काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनादेखि लागू हुनेगरी राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान औपचारिक रूपमा सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय र सरकारी कार्यालयहरूलाई परिपत्र गर्दै वृद्धि भएको नयाँ तलब, ग्रेड र प्रोत्साहन भत्ताको विवरण पठाएको हो । यसअघि गत जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्दा सरकारले कर्मचारीहरूको तलब बढाउने घोषणा गरेको थियो । तत्कालीन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत तलब स्केलमा १० प्रतिशत वृद्धि गर्ने र थप १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गर्नुभएको थियो । यसरी समग्रमा २१ प्रतिशत तलब बढ्ने जानकारी उहाँले दिनुभएको थियो । सोही बजेटको व्यवस्थालाई कार्यान्वयन गर्न यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी अन्तिम निर्णय गरेको थियो ।
अर्थ मन्त्रालयको पत्राचारअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा र संसद् सेवाका कर्मचारीहरूको तलब बढेको छ । यसैगरी, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूले पनि साउन १ गतेदेखि नै लागू हुनेगरी निवृत्तभरण प्रयोजनका लागि अनुसूची एकदेखि आठसम्मको नयाँ तलबमान अनुसारको रकम पाउनेछन् । उनीहरू सबैले वृद्धिपछि कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता र एक दिनको तलब बराबरको ग्रेड रकमसमेत प्राप्त गर्नेछन् ।
निजामती र सुरक्षा निकायमा कसको तलब कति पुग्यो ?
नयाँ विवरणअनुसार निजामती सेवाको सबैभन्दा उपल्लो पद मुख्यसचिवको कुल तलब ९० हजार ५९४ रुपैयाँ पुगेको छ । मुख्यसचिवको सुरुको तलब स्केल ८४ हजार ९३२ रुपैयाँ कायम गरिएको छ र त्यसमा दुई ग्रेडसम्मको रकम जोडिएर सो तलब पुगेको हो । यस्तै, विशिष्ट श्रेणीका सचिवहरूको कुल तलब ८४ हजार ५७६ रुपैयाँ पुगेको छ भने सुरुको तलबमान ७९ हजार २९० रुपैयाँ तोकिएको छ । अवकाश प्राप्त अतिरिक्त सचिवहरूले पेन्सन प्रयोजनका लागि भने ६६ हजार ५३९ रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, स्वास्थ्य सेवाको बाह्रौँ तहका अधिकृत र संसद् सेवाका सचिवको तलब पनि निजामती सेवाका सचिवसरह नै हुने मन्त्रालयले स्पष्ट पारेको छ ।
अन्य तहका निजामती कर्मचारीहरूको तलबमान पनि सोही अनुपातमा बढाइएको छ । राजपत्रांकित प्रथम श्रेणीको तलब ६२ हजार ४६६ रुपैयाँ तोकिएको छ । राजपत्रांकित द्वितीय श्रेणीको ५३ हजार ६११ रुपैयाँ र राजपत्रांकित तृतीय श्रेणीको तलब ४८ हजार ५८ रुपैयाँ पुगेको छ । यसैगरी, राजपत्र अनंकिततर्फ प्रथम श्रेणी (अतिरिक्त मान पेन्सन) को लागि ४१ हजार ५१७ रुपैयाँ र साधारणतर्फ ३८ हजार २०३ रुपैयाँ तोकिएको छ । राजपत्र अनंकित द्वितीय श्रेणी (अतिरिक्त मान पेन्सन) को लागि ३७ हजार ४०७ रुपैयाँ र साधारणको ३६ हजार १९२ रुपैयाँ कायम भएको छ । राजपत्र अनंकित तृतीय श्रेणीको लागि ३० हजार ३७३ रुपैयाँ र राजपत्र अनंकित चतुर्थ श्रेणीको तलब २८ हजार ६९० रुपैयाँ तोकिएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेनाका विभिन्न दर्जाका अधिकारीहरूको पनि नयाँ तलब र सुविधा निर्धारण गरिएको छ । नेपाली सेनाको सर्वोच्च पद प्रधानसेनापतिको मासिक तलब निजामती सेवाको मुख्यसचिवसरह नै ९० हजार ५९४ रुपैयाँ कायम गरिएको छ । प्रधानसेनापतिको सुरुवाती तलब ८४ हजार ९३२ रुपैयाँ रहेकोमा दुई ग्रेड थप भएपछि यो कुल रकम पुगेको हो । सेनाका अन्य उच्च अधिकारीहरूतर्फ रथीको कुल तलब ८७ हजार ८५ रुपैयाँ र उपरथीको ८४ हजार ५७६ रुपैयाँ निर्धारण गरिएको छ । विमान सम्भार समूहतर्फका प्राविधिक सैनिकहरूको तलब सोही अनुपातमा केही बढी छ, जसमा पाइलट उपरथीको तलब ९० हजार ५०९ रुपैयाँसम्म पुगेको छ ।
सेनाका तहगत तलब वृद्धिको विवरणअनुसार सहायक रथीको ७८ हजार २२० रुपैयाँ, महासेनानीको ७२ हजार ८७६ रुपैयाँ र प्रमुख सेनानीको ६९ हजार नौ रुपैयाँ पुगेको छ । यसैगरी, सेनानीको मासिक तलब ६७ हजार ९०७ रुपैयाँ कायम हुँदा सह-सेनानीले ६२ हजार ३१५ रुपैयाँ र उप-सेनानीले ५९ हजार ५३७ रुपैयाँ बुझ्नेछन् । सहायक सेनानीको तलब भने ४८ हजार ५८ रुपैयाँ तोकिएको छ ।
जुनियर कमिसण्ड अफिसर (जेसिओ) तर्फ प्रमुख सुवेदारको मासिक तलब ४९ हजार ६०७ रुपैयाँ पुगेको छ । सुवेदारको ४७ हजार ११४ रुपैयाँ र जमदारको ४३ हजार ३७२ रुपैयाँ कायम भएको छ । तल्लो तहका सैनिक कर्मचारीहरूमा हुद्दाको ३७ हजार ६४८ रुपैयाँ, अमलदारको ३७ हजार ४५७ रुपैयाँ र प्युठको ३७ हजार ११३ रुपैयाँ तलब कायम गरिएको छ । सेनाको आधारभूत पद सिपाहीको मासिक तलब ३६ हजार ३३८ रुपैयाँ पुगेको छ । त्यस्तै, रिक्रुटको २७ हजार १७२ रुपैयाँ र विभिन्न श्रेणीका फलोअर्सहरूको तलब दर्जाअनुसार २८ हजारदेखि ४० हजार रुपैयाँको हाराहारीमा रहेको छ ।
यस्तो छ शिक्षकहरूको नयाँ तलबमान
सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको पनि तलब वृद्धि भएको विवरण सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूमा माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब ग्रेडसहित ७४ हजार ९५८ रुपैयाँ पुगेको छ । माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकको सुरुको तलबमान ५३ हजार ६११ रुपैयाँमा थप आठ ग्रेडको एक हजार ७८७ रुपैयाँ गरी जम्मा तलब ६७ हजार ९०७ रुपैयाँ पुगेको छ । त्यसैगरी, माध्यमिक तह तृतीय श्रेणीका शिक्षकको सुरुको तलबमान ४८ हजार ५८ रुपैयाँमा आठ ग्रेडको एक हजार ६०२ रुपैयाँसहित जम्मा तलब ६० हजार ८७४ रुपैयाँ पुगेको छ ।
निम्नमाध्यमिक तह प्रथम श्रेणीका शिक्षकको सुरुको तलबमान ५० हजार ४४८ रुपैयाँ रहेकोमा आठ ग्रेडको १ हजार ६८२ रुपैयाँसहित गरी जम्मा तलब ६३ हजार ९०४ रुपैयाँ भएको छ । निम्न माध्यमिक तहको द्वितीय श्रेणीका शिक्षकको तलब आठ ग्रेडसहित बढेर ६० हजार ८७४ रुपैयाँ पुगेको छ भने तृतीय श्रेणीका शिक्षकको पनि आठ ग्रेडसहित ४८ हजार ३८४ रुपैयाँ पुगेको छ ।
प्राथमिक तहको प्रथम श्रेणीका शिक्षकको तलब पनि आठ ग्रेडसहित जोड्दा बढेर ६० हजार ८७४ रुपैयाँ भएको छ । प्राथमिक तह द्वितीय श्रेणीको आठ ग्रेडसहित तलब ४८ हजार ३८७ रुपैयाँ पुगेको छ । प्राथमिक तह तृतीय श्रेणीका शिक्षकले अब ६ ग्रेडसहित ४३ हजार ४२८ रुपैयाँ तलब पाउनेछन् ।
यसैगरी, प्राथमिक तहकै दरबन्दीमा रहेका दुई विषयसम्म एसएलसी अनुत्तीर्ण शिक्षकको तलब ६ ग्रेडसहित महिनामा ३६ हजार ४४५ रुपैयाँ पुगेको छ । दुई विषयभन्दा बढी एसएलसी अनुत्तीर्ण शिक्षकको ६ ग्रेडसहित ३४ हजार ४२६ रुपैयाँ पुगेको छ, जुन शिक्षकहरूतर्फको सबैभन्दा कम तलब हो । यसरी नयाँ आर्थिक वर्षको सुरुवातसँगै नेपालका सम्पूर्ण सरकारी सेवाका कर्मचारीहरू तथा शिक्षकहरूले नयाँ तलबमान र थपिएको प्रोत्साहन भत्ता अनुसारको सुविधा यही साउन महिनादेखि नै प्राप्त गर्ने निश्चित भएको छ ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :