काठमाडौँ । पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन हुनुभएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता) को शव नेपाल ल्याइएको छ।
साउन १४ गते हिमपहिरोमा परी ज्यान गुमाउनुभएका गुरुङको शव बिहीबार साँझ कतार एअरवेजमार्फत काठमाडौं ल्याइएको हो।
घटनापछि उद्धार तथा समन्वयका लागि पाकिस्तान पुग्नुभएका कीर्तिमानी आरोही तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा गुरुङको शवसहित स्वदेश फर्किनुभएको हो।
गुरुङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज नक्सालस्थित नेपाल पर्वतारोहण संघ को सचिवालयमा राखिनेछ। उहाँको अन्त्येष्टि शुक्रबार बिहान ९ बजे स्वयम्भूमा गर्ने तयारी गरिएको छ।
गोरखाको लाप्राक निवासी गुरुङ नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष तथा मनाङ माउन्टेनियरिङ स्कुल समितिका सदस्य हुनुहुन्थ्यो। पर्वतारोहण क्षेत्रमा उहाँले महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो।
ब्रड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पासहित ६ नेपाली तथा अन्य विदेशी आरोही गरी १० जनाको दुःखद निधन भएको थियो।
निर्मल पुर्जाको परिवार बेलायतमा रहेकाले उहाँको अन्त्येष्टि त्यहीँ गरिने तयारी छ। अन्य नेपाली पर्वतारोहीहरूको शव भने पाकिस्तानमा आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि क्रमशः नेपाल ल्याइने जनाइएको छ।













विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन