काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मिति तय गरेको छ । १० टोलीको सहभागिता रहने यो प्रतियोगिता आगामी वर्ष फेब्रुअरी २१ देखि मार्च २३ सम्म सञ्चालन हुनेछ । यसपटक प्रतियोगिताको फर्म्याटमा पनि परिवर्तन गरिएको छ । आइसिसीले गत जुलाईमा २०२७ को विश्वकपको नयाँ फर्म्याट सार्वजनिक गरेको थियो । जसअनुसार छनोट प्रतियोगिताको विजेता १४ टोली सम्मिलित विश्वकपको मुख्य समूहमा सिधा प्रवेश गर्नेछन् ।
त्यस्तै, प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीहरूले विश्वकपको पहिलो चरण ‘सुपर सिरिज’ खेल्नेछन् । त्यस चरणमा शीर्ष स्थानमा रहने एक टोलीले मुख्य चरणको १२ टोलीमा आफ्नो स्थान सुरक्षित गर्नेछ । २०२७ को एकदिवसीय विश्वकप आगामी अक्टोबर ४ देखि नोभेम्बर ११ सम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुनेछ । प्रतियोगिताका म्याचहरू १२ फरक-फरक रंगशालामा खेलाइनेछ ।
छनोट खेलमा कुल १० वटा टोलीले भाग लिनेछन् । यसमा आगामी सेप्टेम्बर ३०, २०२६ को कट–अफ डेटसम्मको एकदिवसीय वरीयताका आधारमा आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेलाई छाडेर सबैभन्दा तल रहेका दुईवटा पूर्ण सदस्य देशहरू सामेल हुनेछन् । यस्तै, यसमा सिडब्लुसी लिग-२ का शीर्ष चार टोली र विश्वकप छनोट प्लेअफबाट आउने चारवटा टोलीहरूले पनि प्रतिस्पर्धा गर्नेछन् ।
हाल वेस्ट इन्डिज एकदिवसीय वरीयतामा १०औँ स्थानमा छ । आगामी सेप्टेम्बर ३० को कट–अफ डेटअगावै टोलीले भारतविरुद्ध मात्र दुईवटा एकदिवसीय खेल खेल्न बाँकी छ । यसबाहेक, अफगानिस्तान र आयरल्याण्डबीच हुने एकदिवसीय सिरिजको नतिजाले पनि टोलीको वरीयतामा प्रत्यक्ष प्रभाव पार्नेछ । यदि आयरल्याण्डले उक्त सिरिज ४-१ वा ५–० को फराकिलो अन्तरले जितेको खण्डमा र वेस्ट इन्डिजले भारतविरुद्धका दुवै खेल जितेमा मात्र उसले शीर्ष आठमा पुग्ने सम्भावना कायम राख्न सक्छ । तर, यदि अफगानिस्तानले सिरिज जितेको अवस्थामा भने वेस्ट इन्डिजले अनिवार्य रूपमा छनोट खेल खेल्नुपर्ने लगभग निश्चितजस्तै बनेको छ ।
वेस्ट इन्डिज यसअघि २०२३ को एकदिवसीय विश्वकपमा पनि छनोट हुन असफल भएको थियो । जिम्बाब्वेको हरारेमा खेलिएको उक्त छनोट प्रतियोगितामा उसलाई नेदरल्याण्ड्सले सुपर ओभरमा पराजित गरेको थियो । सोही लज्जास्पद नतिजाका कारण वेस्ट इन्डिज आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक एकदिवसीय विश्वकपबाट बाहिरिन पुगेको थियो ।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै