तेह्रथुम । पूर्वेली लोक भाकामा आधारित नयाँ गीत “पूर्वको धनकुटा” सार्वजनिक भएको छ । धनकुटा जिल्लाको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, कृषि सम्भावना र स्थानीय पहिचानलाई समेटिएको उक्त गीत गंगा गौतम आचार्य र सन्तोष बीसीको सहकार्यमा तयार भएको हो ।
गीतमा गंगा गौतम आचार्य र सन्तोष बीसीको स्वर रहेको छ भने शब्द रचना गंगा गौतम आचार्य र कृष्ण कुमार रानाले गरेका छन् । गीतमा संगीत सन्तोष बीसीको रहेको छ भने संगीत संयोजन नारायण डंगालले गरेका छन् । गीतको मिक्सिङ तथा मास्टरिङ इन्जिनियरको जिम्मेवारी कुमार सानु पुनले सम्हालेका छन् ।
धनकुटाको मौलिकता, पूर्वेली संस्कृतिको सुगन्ध र स्थानीय भावनालाई केन्द्रमा राखेर तयार गरिएको यस गीतमा धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको कृषि पर्यटन, प्राकृतिक सौन्दर्य तथा नगरपालिकाको परिचय समेत समेटिएको छ । गीतमार्फत महालक्ष्मी नगरपालिकाको कृषि उत्पादन, हरियाली वातावरण, ग्रामीण जीवनशैली तथा पर्यटन सम्भावनालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।
महालक्ष्मी नगरपालिका कृषि, पर्यटन र प्राकृतिक सम्पदाको दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित छ । यहाँको उर्वर भूमि, स्थानीय उत्पादन, पहाडी भू-दृश्य र सांस्कृतिक सम्पदालाई गीतले संगीतको माध्यमबाट चिनाउने प्रयास गरेको छ। ‘पूर्वको धनकुटा’ केवल एउटा गीत मात्र नभई धनकुटाको पहिचान, सम्भावना र गौरवलाई उजागर गर्ने सांगीतिक प्रयासका रूपमा लिइएको छ गीतको म्युजिक भिडियो निर्माणको तयारीसमेत भइरहेको गायिका गंगा गौतम आचार्यले जानकारी दिनुभयो । उहाँले धनकुटाको माया र यहाँको मौलिक पहिचानलाई उजागर गर्ने उद्देश्यले विगत तीन वर्षदेखि निरन्तर हरेक वर्ष धनकुटासँग सम्बन्धित गीत सार्वजनिक गर्दै आएको बताउनु भयो ।
जन्मभूमि र जिल्लाप्रतिको प्रेमलाई संगीतमार्फत अभिव्यक्त गर्दै आएकी गौतमले यसअघि पनि पूर्वेली संस्कृति र नेपाली मौलिकतालाई समेटिएका विभिन्न गीतहरू सार्वजनिक गरि सक्नु भएको छ । ।लोक तथा मौलिक संगीत क्षेत्रमा सक्रिय गंगा गौतम आचार्यका “धनकुटा धरान”, “धनकुटा धरान-२”, “छोरी”, “आमा”, “घामै घमाइलो गाउँ रमाइलो”, “घिन घिन मादल”, “नक्कल पार्ने बानी” लगायतका गीतहरूले श्रोता-दर्शकमाझ पहिचान बनाउनु भएको छ । उहाँका सिर्जनामा जन्मभूमिप्रतिको माया, सामाजिक भावना र नेपाली संस्कृतिको झल्को पाइन्छ ।
त्यस्तै सन्तोष बीसी नेपाली लोक संगीत क्षेत्रमा सक्रिय गायक तथा संगीतकार हुन । गायनसँगै गीत लेखन, संगीत सिर्जना र संयोजनमा समेत योगदान दिँदै आएका बीसीले गंगा गौतम सँग दुइ दिने चोला र धरान धनगढी लगायतका गितहरुमा संयुक्त स्वर दिनु भएको छ । स्थानीय भूगोल, प्रकृति र जनजीवनलाई गीतमार्फत प्रस्तुत गर्ने उनको शैली पछिल्ला सिर्जनासम्म निरन्तर देखिन्छ ।
गंगा गौतम आचार्य र सन्तोष बीसीको सहकार्यमा तयार भएको “पूर्वको धनकुटा” ले धनकुटाको प्राकृतिक सुन्दरता, महालक्ष्मी नगरपालिकाको कृषि पर्यटन, स्थानीय संस्कृति र पूर्वेली पहिचानलाई संगीतमार्फत राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ । गीतले धनकुटाको सम्भावना, गौरव र मौलिकतालाई थप उजागर गर्ने विश्वास गरिएको छ ।






एथरको मेगा उपहार योजना
‘हुलास डे २०२६’ मा सामुदायिक
प्रस्तावित दूरसञ्चार ऐनको अवधारणा पत्र
केयू-सिकागो विश्वविद्यालयको सहकार्यमा अन्तर्राष्ट्रिय अनुवाद
न्यायपालिकाको स्वतन्त्रता संकटमा
रास्वपामा चिसिँदो सम्बन्ध, सल्किँदो आगो