काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनमा देशभरका ७५३ पालिकामध्ये कम्तीमा १०० पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाउने गरी पार्टीले तयारी थालेको बताउनुभएको छ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसलाई पूर्ण समावेशी बनाउँदै सबै समुदायको समान सहभागिता सुनिश्चित गर्ने बताउनुभयो।
उहाँले आगामी निर्वाचनलाई केवल चुनावी प्रतिस्पर्धाका रूपमा मात्र नहेरी निर्वाचित हुने जनप्रतिनिधिलाई प्रभावकारी शासन सञ्चालनका लागि सक्षम बनाउन विशेष प्रशिक्षणको समेत योजना बनाइएको जानकारी दिनुभयो।
मेयर, उपमेयर तथा वडा अध्यक्षका सम्भावित उम्मेदवारलाई निर्वाचनअघि नै आवश्यक ज्ञान र सीप प्रदान गरिने उहाँको भनाइ छ।
‘हामी आगामी दिनमा मेयर, उपमेयर र वडा अध्यक्षका प्रत्यासीहरूलाई प्रशिक्षित र तयार गर्न चाहन्छौँ। नेतृत्वका लागि असल नियत मात्र पर्याप्त हुँदैन। पदमा पुग्ने व्यक्तिलाई ऐन–कानुनका साथै सार्वजनिक नीति, सार्वजनिक वित्त र सीमित स्रोत–साधनको प्रभावकारी परिचालन कसरी गर्ने भन्ने विषयमा आधारभूत ज्ञान र जानकारी हुन आवश्यक छ,’ उहाँले भन्नुभयो।
सभापति थापाले स्थानीय तथा प्रदेश तहमा नेतृत्व लिन इच्छुक र योग्य व्यक्तिहरू पहिचान गरी पार्टीको अभियानमा जोड्न नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नेतृत्वलाई आग्रह गर्नुभयो।
आगामी निर्वाचनका लागि संगठनले सिफारिस गरेका योग्य व्यक्तित्वमध्येबाट सक्षम उम्मेदवार छनोट गरिने उहाँले बताउनुभयो।
कांग्रेसलाई सबै समुदायको समान सहभागिता सुनिश्चित गर्ने पार्टीका रूपमा अघि बढाउने उल्लेख गर्दै सभापति थापाले राजनीतिक प्रतिनिधित्वसँगै जनप्रतिनिधिको क्षमता अभिवृद्धिलाई पनि प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :