रौतहट । रौतहटको यमुनामाई गाउँपालिका–५ झुनखुनवाका एक ६ वर्षीय बालक नहरको पानीमा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबारदेखि हराइरहेका सरमुला मियाका ६ वर्षीय छोरा खुसी आलम शुक्रबार बिहान नहरमा मृत फेला परेका हुन्।
प्रहरीका अनुसार खुसी बिहीबार दिउँसो करिब ३ः३० बजे घरबाट करिब एक किलोमिटर पश्चिम सडकछेउको कल्भर्ट क्षेत्रमा साथीहरूसँग खेल्न गएका थिए। उनीसँगै खेल्न गएका अन्य बालबालिका घर फर्किए पनि खुसी घर नफर्किएपछि परिवारले आफन्त तथा छिमेकीको सहयोगमा खोजी गरेका थिए।
बालक फेला नपरेपछि उनका बुबा सरमुला मियाले बिहीबार साँझ करिब ७ः३० बजे अस्थायी प्रहरी पोस्ट बमनहरमा मौखिक जानकारी गराउनुभएको थियो। त्यसपछि प्रहरी सहायक निरीक्षक सञ्जीप सिंहको कमान्डमा प्रहरी टोली परिचालन गरी खोजी सुरु गरिएको थियो।
खोजीका क्रममा शुक्रबार बिहान करिब ९ः५५ बजे यमुनामाई गाउँपालिका–५ स्थित सातबम्बा सडकको कल्भर्टबाट करिब २० फिट दक्षिणतर्फ बगेको नहरको पानीमा बालक घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिनुभयो।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक जीवनकुमार मैनालीको नेतृत्वमा अपराधस्थल अनुसन्धान टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।







मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष
कठिन चुनौतीबीच जनादेशको जिम्मेवारी
नेपाल गुणस्तर परिषद्को बैठक :