काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत् पहुँच विस्तार, सडक निर्माणमा समन्वय तथा विद्युत् वितरण प्रणाली सुधारलगायत विषयमा सरकार र सम्बन्धित निकायलाई पाँचबुँदे निर्देशन दिएको छ।
शुक्रबार बसेको समितिको बैठकका निर्णय सार्वजनिक गर्दै सभापति आशिष गजुरेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सडक विभाग र नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक निर्देशन दिनुभएको हो।
समितिले केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेका कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत दुर्गम क्षेत्रमा विद्युत् पहुँच विस्तारको काम तीव्र बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ।
सडक निर्माण सुरु गर्नुअघि सडक विभाग र नेपाल विद्युत् प्राधिकरणले सम्बन्धित स्थानीय तह तथा निर्माण व्यवसायीसहित संयुक्त रूपमा सर्वेक्षण गर्नुपर्ने समितिको निर्णय छ। सडकको ठेक्का सम्झौता हुनुअघि नै विद्युत्का पोल, तार र ट्रान्सफर्मरलगायत संरचना स्थानान्तरणका लागि स्पष्ट कार्ययोजना, समयसीमा र बजेट निर्धारण गर्न पनि समितिले निर्देशन दिएको छ।
त्यस्तै, सडक निर्माण र विद्युत् संरचना स्थानान्तरणको कामलाई एकीकृत रूपमा अघि बढाउन समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सडकको अन्तिम डिजाइन र विद्युत् संरचनाको स्थान निर्धारणबीच अनिवार्य समन्वय गरी सडक निर्माण सम्पन्न भएपछि पुनः पोल सार्नुपर्ने अवस्था आउन नदिन समितिले सडक विभाग र नेपाल विद्युत् प्राधिकरणलाई सचेत गराएको छ।
सडक निर्माणमा अवरोध पुर्याइरहेका विद्युत्का पोल प्राथमिकताका आधारमा तत्काल स्थानान्तरण गर्न पनि समितिले निर्देशन दिएको छ। विशेषगरी नागढुंगा–मुग्लिङ सडकखण्ड विस्तार सुरु भएको पाँच वर्ष बितिसक्दा पनि १८२ वटा पोल स्थानान्तरण गर्न बाँकी रहेको विषयमा गम्भीर ध्यानाकर्षण जनाउँदै समितिले ती पोल आगामी १५ दिनभित्र स्थानान्तरण गरी जानकारी उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ।
समितिको पाँचौँ निर्णय विद्युत् आपूर्तिमा हुने बारम्बारको अवरोध तथा ‘ट्रिपिङ’ समस्या समाधानसँग सम्बन्धित छ। विद्युत् वितरण प्रणालीलाई भरपर्दो बनाउन आवश्यकताअनुसार ट्रान्सफर्मर थप गर्न, फिडर उपलब्ध गराउन तथा पुराना संरचनाको सुधारमा लगानी बढाउन प्राधिकरणलाई निर्देशन दिइएको छ।
सभापति गजुरेलले वितरण प्रणालीमा सुधार गरी नागरिकलाई नियमित र भरपर्दो विद्युत् उपलब्ध गराउनु सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो।







सुनचाँदीको मूल्य बढ्यो, आज प्रतिताेला
सडक विस्तारमा विद्युत् पोल स्थानान्तरण
पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति मुख्य
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति
पूर्वाधार विकासमा प्रशासनिक ढिलासुस्ती र
ढल्केवर ट्रमा सेन्टर स्थानान्तरण गर्ने