नेपाली कांग्रेसको साउन २४ गतेको केन्द्रीय कार्यसमितिको बैठकले अप्रत्याशीत कुनै निर्णय गरेन र पूर्णबहादुर खड्काले नेतृत्व गर्दै आएको समूहमा त्यस्तै कुनै नाटकीय परिवर्तन आएन भने साउन २९ गते कांग्रेसको जीवनमा पुनः एउटा दुःखद् घटना हुनेछ । पार्टीमा पहिरै नगए पनि खेतको एक पाखो खस्दा जस्तो असर जग्गाधनीलाई पर्दछ, त्यस्तै प्रभाव कांग्रेसलाई पर्ने नै छ । हातको एउटा औंलामा मात्रै चोट लाग्दा पनि दैनिक जीवनमा जस्तो असर पर्दछ, कांग्रेसले त्यस्तै नियति त भोग्नै पर्दछ । खुट्टाको एउटै औंला भाँच्चिए पनि प्लाष्टर गरेर डेढ महिना घरैमा बन्दी जीवन जिउन मान्छे बाध्य हुन्छ भने वर्षौं राजनीति गरेर नाम कमाएकाहरू पार्टी बाहिर रहँदा कुनै असर पर्दैन भन्ने हुँदैन तर कसैगरी पनि एकता गर्दै नगर्ने अवस्थामा पुगेका रहेछन् भने कांग्रेसको दुर्भाग्य र गगन थापाहरूको बाध्यता भन्नुबाहेक केही भन्न सकिँदैन ।
कांग्रेसको यही द्वन्द्वमा कोइराला परिवारका दुई सदस्यहरूले भने सही बाटो पहिल्याउन नसकेको देखिन्छ । पार्टी स्थापनामा अतुलनीय योगदान भएको कोइराला परिवारका एक सदस्यमात्रै नेपाली कांग्रेसमा रहने र सक्रिय राजनीतिमा रहेका दुई सदस्य बाहिर रहने सम्भावना बढ्दै गएको छ । एकजना डा.शेखर कोइराला मध्यमार्गी नेताको परिचय बनाउँदै कांग्रेसको सदस्यता अद्यावधिक नगर्ने मूडमा देखिएका छन् भने अर्का डा.शशांक कोइराला पार्टी फुटाउने समूहको नेतृत्व गर्दै अर्कै पार्टीको सभापति बन्ने ध्याउन्नमा लागेका छन् ।
पूर्वसभापति शेरबहादुर देउवाका नाममा एकत्रित हुँदै आएको खड्का समूहले पार्टीमा बिग्रह ल्याए पनि अपजश भने यसअघि पनि पार्टी फुटाएको आरोप लागेका देउवामाथि नै जानेछ । पहिला पार्टी फुटाउँदा गिरिजाबाबुले पार्टीमा बस्न नदिएको तर्क दिँदै आए पनि यसपटक भने पार्टी सदस्यता नवीकरण र अद्यावधिक कुनैमा पनि गगन थापाले अवरोध सिर्जना गरेको वा बाहिर धकेलेको भन्ने ठाउँ देखिएको छैन ।
चारतारे झँडा र चुनाव चिह्न रूख भएको कांग्रेसमा रहँदासम्म मात्रै लोकतन्त्रवादीहरूको समर्थन, मान र सम्मान प्राप्त हुन्छ भन्ने कुरा यी दुबै सदस्यलाई राम्रै थाहा छ र पनि किन अप्ठ्यारो बाटो हिँड्न खोज्दै छन् बुझ्न कठिन भएको छ । कोइराला परिवारकै सदस्य भए पनि सुरुवातदेखि नै कम्युनिष्ट भएका कमल कोइरालाहरूले जे गरे पनि कसैलाई मतलब थिएन तर कांग्रेसमा वरिष्ठतमको हैसियत बनाएकाहरू कांग्रेसमा नरहँदा सहजै पच्न गाह्रै हुन्छ । अर्को कुरा भोलि नयाँ पार्टीकै सभापति पनि डा.शशांकलाई दिन्छन् भन्ने कुनै ग्यारेन्टी छैन ।
यतिबेला डा.शेखर, डा.शशांक र सुजाता एक ठाउँमा बसेर एकमतका साथ एउटा धारणा निर्माण गर्न सक्नुपर्दथ्यो । नेपाली कांग्रेसका पुरानो साख बिउँताउन, कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढाउन र विग्रहको प्रयास गर्नेहरूलाई निरुत्साहन गर्न साझा विचार दिन सक्नुपर्थ्यो । हुन त राजनीतिमा बाबु र छोराको समेत मेल नहुन सक्दछ भने तीन भाइका तीन सन्ततिको एउटै विचार हुन्छ भन्ने पनि छैन तर पनि विश्वेश्वरप्रसादकै छोराले अर्को पार्टी खोल्ने घोषणा गर्नु र केशव एवं नोना जस्ताका छोरा मौन बस्नुलाई उचित मान्न सकिँदैन । समय घर्किसकेको छैन, अझै पनि सबैलाई सदस्यता अद्यावधिक गर्दै पार्टीको पन्ध्रौं महाधिवेशनमा नेतृत्वको परीक्षण गर्ने उद्घोषका साथ सबै समूह चारतारे झण्डामुनि आएमा लोकतन्त्रवादीहरूले भोलिका लागि शुभसंकेत प्राप्त गर्ने थिए । अहिलेको गलत निर्णयले भोलिका दिनमा न्याउरी मारी पछुतो भने झैँ पश्चातापका दिनहरू बिताउनु नपरोस् ।
पूर्वसभापति शेरबहादुर देउवाका नाममा एकत्रित हुँदै आएको खड्का समूहले पार्टीमा विग्रह ल्याए पनि अपजश भने यसअघि पनि पार्टी फुटाएको आरोप लागेका देउवामाथि नै जानेछ । पहिला पार्टी फुटाउँदा गिरिजाबाबुले पार्टीमा बस्न नदिएको तर्क दिँदै आए पनि यसपटक भने पार्टी सदस्यता नवीकरण र अद्यावधिक कुनैमा पनि गगन थापाले अवरोध सिर्जना गरेको वा बाहिर धकेलेको भन्ने ठाउँ देखिएको छैन । अद्यावधिकका लागि पार्टीले समय थप्ने र आह्वान गर्ने काम निरन्तर गरेको देखिएको छ । यस्तै अपजशबाट जोगिन होला, अहिलेसम्म नेतृत्व गर्दै आएका पूर्णबहादुरले चटक्कै छाडेर पार्टी फुटाउने जिम्मा विश्वेश्वरपुत्र डा.शशांक कोइरालालाई सुम्पेका छन् र कोइराला पनि लहैलहैमा हौसिएको देखिन्छ । पार्टी फुटाउन अग्रसरहरूको जमात देख्दा पार्टीमा बिग्रह ल्याउँदासम्मका लागि मात्रै शशांक संयोजक हुने सम्भावना बलियो छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक साउन २४ गते डाकिएको छ भने असन्तुष्ट पक्षले साउन २९ गते बृहद् भेलाको आह्वान गरेको छ । २४ गतेको आधिकारिक कांग्रेसको बैठक महाधिवेशन जस्ता नियमित एजेण्डामा डाकिएको बताइए पनि अन्तर्यमा पार्टी फुटाउन भइआएका षड्यन्त्रलाई निस्तेज बनाउँदै कांग्रेस एक बनाउने अभिप्राय रहेको छ कि छैन बुझ्न सकिएको छैन । साउन २९ गतेको भेला भने कांग्रेस पार्टीमा विभाजन ल्याई अर्को पार्टी घोषणाका लागि हो भन्ने लगभगमात्रै नभई ठोकुवै गर्नसक्ने गरी तय गरिएको छ । यसका संयोजक तोकिएका डा.शशांक कोइरालाको वक्तव्यले पनि साउन २९ गते पछाडि.....नेपाली कांग्रेस’को अघि या पछि कुनै फुर्को जोडेर नयाँ पार्टी जन्मने घोषणा गरिसकेको छ । सारमा भन्दा कांग्रेस पार्टी दुई फ्याक हुने सम्भावना नभए पनि एउटा चोइटो बाहिरिने सम्भावना प्रबल छ ।
नेपाली कांग्रेसका वर्तमान सभापति गगन थापाले चाहेमा एक घण्टामा पार्टी एक हुने बताउँदै आइएको छ । सभापति मूलनेतृत्व हो र लचक हुने जिम्मेवारी मूलनेतृत्वकै भएकाले गगन थापा हदैसम्म लचिलो भई पार्टी एक बनाउन अग्रसर हुनुपर्ने भनिएको छ । आजसम्मको विवाद भनेको गगनका कारणले नै सिर्जित भएको भन्ने भाष्य तयार गर्न एकपक्ष कस्सिएको देखिन्छ । संस्थापन पक्ष भने बारम्बार अनुरोध गर्दा पनि असन्तुष्ट पक्ष एक हुन नचाहेको, एकताको प्रस्ताव पठाउँदा पनि त्यसको प्रत्युत्तर दिने इच्छासमेत नदेखाएको र कांग्रेसको विधानले दिन मिल्ने सबै दिन्छौं भन्दा पनि एकताका लागि इच्छा नदेखाइएको बताउँदै आएको छ । जुन पक्ष सही या जुन पक्ष गलत भए पनि परिणाममा भने कांग्रेसमा विभाजनको रेखा कोरिएको छ र समग्रमा मुलुकको लोकतन्त्रमा केही न केही असर पर्ने नै छ ।
कांग्रेसको इतिहास हेर्दा जतिसुकै अपमानबोध भए पनि गणेशमान सिंहले अर्को पार्टी खोलेनन्, बरू बाँचुञ्जेल मौन रहेर जीवन त्याग गरे । कांग्रेसको संस्थापक र आफ्नो सभापतित्वकालमा वरिष्ठतममै पर्ने किसुनजी पनि उत्तरार्धमा कुटीमा गएर बसे तर मानसम्मान नपुगेको भनेर नयाँ दल खोल्न कस्सिएनन् । गणेशमान वा किसनुजीले असन्तुष्टि प्रकट गर्दै अर्को दल खोल्ने प्रयास गरेको भए अहिलेका नेताहरूले घुर्क्याएर खोल्न लागेको दलभन्दा निकै सशक्त पार्टीको निर्माण हुन्थ्यो र त्यतिबेलाका सभापति गिरिजाप्रसाद कोइराला निकै कमजोर बन्न पुग्दथे र पनि त्यस्तो धृष्टता गरेनन् । महाधिवेशनमा कमजोर हुने बित्तिकै अर्को दल खोल्ने योजना रामचन्द्र पौडेलले बुनेको पनि थाहा पाइएन तर अहिले किन निरर्थक प्रयत्न गरिँदैछ बुझ्न सकिएको छैन ।
अर्को दल खोल्न कस्सिएको पक्षका बारेमा भन्नुपर्दा विगतमा मात्रै नभई अहिलेसम्म पनि पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको आसपासमा रहेर राजनीतिमा हावी भएकाहरूको बाहुल्य देखिन्छ । १३औं महाधिवेशनपश्चात् चार वर्षको कार्यकाल कटेपछि एक वर्ष थप गरी त्यो समय कट्दा पनि महाधिवेशन नभएको सर्वविदित नै छ । पार्टी नै अवैध बन्ने अवस्था आइसकेपछि केपी ओली लगायतको सहयोगमा कानुनमा अर्को छ महिना थप गर्न पाउने विशेष व्यवस्था गरी साढे पाँच वर्षको कार्यकाल सम्पन्न गरेपछि मात्रै १४औं महाधिवेशनको आयोजना गरिएको थियो । ठीक त्यसैगरी अहिले पनि देउवाको दोस्रो कार्यकाल साढे पाँच वर्ष बनाई त्यो अवधि पूरा गरेपछि मात्रै १५औं महाधिवेशन गर्ने योजना बुनिएको थियो भन्नेमा कुनै द्विविधा छैन तर विशेष महाधिवेशनले त्यो इच्छा पूरा हुन नदिएपछि वर्तमानको विवाद सतहमा आएको हो । यो विवाद सहजै समाधान हुने लक्षण देखिएको छैन ।
