वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकासँग ठूलो परिमाणमा विशेष प्रकारका हतियार रहेको दाबी गर्दै अमेरिकी सैन्य क्षमताबारे उठाइएका प्रश्नलाई अस्वीकार गर्नुभएको छ।
ट्रम्पको यो अभिव्यक्ति इरानविरुद्धको सैन्य अभियानपछि अमेरिकी हतियार भण्डार घटेको भन्ने विषयमा अमेरिकी सञ्चारमाध्यम सिएनएनले प्रकाशित गरेको रिपोर्टपछि आएको हो।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरिएको पोस्टमा ट्रम्पले अमेरिकी रक्षा कम्पनीहरूले इतिहासकै सबैभन्दा धेरै उत्पादन केन्द्र र कारखाना सञ्चालन गरिरहेको तथा ठूलो परिमाणमा हतियार उत्पादन भइरहेको उल्लेख गर्नुभएको छ। आवश्यकताअनुसार ती हतियार अमेरिकी सेनालाई उपलब्ध गराइरहेको उहाँको दाबी छ।
यसअघि सिएनएनले अनुसन्धानसँग परिचित दुई स्रोतलाई उद्धृत गर्दै इरानसँगको द्वन्द्वपछि अमेरिकी सेनाले आफ्नो मिसाइल भण्डारको उल्लेखनीय हिस्सा प्रयोग गरिसकेको जनाएको थियो। रिपोर्टअनुसार युद्ध सुरु भएयता प्याट्रियट इन्टरसेप्टर मिसाइलको करिब आधा र लामो दूरीका उच्च–सटीक सतह–देखि–हावा हतियारको ठूलो हिस्सा प्रयोग भएको उल्लेख गरिएको छ।
रिपोर्टमा ट्रम्पले गत सप्ताहन्तमा इरानमाथि थप आक्रमण गर्ने योजना स्थगित गर्नुअघि नै हतियार भण्डारणको अवस्थाबारे चासो व्यक्त गरेको पनि उल्लेख गरिएको छ।
यस्तै, वासिङ्टन पोस्टको बुधबार प्रकाशित रिपोर्टअनुसार गत साता क्याम्प डेभिडमा भएको बैठकमा ट्रम्पले अमेरिकी रक्षामन्त्री पीट हेग्सेथसँग हतियारको मौज्दात र सैन्य विकल्प सीमित हुन सक्ने अवस्थाबारे स्पष्टीकरण माग्नुभएको थियो।
यसैबीच, ट्रम्पले सामाजिक सञ्जालमार्फत गोप्य सूचना चुहाउने व्यक्तिको खोजी भइरहेको जनाउँदै त्यस्ता व्यक्तिलाई भेटिए कानुनअनुसार कडा कारबाही र लामो जेल सजाय हुन सक्ने चेतावनी दिनुभएको छ।







सडकमा सिठी फुकेर मात्र ट्राफिक
आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा
राजधानीमा विविध कार्यक्रमसहित मनाइयो ३२
सुशासनका लागि राजनीतिक नेतृत्वमा अनुशासन
सिंहदरबारको नाम फेर्न सांसद ढकालको
उच्च आर्थिक वृद्धिको लागि नीतिगत