काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले अमेरिकाको सिकागो विश्वविद्यालयसँगको सहकार्यमा अन्तर्राष्ट्रिय साहित्य अनुवाद कार्यशाला आयोजना गर्ने भएको छ । केयूको भाषा तथा जनसञ्चार विभाग र सिकागो विश्वविद्यालयअन्तर्गतको ‘दक्षिण एसियाली साहित्य अनुवाद परियोजना’ (एसएएलटी)को संयुक्त आयोजनामा धुलिखेलमा आगामी भदौ २६ देखि २८ गतेसम्म तीनदिने कार्यशाला सञ्चालन गर्न लागिएको हो ।
आयोजकका अनुसार नेपाली तथा दक्षिण एसियाली भाषाका साहित्यलाई अंग्रेजीमा अनुवाद गर्न रुचि राख्ने अनुवादकलाई लक्षित गरी आयोजना गरिएको कार्यशालामा कविता र गद्य अनुवादका विभिन्न विधि, प्रक्रिया र अभ्यासबारे प्रशिक्षण प्रदान गरिनेछ । कार्यशालामा सहभागी हुन इच्छुकले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् । प्राप्त आवेदनमध्ये २४ जना सहभागी छनोट गरिने आयोजकले जनाएको छ ।
कार्यशालामा अन्तर्राष्ट्रिय बुकर पुरस्कार विजेता अनुवादक डेजी रकवेल र दीपा भस्थीसहित विश्वप्रसिद्ध अनुवादकहरूको सहभागिता रहनेछ । रकवेलले भारतीय लेखिका गीताञ्जली श्रीको उपन्यास टम्ब अफ स्याण्ड अंग्रेजीमा अनुवाद गर्नुभएको थियो, जसले सन् २०२२ को अन्तर्राष्ट्रिय बुकर पुरस्कार जितेको थियो । त्यसैगरी, भस्थीले भारतीय लेखिका बानु मुश्ताकको कथासंग्रह हार्ट ल्याम्प अंग्रेजीमा अनुवाद गर्नुभएको थियो, उक्त कृतिले सन् २०२५ को अन्तर्राष्ट्रिय बुकर पुरस्कार प्राप्त गरेको थियो ।
यस्तै, सिकागो विश्वविद्यालयअन्तर्गतको एसएएलटी परियोजनाका सह–निर्देशक जेसन ग्रुनेबाम तथा अन्तर्राष्ट्रिय रूपमा परिचित साहित्यिक अनुवादक ड्यानियल हानले पनि प्रशिक्षकका रूपमा प्रशिक्षण दिनुहुनेछ ।
निःशुल्क रूपमा सञ्चालन हुने कार्यशालामा छनोट भएका सहभागीलाई आवश्यकताका आधारमा यात्रा खर्च तथा बसोवासको सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ । आवेदनका क्रममा सहभागीले आफ्नो अनुवादको नमुना, अनुवाद शैली तथा कार्यशालामा सहभागी हुन चाहनुको कारणसमेत उल्लेख गरी विवरण पेश गर्नुपर्नेछ ।
काठमाडौं विश्वविद्यालयका अनुसार कार्यशालाले नेपाली साहित्यको अंग्रेजी अनुवाद प्रवर्द्धन गर्नुका साथै नयाँ पुस्ताका अनुवादकको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :