काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले ३२औँ विश्व आदिवासी दिवसको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् महासंघले दिवसका अवसरमा देशभरका आदिवासी जनजातिहरूको व्यापक सहभागितासहित सांस्कृतिक, सचेतनामूलक तथा अधिकारमुखी कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो ।
महासंघका महासचिव विमल सारु मगरले यस वर्षको विश्व आदिवासी दिवस ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ मनाइने जानकारी दिनुभयो । उहाँका अनुसार साउन २४ गते आइतबार काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा मूल समारोह आयोजना गरिनेछ । कार्यक्रममा देशभरका विभिन्न समुदायका आदिवासी जनजातिहरू आफ्ना मौलिक तथा परम्परागत भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत, परम्परागत नृत्य तथा हस्तकलासहित सहभागी हुनेछन् ।
भृकुटीमण्डपबाट सुरु हुने र्याली भद्रकाली, शहीदगेट, सुन्धारा, वीर अस्पताललगायतका मुख्य सडक हुँदै टुँडिखेलस्थित खुलामञ्चमा पुगेर मूल समारोहमा परिणत हुने महासंघले जनाएको छ । महासचिव मगरले संविधानले परिकल्पना गरेको समावेशी लोकतन्त्र, सामाजिक न्याय तथा समान अवसरको मर्मअनुसार आदिवासी जनजातिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु वर्तमान आवश्यकता भएको उल्लेख गर्नुभयो । संविधानमा व्यवस्था गरिएका अधिकारहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै ती अधिकारको संरक्षण र कार्यान्वयनका लागि दिवसले थप दबाब सिर्जना गर्ने उहाँको भनाइ छ ।
कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्ने कार्यक्रम रहेको छ । साथै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, जनप्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहने महासंघले जनाएको छ । मूल समारोहमा विभिन्न जातीय समुदायका मौलिक सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिनुका साथै रैथाने परिकार, परम्परागत खाद्य संस्कृति, हस्तकला तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी एवं बिक्री-वितरणको व्यवस्था गरिनेछ ।
त्यसैगरी, विज्ञहरूसँग आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति, पहिचान, परम्परागत ज्ञान तथा समसामयिक चुनौतीबारे प्यानल छलफल आयोजना गरिने कार्यक्रम छ । महासंघका अनुसार कार्यक्रममा ४० भन्दा बढी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गर्नेछन् ।
महासंघले आदिवासी जनजातिहरूको भाषा, संस्कृति, सभ्यता, इतिहास, परम्परागत ज्ञान, भूमि तथा प्राकृतिक स्रोतसँगको सम्बन्ध संरक्षण गर्नु राज्य र समाजको साझा दायित्व भएको जनाएको छ । साथै संविधानमा व्यवस्था भएका समानुपातिक समावेशी प्रतिनिधित्व, सामाजिक न्याय, समान अवसर, मातृभाषाको संरक्षण, सांस्कृतिक अधिकार, पहिचान तथा आदिवासी जनजातिहरूको सम्मानजनक सहभागितासम्बन्धी प्रावधानको पूर्ण कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
महासंघले विश्व आदिवासी दिवसको मूल समारोहमा मात्र सीमित नरही सप्ताहव्यापी रूपमा विविध सांस्कृतिक, बौद्धिक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने पनि जनाएको छ । दिवसमार्फत् आदिवासी जनजातिको पहिचान, अधिकार, भाषा र संस्कृतिको संरक्षणसँगै समावेशी तथा न्यायपूर्ण नेपालको निर्माणमा राष्ट्रिय प्रतिबद्धतालाई थप सुदृढ बनाउने उद्देश्य रहेको महासंघले स्पष्ट पारेको छ ।







घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
खर्क व्यवस्थापनमा नेपालले भुटानबाट सिक्नुपर्छ
सुनचाँदीको मूल्य घट्यो, आज प्रतिताेला
सर्लाहीमा भर्याङबाट लडेर महिलाको मृत्यु
भोटेकोशी बाढीपछि एक हजार ३९९
भक्तपुरमा पनि रात्रिकालीन सार्वजनिक यातायात