एजेन्सी । कप्तान लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले उत्तर अमेरिकी लिग कपमा मेक्सिकन क्लब एटलेटिको डी सान लुइसलाई ४-२ ले पराजित गरेको छ । बिहीबार बिहान सम्पन्न खेलमा सुरुवाती अग्रता भने भ्रमणकारी टोली सान लुइसले लिएको थियो । खेलको चौथो मिनेटमा डेभिड रोड्रिगेजले गोल गर्दै टोलीलाई अघि बढाउनुभएको थियो । तर, त्यसपछि ३९ वर्षीय मेसी चम्किएपछि खेलको गति पूर्ण रूपमा मियामीको पक्षमा मोडियो ।
मेसीले ११औँ मिनेटमा बराबरी गोल फर्काउनुभयो । त्यसपछि २६औँ मिनेटमा टेलास्को सेगोभियाले गोल गर्दै इन्टर मियामीलाई २-१ को अग्रता दिलाउनुभयो । पहिलो हाफको ४४औँ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३-१ मा पुर्याउनुभयो ।
पहिलो हाफको इन्जुरी समयमा मेसीकै उत्कृष्ट पासमा माइकलले गोल गरेपछि मियामीले ४-१ को बलियो अग्रता बनायो । दोस्रो हाफको ५१औँ मिनेटमा राफा लोरेन्टाले सान लुइसका लागि अर्को गोल फर्काए पनि त्यसपछि थप गोल हुन सकेन र खेल ४–२ को नतिजामा टुंगियो । मेसीले खेलमा दुई गोल गर्नुका साथै एक असिस्ट पनि दिनुभएको थियो ।
फिफा विश्वकप २०२६ मा अर्जेन्टिनालाई उपविजेता बनाएपछि मेसीको यो दोस्रो खेल हो । विश्वकपपछि स्वदेशमा केही समय बिदा मनाएर फर्किनुभएका उहाँले अघिल्लो खेलमा दोस्रो हाफमा मात्र खेल्नुभएको थियो । यसपटक भने सुरुदेखि नै मैदान उत्रिँदै आफ्नो उत्कृष्ट लय प्रदर्शन गर्नुभयो ।
पिएसजी र आर्सनल दुवै पराजित
अघिल्लो सिजनको युरोपेली फुटबलका दुई बलिया टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) र आर्सनल प्रि-सिजनअघिको मैत्रीपूर्ण खेलमा पराजित भएका छन् । बुधबार राती भएको खेलमा फ्रेन्च च्याम्पियन पिएसजी स्पेनिस ला लिगा क्लब मालोर्कासँग ३-० ले स्तब्ध बन्यो । मालोर्काको जितमा जिटो लुभुम्बो, जान भिर्जिली र एन्टोनिओ राइलोले समान एक-एक गोल गर्नुभयो ।
पिएसजीले अब प्रि-सिजनको अर्को खेलमा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि टोलीले युइएफए सुपर कपमा एष्टन भिल्लाको सामना गर्ने तालिका छ । फ्रेन्च लिग वानको नयाँ सिजन २४ अगस्टबाट सुरु हुँदैछ, जहाँ पिएसजीले पहिलो खेल रेनसविरुद्ध खेल्नेछ ।
यता, इंग्लिस क्लब आर्सनल पनि स्पेनिस क्लब रियाल बेटिससँग ३-१ ले पराजित भयो । आर्सनलका लागि पिएरो हिन्कापिएले सान्त्वना गोल गर्नुभयो । बेटिसका लागि रोड्रिगो रिक्वेल्मी, नेल्सन डेओस र पाब्लो फोर्नाल्सले समान एक-एक गोल गर्नुभयो ।
अब आर्सनलले प्रि-सिजनमा बोरुसिया डर्टमन्ड र कोमोसँग खेल्नेछ । त्यसपछि कम्युनिटी सिल्डमा म्यानचेस्टर सिटीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रिमियर लिगको नयाँ सिजनमा आर्सनलले २२ अगस्टमा नवप्रवेशी कोभेन्ट्री सिटीविरुद्ध पहिलो खेल खेल्नेछ । उल्लेखनीय छ, गत सिजन युइएफए च्याम्पियन्स लिगको फाइनलमा पिएसजीले आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :