सबैजना यसरी नै अभिव्यक्ति दिँदै हिँडेको हुनाले नियन्त्रण गर्न नसकेको पनि हुनसक्छ । हुन त यस्ता फरक व्यवहार स्वभाव भएका र फरक अभिव्यक्ति दिने खालका सांसदहरू पहिले-पहिलेका संसद्मा पनि हुने गर्थे ।
पञ्चायतकालका केही मन्त्री र केही सांसदहरूको व्यवहार अहिलेसम्म पनि चर्चा गर्ने गरिन्छ तर त्यसबेला अधिकांश सांसदहरू अपठित थिए र उनीहरूबाट त्यस्ता व्यवहार हुनु स्वभाविक मानिन्थ्यो । प्रजातन्त्र प्राप्तिपछिका संसद्मा पनि केही सांसदहरू यसरी फरक खालका र फरक स्वभावका थिए । पञ्चायतकालमा जनपक्षीय उम्मेदवार भएर विजय हासिल गरेका सांसदहरूले पञ्चायतकै संसद् अर्थात् राष्ट्रिय पञ्चायतमै उभिएर प्रजातन्त्रको माग गरेका थिए । त्यस्तो हिम्मत भएका सांसदहरू अहिलेको संसद्मा पाउन सकिँदैन । आफ्नो पार्टीबाट प्रधानमन्त्री बनेका व्यक्तिले छिमेकी देशको सिमाना आफ्नो देशले मिचेको छ भन्दा टेबल ठोकेर ‘हो हो’ भन्ने खालका सांसदहरू अहिलेको संसद्मा हुनुहुन्छ ।
हुन त सत्तापक्षका मात्र होइन प्रतिपक्षी सांसदहरू पनि बेला-बेलामा संसद्मा अनेक खालका व्यवहारहरू प्रदर्शन गर्दै आउनुभएको छ । गाउँको कुनै एकराते बजारमा मेला भर्न गएका बेला गरिने झै-झगडाका शैलीमा उहाँहरू उत्रिनुभएको पनि देखिएको छ तर उसले गर्यो मैले किन गर्नु नहुने भन्ने अभिप्रायले होइन आफ्नो गरिमा सांसद आफैंले जोगाउनुपर्ने हुन्छ । सांसदहरूले आ-आफ्नो गरिमा जोगाउँदामात्र संसद्को गरिमा जोगिने हो । यसतर्फ उहाँहरूले सोच्नु आवश्यक छ । होइन भने संसद् गालीगलौज र झगडाको अखडामा मात्र परिणत हुनपुग्छ र सांसद र संसद् दुबैको गरिमा जोगिन सक्दैन ।







मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा