काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी अगस्टमा अस्ट्रेलियाको नर्दर्न टेरिटोरी (एनटी) मा आयोजना हुने प्रतिष्ठित एनटी टप एण्ड टी-२० शृंखलामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै नेपालले लिग चरणमा खेल्ने सबै खेलको मिति तय गरेको जनाएको छ । यद्यपि, प्रतियोगितामा सहभागी हुने अन्तिम खेलाडी सूची भने अझै सार्वजनिक गरिएको छैन ।
डार्बिनमा अगस्ट २१ देखि ३० तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले लिग चरणमा कुल छ खेल खेल्नेछ । नेपालले उद्घाटन खेल अगस्ट २१ मा घरेलु टोली एनटी स्ट्राइकविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसको भोलिपल्ट अर्थात् अगस्ट २२ मा नेपालले बंगलादेश हाई–पर्फर्मेन्स टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि अगस्ट २४ मा होबर्ट हरिकेन्स एकेडेमी, अगस्ट २५ मा एसिटी कोमेट्स, अगस्ट २७ मा किङ्समेन र अन्तिम लिग खेल अगस्ट २९ मा भिक्टोरियाविरुद्ध खेल्ने तालिका सार्वजनिक गरिएको छ ।
नेपालले गत संस्करणमा पनि यस प्रतियोगितामा सहभागिता जनाएको थियो । त्यतिबेला नेपाली टोलीले खेलेका ६ खेलमध्ये दुई खेलमा जित हासिल गरेको थियो भने चार खेलमा पराजित भएको थियो । यसपटक भने अघिल्लो प्रदर्शन सुधार गर्दै उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यसहित नेपाल मैदान उत्रने अपेक्षा गरिएको छ ।
तालिका जुध्दा दुई टोली घोषणा हुन सक्ने सम्भावना
यस वर्ष एनटी टप एण्ड टी-२० शृंखला र एसिसी प्रिमियर कपको खेल तालिका एकअर्कासँग जुध्ने निश्चित भएपछि नेपाल क्रिकेट संघ चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएको छ । दुवै प्रतियोगिता नेपालको अन्तर्राष्ट्रिय क्रिकेटका लागि महत्त्वपूर्ण भएकाले क्यानले दुई फरक टोली घोषणा गर्ने सम्भावनाबारे चर्चा सुरु भएको छ । एउटा टोली अस्ट्रेलियामा हुने टी–२० प्रतियोगितामा सहभागी हुने तथा अर्को टोली एसिसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्ने सम्भावना बलियो देखिएको छ । यसबारे क्यानले औपचारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन ।
यदि दुई टोली घोषणा गरिएमा युवा खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने अवसरका रूपमा पनि यसलाई हेरिएको छ भने अनुभवी खेलाडीलाई महत्त्वपूर्ण प्रतियोगितामा प्राथमिकता दिने रणनीति अपनाउन सकिने अनुमान गरिएको छ ।
ग्लोबल क्वालिफायर फेब्रुअरी २२ देखि मार्च २३ सम्म
यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२७ एकदिवसीय विश्वकपका लागि आयोजना हुने ग्लोबल क्वालिफायर्स प्रतियोगिताको मिति सार्वजनिक गरेको छ । आइसिसीका अनुसार १० टोलीको सहभागिता रहने प्रतियोगिता २०२७ फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको आयोजना स्थल भने हालसम्म सार्वजनिक गरिएको छैन ।
नेपालले पनि उक्त ग्लोबल क्वालिफायर्समा सहभागिता जनाउने निश्चित भइसकेको छ । आइसिसी विश्वकप लिग–२ मा शीर्ष चारभित्र स्थान बनाउन नसक्ने अवस्था बनेसँगै नेपालले विश्वकपमा स्थान बनाउन अब ग्लोबल क्वालिफायर्समार्फत् प्रतिस्पर्धा गर्नुपर्ने भएको हो ।
ग्लोबल क्वालिफायर्समा आइसिसी एकदिवसीय वरीयताको ११औँ र १२औँ स्थानमा रहेका आयरल्याण्ड र वेस्ट इन्डिजसहित अन्य आठ टोलीले विश्वकप प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । विश्व क्रिकेटका बलिया टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपालका लागि यो प्रतियोगिता निकै चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ ।
नेपालको एनटी टप एण्ड टी-२० खेल तालिका
२१ अगस्ट - नेपाल खक एनटी स्ट्राइक
२२ अगस्ट - नेपाल खक बंगलादेश हाई-पर्फर्मेन्स टोली
२४ अगस्ट - नेपाल खक होबर्ट हरिकेन्स एकेडेमी
२५ अगस्ट - नेपाल खक एसिटी कोमेट्स
२७ अगस्ट - नेपाल खक किङ्समेन
२९ अगस्ट - नेपाल खक भिक्टोरिया
नेपालले न्युजिल्याण्ड ‘ए’सँग एकदिवसीय अभ्यास खेल खेल्ने
नेपाली क्रिकेट टोलीले न्युजिल्याण्ड ‘ए’सँग एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ । आउँदो सेप्टेम्बरमा एकदिवसीय अभ्यास खेल खेल्ने तय भएको न्युजिल्याण्ड क्रिकेट बोर्डले बिहीबार सामाजिक सञ्जालमार्फत् जानकारी दिएको हो ।
तालिकाअनुसार, न्युजिल्याण्ड ‘ए’ले सेप्टेम्बर २ मा दक्षिण अस्ट्रेलिया (क्लब)सँग खेल्नेछ । सेप्टेम्बर ४ मा तास्मानिया र ६ मा नेपालसँग खेल्नेछ । यी तीनै खेल अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउण्ड-२ मा खेलिनेछ । यो अभ्यास शृंखलाअघि न्युजिल्याण्ड ‘ए’ टोलीले अगस्ट २० देखि ३० सम्म हुने एनटी टप एण्ड टी-२० सिरिजमा प्रतिस्पर्धा गर्नेछ । नेपालले पनि उक्त प्रतियोगितामा सहभागिता जनाउनेछ ।
न्युजिल्याण्ड ‘ए’ टोलीमा क्रिस्टियन क्लार्क, म्याट फिसर, डिन फक्सक्रफ्ट, मिच हे, जेडेन लेनोक्स, बेन लिस्टरजस्ता सिनियर टोलीबाट खेलिसकेका खेलाडी छन् ।







ज्ञान बैंक : युगान्तकारी अभियान
मनसुनी वायुको प्रभाव, देशका केही
यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११