काठमाडौं । नेकपा (एमाले)का सांसद मोहम्मद इस्तियाक राईले वर्तमान सरकार आफूले गरेको प्रतिबद्धताविपरीत अघि बढिरहेको आरोप लगाउनुभएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद राईले सरकारले युवालाई विदेश पठाउने नभई स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए पनि सरकार गठनपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या झनै बढेको दाबी गर्नुभयो।
उहाँले सरकारको सय दिनको अवधिमा वैदेशिक रोजगारीमा जाने युवाको संख्याले विगतका सबै रेकर्ड तोडेको दाबी गर्दै विदेशिएका एक जना युवालाई समेत स्वदेश फर्काएर रोजगारी दिन नसकेको आरोप लगाउनुभयो।
“हामीलाई सरकार चलाउन दिनुस्, युवा विदेशिने होइन, विदेशमा गएका युवालाई यहीँ रोजगारी दिन्छौँ भनियो । अहिले त विदेश पलायन हुने कुराको पहिलेको सबै रेकर्ड ब्रेक भइसकेका छन् । विदेशिनेको संख्या पहिलेको तुलनामा बढेको छ,” उहाँले भन्नुभयो।
सांसद राईले सरकारले सञ्चारमाध्यमलाई तर्साउने प्रयास गरेको तथा नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि समेत प्रहार गरिरहेको आरोप लगाउनुभयो।
उहाँले अस्पताल तथा स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि र खोपको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सर्पदंशको औषधि तथा रेबिजविरुद्धको खोपसमेत अभाव हुने अवस्था देखिएको उहाँको भनाइ छ।
त्यस्तै, विद्युत् महसुलमा समेत कर लगाइएका कारण महँगी बढेको उहाँले दाबी गर्नुभयो। किसानले अझै पनि रासायनिक मलका लागि लाइन बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले सरकारका कामकारबाहीप्रति प्रश्न उठाउनुभयो।
“अस्पताल जाने हो भने सर्पदंशको औषधि, रेबिजविरुद्धको भ्याक्सिनको हाहाकार छ । विद्युत् महसुलमा समेत कर लगाउँदा महँगी एकदमै आकाशिएको अवस्था छ । किसान आज पनि रासायनिक मल लिनका लागि लाइनमा बस्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो।
सरकारको सय दिनको उपलब्धिमाथि प्रश्न उठाउँदै सांसद राईले यस्ता विषय सत्तापक्षकै सांसदहरूले समेत संसद्मा उठाइरहेको उल्लेख गर्नुभयो।







राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या