काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नियमित माग धान्न सक्ने परिमाणमा एलपी ग्यास आयात तथा वितरण भइरहेको दाबी गर्नुभएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले साउनदेखि पूर्ण सिलिन्डर वितरण सुरु भएपछि ग्यासको माग एक्कासि बढ्दा बजारमा केही असहजता सिर्जना भएको बताउनुभयो।
उहाँका अनुसार बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम गरिरहेको छ। पर्याप्त ग्यास आयात सुनिश्चित गर्न नेपाल आयल निगम र मन्त्रालयले कूटनीतिक पहलसमेत निरन्तरता दिइरहेको उहाँले बताउनुभयो।
कालोबजारी नियन्त्रण तथा कृत्रिम अभाव हुन नदिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमार्फत बजार अनुगमनलाई तीव्र पारिएको मन्त्री कुमारीले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “२०८३ साल साउन महिनादेखि पूरा सिलिन्डर वितरण भएपश्चात् ग्यासको मागमा एकैपटक वृद्धि हुन गई बजारमा केही असहजता सिर्जना भएको देखिन्छ। बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको छ।”
मन्त्री कुमारीका अनुसार हाल देशभर ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। ती उद्योगको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको छ भने दैनिक फिलिङ क्षमता करिब एक करोड ७५ लाख ग्यास सिलिन्डर रहेको छ।
बढ्दो मागलाई सम्बोधन गर्न ग्यास आयात बढाउन परराष्ट्र मन्त्रालयमार्फत भारतसमक्ष पहल गरिएको उहाँले बताउनुभयो। साथै, नेपाल आयल निगम तथा ग्यास उद्योगीसँगको समन्वयमा ग्यासको आयात, भण्डारण तथा वितरणलाई पारदर्शी र अनुमानयोग्य बनाउने सुधारका काम अघि बढाइएको उहाँको भनाइ छ।
ग्यास नपाएको सम्बन्धमा आउने उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्न नेपाल आयल निगमले ‘क्विक रिस्पोन्स टिम’ गठन गरी व्यवस्थापन गरेको पनि मन्त्री कुमारीले जानकारी दिनुभयो।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै