काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादलाई फेरि सुरुदेखि सुनुवाइ गर्ने भएको छ । कांग्रेसका असन्तुष्ट समूहले यसअघिको फैसला पुनरावलोकन हुनुपर्ने माग राखी दिएको निवेदनमा निस्सा हुने आदेश गरेको हो । प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले निस्सा हुने अनुमति दिएकाले कांग्रेस विवादबारे निर्णय भइसकेको फैसला सुरुदेखि सुनुवाइ हुनेछ ।
यी न्यायाधीशबाहेक तीनजनाले गर्ने सुनुवाइमा यसअघिको फैसला सदर वा उल्टिने आदेश पनि हुनसक्छ । फैसला उल्टिएको खण्डमा कांग्रेसको असन्तुष्ट समूहले गरेको मागदाबी सही ठहरिनेछ र विशेष महाधिवेशनले मान्यता पाउँदैन । तर, सोही फैसला सदर भएको खण्डमा भने विशेष महाधिवेशनले मान्यता पाउनेछ ।
यसअघि, न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापाको कार्यसमितिलाई मान्यता दिएको थियो । देउवा पक्षको रिटलाई भने त्यतिबेला खारेज गरिदिएको थियो । यस आदेशलाई पुनरवलोकन गर्न भन्दै देउवाले गत साउन ७ गते उक्त निवेदन वारेसमार्फत पठाउनुभएको थियो ।
अब के हुन्छ प्रक्रिया ?
यसअघि, न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो । निर्वाचन आयोगले २०८२ माघ २ मा कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँदै त्यहाँबाट निर्वाचित नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको थियो ।
निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन र निर्वाचन आयोगको अद्यावधिक गर्ने निर्णयविरुद्ध दायर गरेको रिटलाई सर्वोच्चले खारेज गर्दै भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनलाई विधान बमोजिमको अनिवार्य प्रक्रिया भनी व्याख्या गरेको थियो । सर्वोच्चको उक्त फैसलामा गम्भीर कानुनी त्रुटि रहेको दाबी गर्दै देउवा र खड्काले दिएको निवेदनमा ‘निस्सा’ (अनुमति) पाएसँगै अब यो मुद्दा फेरि सुरुदेखि सुनुवाइ हुने भएको छ ।
पुनरवलोकनको अनुमति पाइसकेपछि अब यो मुद्दाको अन्तिम किनारा लगाउन ‘पूर्ण इजलास’ मा लगिनेछ । सामान्यतया, यसअघि फैसला गर्ने न्यायाधीशहरू बाहेकका अन्य न्यायाधीशहरूको इजलासले यसको सुनुवाइ गर्नेछ । अदालतले पुनरवलोकनको आदेश दिएपछि अब विपक्षी पक्ष बनाइएका गगन थापा नेतृत्वको समिति र निर्वाचन आयोग आदिलाई अदालतले सूचना (म्याद) पठाउनेछ । उनीहरूले आफ्नो प्रतिरक्षामा बहस गर्न पाउनेछन् ।
निवेदक देउवा र खड्काले दाबी गरेअनुसार अघिल्लो फैसलामा ‘स्थापित नजिर र कानुनी सिद्धान्त’ प्रतिकूल भए/नभएको बारेमा इजलासले सूक्ष्म अध्ययन गर्नेछ । यसअघिको फैसलामा कुन कानुन मिचिएको छ वा कुन तथ्य छुटेको छ भन्नेमा बहस केन्द्रित हुनेछ । सर्वोच्चले उक्त मुद्दामा भएको आदेशको संवैधानिकताको समेत व्याख्या गर्नेछ ।
पूर्ण इजलासले बहस र प्रमाणका आधारमा दुईवटा निर्णय लिनसक्छ । यदि पुनरवलोकन गर्दा अघिल्लो फैसलामै त्रुटि नदेखिएमा गगन थापा नेतृत्वकै आधिकारिकता कायम रहनेछ । यदि अघिल्लो फैसला त्रुटिपूर्ण देखिएमा अदालतले त्यसलाई उल्ट्याउन सक्छ । यसो भएमा शेरबहादुर देउवा पक्षको दाबीअनुसार नेपाली कांग्रेसको वैधानिकता पुरानै अवस्थामा फर्कन सक्छ वा अदालतले नयाँ व्याख्या गर्नसक्छ ।
सुरुमा सर्वोच्चले आयोगकै निर्णय सदर गरे पनि अहिले सर्वोच्च आफ्नै फैसला पुनरावलोकन गर्न तयार भएपछि कांग्रेसभित्रको अन्तरसंघर्षले नयाँ मोड लिनेछ । सर्वोच्च अदालतको पूर्ण इजलासलमा पेसी तोकी फैसला आएसँगै नेपाली कांग्रेसको ‘आधिकारिक संस्थापन पक्ष’ को हो ? भन्ने टुंगो लगाउनेछ ।
‘पुनः परीक्षणले वैधानिक तथ्य थप स्पष्ट हुन्छ’ : उपभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिएपछि प्रतिक्रिया जनाउनुभएको छ । सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उहाँले सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिक पक्ष थप स्पष्ट हुने विश्वास व्यक्त गर्नुभएको छ । शर्माले संयुक्त इजलासले यसअघि रिट खारेज गरी विषयको न्यायिक निरुपण गरिसकेको उल्लेख गर्दै पुनरवलोकनमा नगए पनि हुने अवस्था रहेको बताउनुभएको छ । ‘सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरेर टुंग्याइसकेको विषयमा पुनरवलोकनमा नगएको भए पनि लामो बहसपछि न्यायिक निरुपण भइसकेकै थियो’, उहाँले लेख्नुभएको छ, ‘यद्यपि पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनीतिक सत्यलाई थप फराकिलो ढंगले उजागर गर्न पक्कै मद्दत पुर्याउनेछ ।’ उहाँले नेपाली कांग्रेस विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण तथ्य संयम र परिपक्वताका साथ सम्मानित अदालतसमक्ष पुनः प्रस्तुत गर्न पूर्ण रूपमा स्पष्ट, खुला र तत्पर रहेको पनि बताउनुभएको छ ।
कांग्रेस पूर्वसभापति देउवा साउन २६ मा स्वदेश फर्किने
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते स्वदेश फर्किने हुनुभएको छ । उपचारका लागि पत्नी डा. आरजु राणासहित हङकङमा रहनुभएका देउवा २६ गते स्वदेश फर्किने तय भएको नेता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँ साउन २६ गते राति पौने १० बजेको उडानर्माफत काठमाडौं फर्किन लागेको नेता डा. महतले बताउनुभयो । पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका देउवा सिंगापुरमा उपचारपछि थप उपचारका लागि गत चैत ७ गते हङकङ प्रस्थान गर्नुभएको थियो । त्यसअघि उहाँ फागुन १३ गते नेपालबाट सिंगापुर जानुभएको थियो । साउन ५ गते बीपी स्मृति जयन्तीमा एक सन्देश जारी गर्दै देउवाले आफू चाँडै स्वदेश फर्किन लागेको जानकारी गराउनुभएको थियो । लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि आफू स्वदेश फर्किन लागेको देउवाको घोषणा थियो । देउवा पक्षले यही साउन २९-३१ गते काठमाडौंमा राष्ट्रिय भेलासमेत बोलाइसकेको छ । राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा देउवा स्वदेश फर्किन लाग्नुभएको हो ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :