काठमाडौं । खुला सीमा तथा प्रविधियुक्त सुरक्षा निगरानीको अभावमा विभिन्न समयमा नेपाल–भारत सीमा हुँदै ५२६ जना रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले उनीहरू विभिन्न समयमा अवैध रूपमा नेपाल प्रवेश गरेको जानकारी दिनुभएको हो।
प्रहरीका अनुसार नेपालमा रहेका ५२६ रोहिङ्ग्यामध्ये १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका छन्। उनीहरू काठमाडौंको कपन, लसुनटार र राममन्दिर तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गरिरहेको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता काफ्लेले खुला सीमा तथा प्रविधियुक्त सुरक्षा निगरानीको पर्याप्त व्यवस्था नहुँदा उस्तै हुलियाका व्यक्तिको पहिचानमा समस्या हुने गरेको बताउनुभयो।
‘खुला सिमाना तथा प्रविधियुक्त सुरक्षा निगरानीको व्यवस्था नहुँदा उस्तै हुलिया भएकाले पहिचानमा समस्या भएको छ,’ उहाँले भन्नुभयो, ‘विदेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश रोक्न विशेष निगरानी बढाइएको छ।’
उहाँले सीमा क्षेत्रमा खटिएका प्रहरीलाई यस्ता व्यक्तिको अवैध प्रवेश रोक्न विशेष निगरानी र आवश्यक सतर्कता अपनाउन निर्देशन दिइएको जानकारी दिनुभयो।
यसैबीच, प्राकृतिक विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि नेपाल प्रहरीलाई उच्च सतर्कताको अवस्थामा राखिएको प्रवक्ता काफ्लेले बताउनुभयो। केन्द्र, काठमाडौं उपत्यका, प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म प्रहरीलाई आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ।
विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि १० हजारभन्दा बढी प्रहरीलाई तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो।
‘केन्द्रस्तरको विपद् प्रतिकार्य तालिम केन्द्र, प्रदेशस्तरका विपद् व्यवस्थापन गुल्म र इलाका प्रहरीस्तरसम्म स्ट्यान्डबाइ राखेका छौँ,’ उहाँले भन्नुभयो।
विपद्का कारण प्रभावित हुने सेवा जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरेर काम भइरहेको पनि उहाँले स्पष्ट पार्नुभयो।







प्राध्यापक अम्वीर पाण्डेको निधन
फिफा अध्यक्षमाथि अर्को दबाब
पाँच हजार म्याचको ऐतिहासिक माइलस्टोन
एसियाडमा करातेबाट पदकको आशा
क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि
ब्रोड पिकका दिवंगत आरोहीको सम्झनामा