साउन २४ मा पार्टी एकताका लागि हदैसम्म लचिलो भई कांग्रेसले एकताका प्रस्तावहरू तयार गरेमा त्यो स्वागतयोग्य नै हुन्छ तर भागबण्डाका बुँदाहरू तयार पारी पार्टीमा किचलो उत्पन्न गराउने आधार तय गरियो भने चाहिँ झन् गलत हुनजान्छ । एकताका नाममा विधानका दफाहरू मिचेर जथाभावी निर्णय गरेमा पनि त्यसले सकारात्मक प्रभाव पार्दैन भन्ने पनि सबैले बुझेकै हुनुपर्दछ ।
कांग्रेस वंशवादमा विश्वास गर्ने पार्टी त होइन तर पनि पार्टीका संस्थापक एवं नेपाली राजनीतिका महान् व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको परिवारका सदस्यले अन्तिममा सही निर्णय लिन्छन् भन्ने विश्वास कांग्रेसका आमकार्यकर्ता र लोकतन्त्रवादीहरूले गरेका थिए । जहाँ रूख र चारतारे झँडा हुन्छ । त्यहीँ म हुन्छु भन्ने लाखौं सदस्यहरू रहेको पार्टीबाट विश्वेश्वरप्रसादकै छोरा यसरी बहकिन्छन् भन्ने कसैले सोचेको थिएन । फुटाएर जान खोजेकाहरूले आधिकारिक कांग्रेस जत्तिकै सशक्त अर्को पार्टी गठन गर्न सकिन्छ भन्ने लागेको भए डा.शशांकलाई यस समूहको नेतृत्व गर्न दिन्थे कि दिँदैनथे भन्नेसम्म पनि डा.शशांकले विश्लेषण गर्न सके जस्तो देखिएन । बरू गिरिजापुत्री सुजाताले भने समझदारीपूर्वक निर्णय लिएजस्तो देखिन्छ ।
अर्कोतिर कांग्रेसको वरिष्ठ नेताको हैसियत बनाउँदै आएका नोनापुत्र डा.शेखर पनि सहमतिका नाममा अल्मलिएको देखिन्छ । पार्टीमा दुईधार उत्पन्न भई पार्टी फुट्ने अवस्था आएमा त्यसमा हस्तक्षेप गरी एक गराउनु नेतृत्वको कर्तव्य नै हो तर कुनै पनि हालतमा एक नहुने बाटोमा दुई पक्ष लागे भने गलत पक्षलाई यो यो कारणले गलत र सही पक्ष यस कारण सही भनी उद्घोष गर्ने क्षमता पनि नेतृत्वमा हुनुपर्दछ । दुबैथरि मिलेनन् त्यसैले म कतै जान्न भनेझैँ गरी डा.शेखर बीचमा बस्नु कोइराला परिवारका सदस्यका लागि सुहाए जस्तो लाग्दैन । आजसम्म तपाईंहरूलाई साथ दिएको थिएँ तर रूख र चारतारे भलण्डा छाड्न सक्दिन भनेर डा.शेरखरले नभन्ने हो भने डा.शेखरलाई मात्रै होइन, कांग्रेसलाई पनि नराम्रो धक्का लाग्छ नै । यो पार्टी निर्माणमा तपाईंहरूको पनि अमूल्य योगदान छ । आउनुहोस्, पन्ध्रौं महाधिवेशनमा सही र गलतको परीक्षण गरौं भन्ने आँट शेखरले गर्न सक्नैपर्दछ । आफ्ना पितापुर्खाले स्थापना गरेका पार्टीमा धमिरा लगाउने काम कोइराला परिवारका सदस्यबाट नहुनुपर्ने हो तर के गर्छन् केही दिनमा देखिन्छ ।
डा.शेखर, डा.शशांक र सुजाता गरी अहिल कोइराला परिवारका तीनजना सदस्य सक्रिय राजनीतिमा छन् । कांग्रेसका कार्यकर्ताहरूका माझमा तीनैजनाको लोकप्रियता पनि राम्रै छ । दुई डाक्टर त बारम्बार मन्त्री हुने अवसर आउँदा पनि नबनेका नेता हुन् र भ्रष्टाचारको आरोप लगाउने ठाउँ छैन । कोइराला परिवारका यी सदस्यहरूले साँच्चै सोचेर निर्णय गर्ने हो भने पार्टी छाडेर अन्यत्र जानुभन्दा यही परिवारको एक सदस्यलाई पन्ध्रौं महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउन उपयुक्त हुन्छ । कांग्रेसी कार्यकर्ताहरूको लोयल्टी हेर्दामात्रै होइन कि सार्क मुलुकका विगतले पनि पार्टी पुनः कोइरालाहरूकै नेतृत्वमा जाने सम्भावना देखाउँछ । यसअघि पनि अर्कै पार्टी खोलिसकेकाहरूलाई त पुनः अर्को पार्टी खोल्न कुनै दकस नलाग्ला तर कोइराला परिवारकै सदस्यले सम्भावना र अवसर हुँदाहुँदै गलत कदम चाल्नु नेपाली राजनीतिकै लागि दुर्भाग्यपूर्ण हुन्छ । एकपटक दोस्रो विवाह गरेका महिला वा पुरुषलाई तेस्रो चौथो विवाह गर्न कुनै अप्ठ्यारो पर्दैन तर एकपत्नी वा एकपतिव्रतमा रहेकाले खुट्टो उचाल्नु शोभायमान हुँदैन ।
दुई महामन्त्रीहरूलाई देउवा नेतृत्वले कारबाही गरी पार्टीबाट निष्काशन गर्दा ताली पिट्नेहरू नै अहिले मूलनेतृत्व लचिलो हुनुपर्ने धारणा ठूल्ठूला स्वरले राखिरहेका छन् । लचिलो हुनुपर्ने कुरा सही हो र विगतमा गल्ती गर्नेले सही कुरा गर्न पाउँदैनन् पनि भन्न हुँदैन । चवन्न प्रतिशत सदस्यले विशेष महाधिवेशन माग गर्दा त्यसलाई सम्बोधन गर्ने प्रयत्न विगतमा किन गरिएन भनेर त्यसैका आधारमा पार्टी एक नगराउने कदम पनि चाल्नु हुँदैन । त्यसैले साउन २४ मा पार्टी एकताका लागि हदैसम्म लचिलो भई कांग्रेसले एकताका प्रस्तावहरू तयार गरेमा त्यो स्वागतयोग्य नै हुन्छ तर भागबण्डाका बुँदाहरू तयार पारी पार्टीमा किचलो उत्पन्न गराउने आधार तय गरियो भने चाहिँ झन् गलत हुनजान्छ । एकताका नाममा विधानका दफाहरू मिचेर जथाभावी निर्णय गरेमा पनि त्यसले सकारात्मक प्रभाव पार्दैन भन्ने पनि सबैले बुझेकै हुनुपर्दछ ।
गगन नेतृत्वको कांग्रेसले ख्याल गर्नुपर्ने एकताका नाममा पार्टीको महाधिवेशन पर सार्न हुँदैन । पार्टी महाधिवेशन र एकता अभियान सँगसँगै अगाडि बढाउनुपर्दछ । पार्टीमा रहनै पर्ने नेताहरू थुप्रै समाहित हुन नसकेको अवस्था छ । आवेगका क्रममा कतिपय नेताहरूले पचाउनै नसक्ने कुराहरू बोलेका भए पनि समग्र कांग्रेसको नेतृत्व गर्ने गगन थापाले त्यस्ता कुराहरूलाई नजरअन्दाज गर्दै समेट्न सक्नै पर्दछ । समयक्रमका घटनामा चित्त बुझे या नबुझे पनि एन.पी.सावद, वीरबहादुर बलायर, बद्री पाण्डेजस्ता अनेकौं नेताहरूलाई कांग्रेसबाहिर रहन दिनुहुँदैन । घर थन्किए पनि कांग्रेसलाई घाटा नपुग्ने या कांग्रेसमा आउँदा झनै विकृति निम्त्याउने सत्ताको चास्नीमा रमाउँदै भ्रष्टाचारमा डुबेका कोही छन् भने ध्यान नदिए पनि हुन्छ । अपेक्षा त साउन २९ को भेलाले पार्टी विभाजनलाई पूर्णतः अस्वीकार गर्छ भन्ने गरिएको छ । लोकतन्त्रवादीहरूले पक्कै साउन २९ कुरेकै छन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर