ललितपुर । एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स (आइडा) ले काठमाडौं विश्वविद्यालय (केयु)सँगको शैक्षिक साझेदारीमा सञ्चालन हुने दुईवर्षे स्नातकोत्तर कार्यक्रम ‘मास्टर इन इन्टरनेसनल अफेयर्स, इकोनोमी एण्ड डिप्लोमेसी (एमआइएइडी)’को पहिलो शैक्षिक सत्र (सेप्टेम्बर २०२६) का लागि आवेदन खुला गरेको छ । प्रतिदिन अन्तरसम्बधित बन्दै गइरहेको अन्तर्राष्ट्रिय सन्दर्भमा विश्वस्तरीय दक्षता भएका युवा पुस्ताका नेतृत्वकर्ता तयार गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको आइडाले जनाएको छ ।
भूराजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको, विश्व अर्थतन्त्र निरन्तर रूपान्तरणको चरणमा रहेको, प्रविधिगत परिवर्तन अभूतपूर्व गतिमा अघि बढिरहेको तथा विश्वव्यापी चुनौतीहरू दिनप्रतिदिन जटिल बन्दै गइरहेका बेला अन्तर्राष्ट्रिय मामिलालाई रणनीतिक दृष्टिकोणबाट बुझ्न र नेतृत्व गर्न सक्ने दक्ष जनशक्तिको आवश्यकता विगतमा भन्दा बढी महसुस भएको बताइएको छ । एमआइएइडी कार्यक्रमले शैक्षिक उत्कृष्टता र व्यावहारिक नीतिगत अनुभव संयोजन गर्दै विद्यार्थीलाई विश्वव्यापी नेतृत्वका लागि आवश्यक ज्ञान, विश्लेषणात्मक क्षमता तथा नेतृत्व क्षमता प्रदान गर्ने लक्ष्य राखेको छ । आइडाका संस्थापक तथा कार्यकारी अध्यक्ष सुनिल केसीका अनुसार आइडा र केयुबीचको शैक्षिक साझेदारीमा सुरु गरिएको कार्यक्रमले अन्तर्राष्ट्रिय मामिला, कूटनीति, अर्थशास्त्र, सार्वजनिक नीति, रणनीतिक अध्ययन तथा विश्व राजनीतिसम्बन्धी विषयलाई अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डअनुरूप तयार गरिएको अन्तरविषयक पाठ्यक्रममा समेटेको छ ।
नीतिगत प्रयोगशाला, कूटनीतिक सिमुलेसन, वार्ता अभ्यास, व्यावहारिक अनुसन्धान, कार्यकारी संवाद र अनुभवी अभ्यासकर्तासँगको प्रत्यक्ष अन्तरक्रियामार्फत् विद्यार्थीले सिद्धान्तलाई व्यवहारसँग जोड्ने अवसर प्राप्त गर्नेछन् । कार्यक्रममा नेपाल तथा विदेशका प्रतिष्ठित विद्वान्, पूर्वराजदूत, कूटनीतिज्ञ, नीति निर्माता, विकास विज्ञ तथा उद्योग क्षेत्रका विशेषज्ञहरूको अध्यापन रहनेछ । यस विविध शैक्षिक तथा व्यावसायिक सञ्जालमार्फत् विद्यार्थीले समकालीन विश्वका प्रमुख मुद्दाहरूको प्रत्यक्ष अध्ययन गर्ने तथा अन्तर्राष्ट्रिय नीति निर्माण र कूटनीतिक अभ्यासबारे व्यावहारिक अनुभव हासिल गर्ने अवसर पाउनेछन् । आइडा-एमआइएइडीका डिन प्रा. इम्तियाज अहमदले भन्नुभयो, ‘दुईवर्षे एमआइएइडी स्नातकोत्तर कार्यक्रम चार सेमेस्टरमा विभाजित छ भने कुल ६० शैक्षिक क्रेडिट समावेश छन्, यस कार्यक्रमका सम्पूर्ण अध्यापन अंग्रेजी भाषामा प्रत्यक्ष कक्षामार्फत् सञ्चालन हुनेछ । कार्यक्रमले अन्तर्राष्ट्रिय मामिला, कूटनीति, अन्तर्राष्ट्रिय राजनीतिक अर्थतन्त्र, सुरक्षा तथा रणनीति, उदीयमान विश्वव्यापी चुनौती, अनुसन्धान पद्धति तथा नेतृत्व विकासजस्ता विषयहरू समेट्छ ।’
उक्त कार्यक्रममा सरकारी कर्मचारी, परराष्ट्र सेवाका अधिकृत, सैन्य अधिकारी, विकास क्षेत्रका विज्ञ, कर्पोरेट नेतृत्वकर्ता, पत्रकार, अनुसन्धानकर्ता, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारी, उद्यमी, सार्वजनिक नीति विशेषज्ञका साथै अन्तर्राष्ट्रिय मामिला र विश्वव्यापी नेतृत्वमा रुचि राख्ने हालै स्नातक तह पूरा गरेका विद्यार्थीले पनि आवेदन दिन सक्ने आइडा-एमआइएइडी कार्यक्रमका कार्यकारी उपाध्यक्ष तथा प्रिन्सिपल राजदूत डा. दुर्गाबहादुर सुवेदीले बताउनुभएको छ । आवेदकले मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । पहिलो समूहमा अधिकतम ४० जना विद्यार्थीमात्र भर्ना गरिने र उत्कृष्ट विद्यार्थीले योग्यताका आधारमा छात्रवृत्ति र फेलोसिपसमेत प्राप्त गर्ने बताइएको छ ।






टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी
मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा