जुरिच । फिफाका व्यावसायिक तथा इभेन्ट सञ्चालन अधिकार निजी लगानीकर्तालाई बिक्री गर्ने विवादास्पद योजनालाई लिएर चौतर्फी आलोचना खेपेका फिफा अध्यक्ष जियानी इन्फ्रान्टिनोले माफी माग्नुभएको छ । मोरक्कोमा वरिष्ठ कार्यकारीहरूसँग भएको महत्त्वपूर्ण बैठकले उहाँलाई पूर्ण समर्थन गरेपछि इन्फ्रान्टिनो फिफा अध्यक्षका रूपमा भने निरन्तर पदमै रहनुहुने भएको हो । विवादास्पद प्रस्ताव खारेज भएपछि उत्पन्न तीव्र आलोचनाको सामना गर्न इन्फ्रान्टिनोले मोरक्कोको राबतस्थित फिफाको अफ्रिका कार्यालयमा व्यवस्थापन बोर्डका सदस्यहरूको आकस्मिक बैठक बोलाउनुभएको थियो । बैठक समाप्त भएको चार घण्टापछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अध्यक्षको पक्षमा समर्थनको आधिकारिक वक्तव्य जारी गरेको थियो ।
बैठकपछि इन्फ्रान्टिनो र महासचिव माथियास ग्रास्ट्रोमले फिफाका उपाध्यक्षहरू, काउन्सिल र २११ वटै सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै एक हस्ताक्षरयुक्त पत्र पठाउनुभएको छ । पत्रमा उनीहरूले आफ्ना त्रुटिहरूका लागि निःशर्त माफी माग्दै आगामी दिनमा यस्ता गल्तीहरू दोहोर्याउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकपश्चात् दुवै जना राबतमा आयोजित महिला अफ्रिकन कप अफ नेसन्सको म्याचमा सँगै देखिएका थिए ।
इन्फ्रान्टिनोले पुरुष तथा महिला विश्वकपलगायत प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने उद्देश्यले ‘फिफा फर्वार्ड इन्टरप्राइज’ नामक नयाँ सहायक कम्पनी खडा गर्ने प्रस्ताव अघि सार्दै यसको समर्थन गर्ने प्रत्येक सदस्य संघलाई चार करोड डलर उपलब्ध गराउने प्रस्ताव गर्नुभएको थियो ।
फिफाले जारी गरेको वक्तव्यमा एफएफई योजनाको प्रक्रियामा काउन्सिल र सदस्य संघहरूलाई बहिष्कृत महसुस गराउने कुनै मनसाय नभए पनि यस मामिलामा भूलहरू भएको स्वीकार गरिएको छ । साथै, गत जुलाई २८ मा ‘द टाइम्स’ पत्रिकाबाट यो योजना चुहिएपछि पनि केही कमजोरीहरू भएको स्वीकार गरिएको छ । तर, संस्थाले आफ्नो सुशासन, पारदर्शिता र प्रतिष्ठामाथि हुने कुनै पनि हमला अब सहने छैन र संस्थाको नाम जोगाउन आवश्यक सबै कदम चालिने चेतावनी पनि दिएको छ । यसका साथै, मोरक्कोलाई सन् २०३० को विश्वकप फाइनल आयोजना गर्ने अधिकार दिने बाचा गरिएको भन्ने ‘द टाइम्स’ को खबरलाई फिफाले खारेज गर्दै त्यसलाई झुटा र भ्रमपूर्ण दाबी भनेको छ ।
युरोपेली फुटबलको सर्वोच्च निकायले यसअघि नै इन्फ्रान्टिनोप्रतिको विश्वास गुमेको बताउँदै उक्त योजनालाई लुकेको र अपारदर्शी सम्झौता भनेको थियो । वेल्सलगायत केही युरोपेली सदस्य राष्ट्रहरूले समेत उहाँको पुनर्चुनावको समर्थन फिर्ता लिएका छन् । आगामी मार्च २०२७ मा मोरक्कोमा हुने फिफा कंग्रेसमा हुन गइरहेको निर्वाचनका लागि प्रतिद्वन्द्वीहरूले आगामी नोभेम्बर १८ सम्म आफ्नो उम्मेदवारी दर्ता गर्न सक्नेछन् । अध्यक्ष बन्नका लागि २११ मध्ये १०६ मत आवश्यक पर्छ ।
युरोपबाट तीव्र विरोध र अविश्वासको सामना गरिरहेका इन्फ्रान्टिनोलाई एसिया र अफ्रिकाका विभिन्न देशहरूबाट भने बलियो साथ प्राप्त भएको छ । इजिप्ट, मोरक्को, नाइजर, मौरिटानिया, कंगो र फिलिपिन्सजस्ता देशहरूले इन्फ्रान्टिनोलाई समर्थन गरेका छन् । यी देशहरूले विगतमा ‘फिफा फर्वार्ड’ कार्यक्रममार्फत् प्रत्येक तीन वर्षमा ८० लाख डलर आर्थिक सहयोग प्राप्त गर्दै आएका छन् । त्यसैले युरोपले यी देशहरूलाई पारदर्शिताको मुद्दामा कसरी मनाउँछ भन्नेमा आगामी राजनीतिक समीकरण निर्भर रहनेछ ।
इन्फ्रान्टिनोको १० वर्षे कार्यकालमा यसअघि पनि साउदी अरेबियालाई २०३४ को विश्वकप आयोजनाको अधिकार दिइएको विषयलगायत विभिन्न विवादहरू उठेका थिए । तर, यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुस्नरका भाइ जोशुआ कुस्नरलाई फाइदा पुग्ने गरी विश्वकपको व्यावसायिक तथा टिकट बिक्रीको अधिकार निजी लगानीकर्तालाई बेच्ने प्रयास गर्नु नै इन्फ्रान्टिनोका लागि सबैभन्दा ठूलो संकट बनेको छ । यद्यपि, आन्तरिक बैठकबाट समर्थन जुटाएका ५६ वर्षीय इन्फ्रान्टिनोले अब संस्थामा थप चेक एण्ड ब्यालेन्सका नियमहरू लागू गर्दै आगामी कार्यकालका लागि आफ्नो पकड बलियो बनाउने रणनीतिमा लाग्ने देखिएको छ । एजेन्सी







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :