काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य सेवामा एकपछि अर्को उल्लेखनीय उपलब्धि हासिल गर्दै नगरवासीको विश्वास जित्न सफल भएको छ । केही समयअघि राजधानीका विभिन्न निजी अस्पतालमा नगरवासीका लागि प्रतिव्यक्ति एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार बीमा कार्यक्रम सञ्चालन गरेर प्रशंसा बटुलेको नगरपालिकाले अहिले क्षयरोग परीक्षण सेवामा पनि नयाँ फड्को मारेको छ ।
नगर अस्पतालमा जापानबाट ल्याइएको अत्याधुनिक खकार (स्पुटम) परीक्षण मेसिन जडान भएसँगै अब एकैपटक १६ जनासम्मको खकार परीक्षण गर्न सकिने भएको छ । यसअघि एउटै नमुना परीक्षण गर्नुपर्ने भएकाले समय धेरै लाग्ने अवस्था थियो । नयाँ प्रविधि भित्रिएसँगै परीक्षणको गति तीव्र हुने, बिरामीले छिटो रिपोर्ट प्राप्त गर्ने तथा स्वास्थ्य सेवा थप प्रभावकारी बन्ने अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका प्राविधिकका अनुसार यस मेसिनले क्षयरोगको परीक्षणलाई अझै छिटो, भरपर्दो र गुणस्तरीय बनाउनेछ । नगरवासीले अब क्षयरोग परीक्षणका लागि अन्य अस्पताल वा स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । मेसिन सञ्चालनका लागि जापानबाट आएको प्राविधिक टोलीले नगर अस्पतालका स्वास्थ्यकर्मीलाई चारदिने विशेष तालिम प्रदान गर्ने कार्यक्रमसमेत रहेको अस्पतालले जनाएको छ । तालिमपछि स्थानीय स्वास्थ्यकर्मी आफैंले मेसिन सञ्चालन गरी नियमित सेवा दिनेछन् ।
नयाँ सेवा सुरु भएपछि अस्पताल पुगेका धेरै बिरामीले नगरपालिकाको स्वास्थ्य क्षेत्रमा गरिएको लगानीको खुलेर प्रशंसा गरेका छन् । उनीहरूले नगरप्रमुख दीपक रिसालको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा भएका सुधारले नगरवासीलाई प्रत्यक्ष लाभ पुगेको प्रतिक्रिया दिएका छन् । यो अत्याधुनिक मेसिन नगरप्रमुख दीपक रिसालको विशेष पहलमा जापान सरकार, राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुर, जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं तथा गोकर्णेश्वर नगरपालिकाको संयुक्त समन्वयमा नगर अस्पतालमा जडान गरिएको हो ।
नगरप्रमुख दीपक रिसालले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले नगरपालिकाले त्यसलाई प्राथमिकतामा राख्दै निरन्तर काम गरिरहेको बताउनुभयो । ‘हामीले जनताबाट कर संकलन गरेका छौं । त्यसको प्रतिफल नागरिकले गुणस्तरीय सेवा पाएर महसुस गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो’, उहाँले भन्नुभयो । उहाँका अनुसार गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा मात्र नभई शिक्षा, खेलकुद, पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रमा पनि उल्लेखनीय काम गर्दै आएको छ । आगामी दिनमा समेत नगरवासीलाई सहज, गुणस्तरीय र प्रविधिमैत्री सेवा उपलब्ध गराउने लक्ष्यका साथ नगरपालिकाले विभिन्न योजना अघि बढाइरहेको उहाँले बताउनुभयो ।







आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा
भोटेकोशी बाढी : चिन्तित छन्
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै
उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट
आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा
बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल