काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठकमा अबदेखि सांसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन् । सभामुख डोलप्रसाद (डिपी) अर्यालले अबदेखि संसद् बैठकमा कालो चस्मा लगाउन नमिल्ने निर्णय गर्नुभएको हो । सभामुख अर्यालले कालो चस्मा लगाउन नपाइनेबारे आफ्नो दलका सांसदहरूलाई समयमै जानकारी दिन प्रमुख सचेतक र सचेतकहरूलाई आग्रह गर्नुभएको छ । बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकाले अबदेखि लगाउन नपाइने बताउनुभएको थियो । प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र केही सांसदहरू कालो चस्मा लगाएर संसद् बैठकमा सहभागी हुने गरेका छन् । कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापाले अबदेखि संसद् बैठकमा सांसदहरू उपस्थित हुँदा कालो चस्मा लगाउन नपाइने जानकारी सभामुखबाट आएको उल्लेख गर्दै भन्नुभयो, ‘कालो चस्मा लगाएको विषयमा बारम्बार प्रश्न उठिराखेको छ, अब चाहिँ सांसदहरूले संसद् बैठकमा कालो चस्मा लगाउन भएन । यो कुरा प्रमुख सचेतक र सचेतकहरूले आफ्ना सांसदहरूलाई खबर गरिदिनुहोला भनेर सभामुखले भन्नुभएको छ ।’
अबदेखि कालो चस्मा लगाएर संसद् बैठकमा उपस्थित हुन नपाइने नियम प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि लागू हुनुपर्ने जिकिर गर्दै प्रमुख सचेतक थापाले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरू नै कालो चस्मामा संसद्मा उपस्थित हुने गर्नुभएको छ, उहाँहरूलाई सभामुखज्यूले भन्नुपर्यो । हामी हाम्रा सांसदहरूलाई अबदेखि कालो चस्मा नलगाउनुस् भन्छौँ ।’ त्यसपछि सभामुख अर्यालले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारलाई कालो चस्मा लगाउन नपाइने नियमबारे सरकारलाई पनि जानकारी गराउन आग्रह गर्नुभएको थियो । संसद् बैठकलाई मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग पनि उठेको जानकारी दिँदै सचेतक परियारले भन्नुभयो, ‘संसद् बैठकलाई अलिकति मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग पनि उठेको थियो । सांसदहरू लोगो लगाएर आउनुपर्छ र मर्यादित पोसाकबारे पनि कुरा उठेको थियो ।’
विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले संसद्को गरिमा र मूल्यमान्यता कायम राख्नुपर्ने कुरा सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठकमा गरेको जानकारी दिँदै भन्नुभयो, ‘सभामुखज्यूले संसद्को गरिमा र मूल्यमान्यता कायम भएन, विश्वमा कहीँ पनि यस्तो हुँदैन, कोट लगाउनुपर्यो, कालो चस्मा लगाएको राम्रो देखिएन भन्ने कुरा गर्नुभएको हो ।’
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले संसद् चलिरहेका बेला सांसदहरू बैठक कक्ष बाहिरको लबीमा धेरैबेरसम्म उभिएर कुराकानी गर्ने गरेकोमा पनि असन्तुष्टि जनाउनुभएको छ । सभामुखले सांसदहरूलाई कालो चस्मा लगाएर संसद् नआउन भनेपछि सांसद, मन्त्री र प्रधानमन्त्रीले अब के गर्छन् ? भन्ने चासोको विषय बनेको छ । प्रतिनिधिसभा नियमावलीमा पोसाक र प्रतीक चिह्नबारे व्यवस्था छ । प्रतिनिधिसभा सदस्यहरूको पोसाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोकेबमोजिम हुने व्यवस्था छ । पोसाक तोक्दा औपचारिक, मौलिक संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषामा ध्यान दिनुपर्ने उल्लेख छ ।
संसदीय क्यालेण्डरमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर गायव
प्रतिनिधिसभाको संसदीय क्यालेण्डर आएको छ । बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएर स्वीकृत भएपछि संसदीय क्यालेण्डर सार्वजनिक गरिएको हो । क्यालेण्डरअनुसार साउन महिनामा अब तीनवटा बैठक बस्नेछन् । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बोलाइएको छ । जहाँ शून्य समय, विशेष समय चलाउने भनिएको छ । अर्को बैठक साउन २५ गते बस्नेछ । जहाँ शून्य समय, शून्य/विशेष र आकस्मिक समयमा उठेका प्रश्नको मन्त्रीबाट जवाफ दिने कार्यक्रम राखिनेछ । साउन २६ गते बस्ने बैठकमा शून्य समय, विशेष समय चलाउने भनिएको छ । संसदीय क्यालेण्डरअनुसार भदौ १५ गतेसम्म ६ वटा बैठक राखिनेछ । भदौ १, २ र ३ गते बैठक राख्ने भनिएको छ । त्यसपछि भदौ ८, ९ र १० गते बैठक राख्नेगरी क्यालेण्डर तयार भएको छ । भदौ १ गते शून्य समय, शून्य/विशेष र आकस्मिक समयमा उठेका प्रश्नको मन्त्रीबाट जवाफ प्रस्तुत गर्ने भनिएको छ । भदौ २ गते मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रम गर्ने भनिएको छ । भदौ ३ गते शून्य समय, शून्य/विशेष र आकस्मिक समयमा उठेका प्रश्नको मन्त्रीबाट जवाफ प्रस्तुत हुनेछ । भदौ ८ गते विधेयकलाई सम्बन्धित समितिमा पठाउने कार्यसूची छ । भदौ ९ गते र १० गते पनि विधायिकी कार्यहरू गर्ने, मन्त्रालयगत प्रश्नोत्तर, वार्षिक प्रतिवेदन पेस, प्रस्तावहरू (जरुरी/संकल्प/ध्यानाकर्षण) प्रस्ताव अगाडि बढाउने विषयहरू क्यालेण्डरमा उल्लेख छ ।
तर, प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने विषय संसदीय क्यालेण्डरमा समावेश गरिएको छैन । बालेन्द्र शाह नेतृत्वमा वर्तमान सरकार बनेपछि प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन सकेको छैन । १७ जेठमा प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूको प्रश्न लिएर जवाफ दिनुभएको थियो । तर, उक्त कार्यक्रमको प्रक्रियामा त्यसैदिन सदनमा सांसदहरूले प्रश्न उठाएका थिए । त्यसयता यस्तै खालको प्रश्नोत्तर पनि प्रधानमन्त्रीसँग भएको छैन । यस अवस्थामा संसदीय क्यालेण्डरमा पनि संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम राख्नै छाडिएको छ । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ । तर, यस्तो प्रावधान कार्यान्वयन भएको छैन । यो व्यवस्था कार्यान्वयन नभएको भनेर संसद्मा सांसदहरूले प्रश्न उठाइरहेका छन् । संसद्लाई जीवन्त र सरकारलाई उत्तरदायी बनाउन भन्दै यो अभ्यास सुरु गरिएको थियो । तर, गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका बालेन्द्र शाहले यो अभ्यासलाई नियमावलीमा व्यवस्था भए पनि बेवास्ता गर्दै आउनुभएको छ ।
साउनभर राष्ट्रियसभाका तीन बैठक बस्ने
साउन महिनाभर संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक तीन दिन बस्ने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको अद्यावधिक कार्यतालिकाअनुसार साउन महिनाको बाँकी अवधिमा राष्ट्रियसभाका तीन बैठक बस्ने भएका हुन् । साउन २२, २७ र २८ गते बस्ने कार्यतालिकामा उल्लेख छ । २२ गतेको बैठकमा संक्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ लाई सैद्धान्तिक छलफल हुनेछ । साउन २७ गतेको बैठकमा मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ मा छलफल गर्ने र आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ सभामा पेस गरिने उल्लेख छ । साउन २८ गतेको बैठकमा अघिल्लो दिन पेस भएको आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल (विचार गरियोस् भन्ने प्रस्ताव) हुने कार्यसूची छ ।
संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीले दिए प्रश्न नगर्न चेतावनी
गृहमन्त्री सुधन गुरुङले संसद्को रोष्ट्रमबाटै सांसदहरूलाई प्रश्न नगर्न चेतावनी दिनुभएको छ । गृहमन्त्री गुरुङ बिहीबार राष्ट्रियसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा सरिक हुनुभएको थियो । तर, सांसदहरूका प्रश्नको जवाफ दिन रोष्ट्रम उक्लिनुभएका गृहमन्त्री गुरुङले प्रश्नकर्ता सांसदलाई नै प्रतिप्रश्न गर्नुभएको छ । पहिलो प्रश्न नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले गर्नुभएको थियो । सांसद विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय उठाउँदै भन्नुभयो, ‘कञ्चनपुरकी निर्मला पन्तको दिनदहाडै भएको जघन्य बलात्कार र हत्या प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो ?
यो राज्य संयन्त्रको अक्षमता हो कि कारबाही गर्न नचाहेको उदासीनता हो ? सरकारले हाम्रो चेली निर्मलालाई कहिलेसम्म न्याय दिलाउँछ ?’ जवाफमा गृहमन्त्री गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर लागिरहेको बताउनुभयो । देशमा हुने हत्या हिंसा बलात्कार लगायतका अपराधहरूको अनुसन्धान चरणबद्ध रूपमा काम गरिरहेको भन्दै गृह मन्त्रालयको मुख्य विषय के हो ? ख्याल गर्न उहाँले सांसदहरूलाई सुझाउनुभयो । निर्मला पन्तको विषयमा किन प्रश्न उठाएको भनेर प्रश्नकर्ता सांसद विश्वकर्मालाई नै प्रतिप्रश्न गर्दै गुरुङले भन्नुभयो, ‘माननीयज्यूले उठाउनुभएको विषय एकदमै सेन्सिेटिभ छ । यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु, हजुरहरू सत्तामा हुँदाखेरी किन नगर्नुभएको यो ?’
आफू सरकारमा हुँदा काम नगर्ने अनि नयाँ सरकार बनेपछि यो विषय उठाएर घाउलाई कोट्याउने काम किन गरेको ? भनेर अर्को प्रश्न गर्नुभएका गुरुङले भन्नुभयो, ‘अहिले हामीलाई आएर त्यो भारी बोकाउँदै गर्दाखेरी माननीयज्यूलाई एउटा आग्रह गर्न चाहेँ, यो एकदम सेन्सिेटिभ विषय हो । यो सेन्सिेटिभ विषयलाई हामीले जहिले पनि त्यो एउटा आमाको घाउलाई कोट्याएको कोट्याई गर्ने हो कि सदनको मार्फतबाट उहाँलाई पीडा दिइराख्ने हो ?’ यसमा चरणबद्ध रूपमा सूक्ष्म तरिकाले अनुसन्धान गरेर रिजल्ट दिनुपर्ने भन्दै फेरि प्रश्न गर्नुभयो, ‘तपाईं कोही मान्छे बित्दै गर्दाखेरी त्यसबारे दिनका दिन सम्झाउँदा, राष्ट्रियस्तरबाट सम्झाउँदा तपार्इंलाई मजा आउँछ होला त ? तपार्इंलाई मनमा शान्ति हुन्छ होला त ? यो पनि म हजुरलाई प्रश्न गर्न चाहन्छु ।’
प्रश्नकर्ता सांसदलाई एकपछि अर्को प्रश्न गर्नुभएका गृहमन्त्री गुरुङले यो विषयमा फेरि प्रश्न नउठाउन चेतावनी दिँदै भन्नुभयो, ‘म सम्पूर्ण माननीयज्यूहरूलाई यसलाई (निर्मला पन्तको हत्यापछि बलात्कार भएको विषयलाई) अब प्रतिनिधिसभा र राष्ट्रियसभामा यो प्रश्न नउठाइदिनुहुन म हजुरहरूलाई विनम्र अनुरोध आग्रह गर्न चाहन्छु ।’ सांसदलाई दिएको चेतावनीको चौतर्फी आलोचना भएपछि गृहमन्त्री गुरुङले रोष्ट्रमबाटै माफी माग्नुभएको थियो ।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :