काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चावहिलमा कार्यरत अमिन टोप जङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नापी कार्यालय चावहिलअन्तर्गत २ र ३ नम्बर नापी टोली, गोकर्ण (माकलबारी) मा कार्यरत खत्रीले जग्गा हालसाबिक गरी जग्गाधनी पुर्जा बनाइदिने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस मागेको अख्तियारले जनाएको छ ।
सेवाग्राहीबाट घुस मागेको सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले खत्रीलाई घुस रकम लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा खत्रीले आफ्नो पद तथा ओहदासम्बन्धी कामको सिलसिलामा जग्गा हालसाबिक गरी जग्गाधनी पुर्जा बनाइदिने लगायतका काममा सहजीकरण गरेबापत सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
खत्रीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै अख्तियारले बिगो १ लाख ६० हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना तथा ऐनबमोजिम कैद सजाय मागदाबी गरेको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खत्रीविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।






‘हुलास डे २०२६’ मा सामुदायिक
प्रस्तावित दूरसञ्चार ऐनको अवधारणा पत्र
केयू-सिकागो विश्वविद्यालयको सहकार्यमा अन्तर्राष्ट्रिय अनुवाद
न्यायपालिकाको स्वतन्त्रता संकटमा
रास्वपामा चिसिँदो सम्बन्ध, सल्किँदो आगो
राशिफल २२ साउन, वृष :