काठमाडौं । नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउने सबै प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ।
संघले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना १५ बुँदे माग सम्बोधन नभएसम्म वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने प्रक्रिया रोक्ने घोषणा गरेको हो।
संघका अध्यक्ष डिकबहादुर खत्री (कुमार)ले वर्तमान अवस्थालाई ‘शून्य समय’का रूपमा लिँदै तत्कालका लागि श्रमिक पठाउने काम बन्द गरिएको र माग सम्बोधन भएपछि व्यवसाय नियमित रूपमा सञ्चालनमा ल्याइने बताउनुभयो।
संघले विशेष परिस्थितिमा कारबाहीमा परेका इजाजतपत्रवालाको कारबाही फिर्ता गर्नुपर्ने, वैदेशिक रोजगार ऐन, २०६४ लाई समयानुकूल संशोधन गर्नुपर्ने तथा श्रमिकको वास्तविक लागत र व्यवसायीको वैज्ञानिक सेवा शुल्क निर्धारण गर्नुपर्ने माग गरेको छ।
त्यस्तै, श्रम गन्तव्य मुलुकको विविधीकरण, नयाँ श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता, जापानको ईएसडी कार्यक्रम, दक्षिण कोरियाको ई–सेभेन भिसा तथा युरोपेली श्रम बजारमा पहुँच विस्तार गर्नुपर्ने माग संघको छ।
खुला भएका श्रम गन्तव्य मुलुकसँग प्रभावकारी श्रम सम्झौता गर्नुपर्ने, वैदेशिक रोजगारसम्बन्धी उजुरीका लागि छुट्टै निकाय गठन गर्नुपर्ने तथा उजुरी छिटो र निष्पक्ष रूपमा टुंग्याउने व्यवस्था गर्नुपर्ने संघले जनाएको छ।
यसैगरी, श्रम स्वीकृति तथा मागपत्र प्रमाणीकरणलाई पूर्ण रूपमा स्वचालित प्रणालीमार्फत सञ्चालन गर्नुपर्ने, यूएईको प्रहरी प्रमाणपत्र प्रमाणीकरण, साउदी अरेबियाको एसभीपी तथा बायोमेट्रिक प्रणाली र मलेसियाको भर्ती प्रक्रियामा रहेको एकाधिकार अन्त्य गर्न कूटनीतिक पहल गर्नुपर्ने माग गरिएको छ।
संघले वैदेशिक रोजगार ऐनअनुसार पाँच हजारभन्दा बढी नेपाली रहेका मुलुकमा श्रम सहचारी तथा काउन्सेलरको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ। प्रत्येक पाँच वर्षमा मापदण्डका आधारमा इजाजतपत्र नवीकरण गर्नुपर्ने, व्यवसायीले राखेको नगद धरौटीमा ब्याज उपलब्ध गराउनुपर्ने तथा अनधिकृत लेनदेन र मिटरब्याज नियन्त्रण गरी श्रमिकलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था लागू गर्नुपर्ने संघको माग छ।
नीतिगत जटिलता, अव्यावहारिक व्यवस्था तथा समाधानमुखी सुधारको अभावका कारण व्यवसायी, श्रमिक र राज्य सबै प्रभावित भएको संघको भनाइ छ। वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित, पारदर्शी र दिगो बनाउन सरकारले तत्काल आवश्यक नीतिगत सुधार अघि बढाउनुपर्ने संघले माग गरेको छ।
सरकारले नीतिगत सुधारको प्रक्रिया तत्काल अघि बढाए व्यवसायीहरू कानुनको पूर्ण पालना गर्दै पुनः नियमित रूपमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न प्रतिबद्ध रहेको अध्यक्ष खत्रीले बताउनुभयो।
संघले वैदेशिक रोजगार क्षेत्रले नेपालको अर्थतन्त्र, सामाजिक रूपान्तरण तथा लाखौँ नेपाली परिवारको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ। वैदेशिक रोजगारीबाट ठूलो परिमाणमा रेमिट्यान्स भित्रिनुका साथै विदेशी मुद्रा सञ्चिति वृद्धि र व्यापार घाटा न्यूनीकरणमा समेत सहयोग पुगेको संघको दाबी छ। संघका अनुसार करिब ६५ प्रतिशत नेपाली घरधुरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वैदेशिक रोजगारबाट लाभान्वित भएका छन्।







सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला
सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप
सुनको मूल्य तोलामा चार हजार
‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर
सम्पर्कविहीन पूर्वमेयर किरण सिंह गोरुसिङ्गे
सडकमा सिठी फुकेर मात्र ट्राफिक