हेटौँडा । खाना पकाउने एलपी ग्यासको माग बढेपछि मकवानपुरमा उपभोक्ताले सास्ती खेप्न थालेका छन्। ग्यास बिक्री केन्द्रमा लामो लाइन लाग्न थालेको छ भने कतिपय उपभोक्ताले चार–पाँच दिनसम्म धाउँदा पनि ग्यास नपाएको गुनासो गरेका छन्।
शुक्रबार हेटौँडास्थित एक ग्यास बिक्री केन्द्रमा भेटिएका एक उपभोक्ताले चार दिनदेखि ग्यास लिन धाउँदा पनि नाम टिपाउन नपाएको बताउनुभयो। बिक्री केन्द्रले कहिले दिउँसो १२ बजे त कहिले ३ बजे नाम टिपाउने समय तोक्ने गरेको उहाँको गुनासो छ।
“ग्यास लिनकै लागि चार दिनदेखि धाइरहेको छु, तर अहिलेसम्म नाम टिपाउन पाएको छैन,” उहाँले भन्नुभयो, “ग्यासकै लागि दौडिनुपर्ने अवस्था आयो।”
व्यवसायीका अनुसार पछिल्लो समय सामान्य अवस्थाको तुलनामा ग्यासको माग उल्लेख्य बढेको छ। ओम इन्टरप्राइजेज एन्ड सप्लायर्सका कर्मचारीका अनुसार अहिले दैनिक करिब ३ सयदेखि ४ सय उपभोक्ता ग्यासका लागि आउने गरेका छन्। सामान्य अवस्थामा दैनिक करिब २ सय जना आउने गरेकोमा अहिले संख्या उल्लेख्य बढेको हो।
उक्त कम्पनीले काउन्टरबाट समेत ग्यास बिक्री गर्दै आएको छ। कर्मचारीका अनुसार सोमबारसम्मका लागि ग्यास लिन आउने उपभोक्ताको नाम टिपिसकिएको छ। एकै दिन २ सयभन्दा बढी उपभोक्ता नाम टिपाउन आउने गरेका छन्। मकवानपुरगढी, मनहरी, भोर्लेलगायत जिल्लाका विभिन्न स्थानबाट समेत उपभोक्ता ग्यास लिन हेटौँडा बजारसम्म आउने गरेका छन्।
व्यवसायीहरूले उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास घरमा मौज्दात राख्न थालेपछि बजारमा माग अस्वाभाविक रूपमा बढेको बताएका छन्। कतिपय अवस्थामा एउटै परिवारबाट चार–पाँच जनासम्म ग्यास लिन आउने गरेको उनीहरूको भनाइ छ।
बाबा ग्यासका मकवानपुर वितरक तथा हेटौँडा–८, कमानेस्थित बिलिस्मा सप्लायर्सका सञ्चालक सुदीप केशीका अनुसार पछिल्लो समय बाबा ग्यासको आयात केही कम भएको छ भने बजारमा माग बढेको छ। बाबा ग्यास चितवनमा उत्पादन हुने भएकाले उत्पादन भएको ग्यासमा चितवनलाई प्राथमिकता दिइने गरेको उहाँले बताउनुभयो।
उहाँका अनुसार जिल्लाभर हाल करिब १ हजार २ सय सिलिन्डर ग्यास आएको छ। तर, सामान्य अवस्थाभन्दा बढी ग्यास घरमा मौज्दात राख्ने प्रवृत्तिका कारण बजारमा थप चाप परेको उहाँको भनाइ छ।
केशीले सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाका कारण उपभोक्तामा त्रास बढेको र त्यसकै कारण ग्यास मौज्दात राख्ने क्रम बढेको बताउनुभयो। नियमित अवस्थाभन्दा बढी ग्यास आए पनि माग उच्च रहेकाले वितरणमा चाप परेको उहाँले स्पष्ट पार्नुभयो।
व्यवसायीहरूले उपभोक्तालाई घरमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेका छन्। आवश्यकताभन्दा बढी सिलिन्डर घरमा राख्दा बजारमा अभाव बढ्नुका साथै आगलागीको जोखिमसमेत बढ्न सक्ने उनीहरूको भनाइ छ।
अनावश्यक मौज्दात नराख्न प्रशासनको आग्रह
ग्यासको अभाव र वितरण व्यवस्थापनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुगमन तथा व्यवस्थापनका लागि समिति गठन गरेको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले ग्यासका सिलिन्डर राखेर लामो लाइन नलगाउन तथा सडकमा सिलिन्डर राख्न नदिन निर्देशन दिइएको बताउनुभयो।
उपभोक्तालाई फोनमार्फत सम्पर्क गरी वितरण प्रणाली व्यवस्थित गर्ने तथा गाउँमै आवश्यक ग्यास उपलब्ध गराउने विषयमा समेत पहल भइरहेको उहाँले जानकारी दिनुभयो।
प्रमुख जिल्ला अधिकारी अधिकारीले ग्यासको समस्या धेरै लामो समय नरहने भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास घरमा मौज्दात नराख्न आग्रह गर्नुभएको छ। घरमा दुईवटाभन्दा बढी सिलिन्डर मौज्दात भएका उपभोक्ताले आवश्यक परेका छिमेकीलाई समेत सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ।







इलाममा अदुवाको आकर्षक मूल्य, खेती
कान्ति राजमार्ग स्तरोन्नतिको भौतिक प्रगति
तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार
नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड
गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो