काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय भेलामा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुहुने भएको छ।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउवा भेलामा सहभागी हुने जानकारी दिनुभएको हो।
उहाँले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएकोप्रति खुशी व्यक्त गर्दै अदालतको पछिल्लो निर्णयको स्वागत गर्नुभयो। नेता कोइरालाका अनुसार पूर्वसभापति देउवाका तर्फबाट दायर पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतले २०८३ साउन २१ गते पुनरावलोकनका लागि निस्सा प्रदान गरेको हो।
सर्वोच्चको निर्णयपछि हुने न्यायिक निरूपणबाट कांग्रेसले न्याय पाउनेमा आफूहरू विश्वस्त रहेको उहाँले बताउनुभयो। अदालतको पछिल्लो आदेशले राष्ट्रिय भेलाको कार्यदिशामा कुनै परिवर्तन नल्याउने बरु पार्टीका नेता तथा कार्यकर्तामा थप उत्साह पैदा गरेको उहाँको दाबी छ।
पार्टीको आन्तरिक एकता र भावी कार्यदिशा तय गर्न राष्ट्रिय भेला आयोजना गरिएको स्पष्ट पार्दै नेता कोइरालाले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसलाई वैचारिक तथा सांगठनिक रूपमा एकताबद्ध बनाउन भेला महत्वपूर्ण हुने बताउनुभयो।
‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकताबद्ध बनाउन यो भेला कोशेढुंगा साबित हुनेछ। पहिले हामीले १० देखि २० हजारको सहभागिता हुने अनुमान गरेका थियौँ, तर अदालतको यो निर्णयपछि पार्टी पंक्तिमा सकारात्मक सन्देश गएको छ, जसका कारण भेलामा उल्लेख्य सहभागिता हुने देखिएको छ,’ उहाँले भन्नुभयो।
नेता कोइरालाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का अस्वस्थ भएकाले पत्रकार सम्मेलनमा उपस्थित हुन नसकेको र नेता शेखर कोइराला विराटनगरमा आफ्नै काममा व्यस्त रहेकाले सहभागी हुन नसकेको बताउनुभयो। यद्यपि, दुवै नेताको राष्ट्रिय भेला अभियानमा पूर्ण समर्थन र ऐक्यबद्धता रहेको उहाँको दाबी छ।
पूर्वसभापति देउवा साउन २६ गते स्वदेश फर्किने सन्दर्भमा उठेका आशंकाबारे बोल्दै नेता कोइरालाले उहाँमाथि कुनै प्रकारको धरपकड हुने सम्भावना नरहेको बताउनुभयो। यदि राज्यका तर्फबाट त्यस्तो प्रयास भए कांग्रेसले कडा प्रतिवाद गर्ने उहाँको चेतावनी छ।
उहाँले आफू पूर्वसभापति देउवालाई भेट्न हङकङ नगएको समेत स्पष्ट पार्नुभयो।
नेता कोइरालाले कांग्रेसका भ्रातृ संस्था, शुभेच्छुक तथा सम्पूर्ण नेता–कार्यकर्तालाई राष्ट्रिय भेलामा सहभागी हुन आह्वान गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादका सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ जीवन दिने दृढ संकल्प व्यक्त गर्नुभयो।







‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट